१७-२३ भदौ २०७५ | 2-8 August 2018

‘एकपटक जुम्ला आइदिनुस्’

Share:
  

२९ भदौमा लगानी सम्मेलन आयोजना गर्न लागेको जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल भन्छिन्, “लगानीकर्ताका लागि जुम्लामा प्रशस्तै सम्भावना छन्।”

चन्दननाथमा लगानी सम्मेलन गर्ने सोच कसरी आयो ?

चालू आर्थिक वर्षमा केन्द्र सरकारले हाम्रो नगरपालिकालाई पर्याप्त बजेट दिएन । गाउँगाउँमा सिंहदरबार भनिएको छ, आम अपेक्षा चुलिएका छन् । यस्तो बेला स्थानीय सरकार अनुदानकै भरमा चलाउन सकिंदैन । फेरि त्यो संघीयताको मर्म विपरीत पनि हो । त्यसैले लगानीकर्तालाई चन्दननाथसम्म ल्याउन, यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन लगानी सम्मेलन गर्न लागिएको हो । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्दै समग्र जुम्लाको विकास हाम्रो उद्देश्य हो ।

चन्दननाथ नगरपालिकामा लगानीका कस्ता अवसर छन् ?

कृषि, पर्यटन र जडीबुटीमा समग्र कर्णाली प्रदेशमा धेरै अवसर छन् । उच्च हिमाली भेकमा उत्पादन हुने अन्नबाली, फलफूल र जडीबुटीमा आधारित उद्योगका लागि ठूलो अवसर छ । पर्यटनका क्षेत्रमा अहिलेसम्म प्रदूषण भइनसकेको क्षेत्र हो, यो । मुख्य कुरा लगानीकर्ता पहिले जुम्ला आउनु पर्‍यो । उहाँहरुले हामीभन्दा धेरै बढी अवसर पहिचान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

लगानीकर्तालाई नगरपालिकाले कसरी आकर्षित गर्दैछ ?

हाम्रो क्षेत्राधिकारभित्रका विषयमा लगानीकर्तालाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छौं । त्यसैगरी आफ्नो अधिकारक्षेत्र बाहिरका विषयमा पनि प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा लगानीकर्तालाई सहज वातावरण बनाउने छौं । हामीले लगानी सम्मेलन मार्फत पहिलो चरणमा लगानीकर्ताको चासो जान्न खोजेका छौं ।

भौतिक पूर्वाधारमा कमजोर कर्णालीमा लगानी गर्दा प्रतिफलको सुनिश्चितता कसरी हुन्छ ?

विगतको तुलनामा कर्णालीमा भौतिक पूर्वाधारमा निकै सुधार भएको छ । उत्पादन बजारसम्म पुर्‍याउन अब गाह्रो छैन । त्यसमा कतै अप्ठ्यारो भए सहयोगका लागि नगरपालिका तयार छ ।

सम्मेलन आयोजनाका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य भएको छ ?

केन्द्र र प्रदेश सरकारका साथै लगानी बोर्ड, नगर विकास बोर्डसँगको सहकार्यमै सम्मेलन आयोजना गर्न लागेका हौं । केन्द्र सरकारका अर्थमन्त्री सम्मेलनको प्रमुख अतिथि हुनुहुनेछ । उहाँले केन्द्र सरकारका तर्फबाट लगानीकर्तालाई केही सहुलियतको घोषणा गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

comments powered by Disqus

रमझम