१७-२३ भदौ २०७५ | 2-8 August 2018

कालभैरवमाथिको आस्था

Share:
  

“मेरो शरीरको नाम महेश राणा हो” लेखकले पुस्तकको प्रारम्भमा लेखेका छन्– “मसँगको साक्षात्कारका लागि यहाँ जस्तै म पनि धेरै लालायित थिएँ । केही गुरुले मलाई कठोर साधनाको महासागर पार लगाउन माझी बनी सहायता गरे । केही गुरुबाट असाधारण समय र स्थानमा साधारण मन्त्रहरुबाट दीक्षित हुने पनि अवसर प्राप्त भयो र भइरहेको छ ।”

उपरोक्त वाक्यांशबाट अनुमान लगाउन सकिन्छ, महेशशमशेर राणाको पुस्तक महागुरुः श्री कालभैरवसँग संवार्ता निश्चय नै तन्त्र–साधनासँग सम्बन्धित छ । पुस्तकमा उल्लेख छ “मेरो चेतनाको स्तर जब खुल्दै गयो, तब कालभैरवसँगको निकटता महसूस गर्न थालें ।”

पुस्तक महागुरु श्री कालभैरवसँग संवार्ता

लेखक महेशशमशेर राणा

प्रकाशक पिनाकल पब्लिकेसन प्रालि

पृष्ठ २५६

मूल्य रु.५३०

राणाले यो पुस्तक पूर्णतः आस्थावान् भएर लेखेका छन् । पुस्तकमा कालभैरवको उत्पत्ति, उनको साधनाले प्राप्त हुने शक्ति, उनको साधना विधि र मन्त्रहरुबारे उल्लेख छ । पुस्तकको नाम बमोजिम नै ध्यानका माध्यमबाट जोडिएर कालभैरवसँग लेखकले गरेको संवार्ता पनि पुस्तकमा उल्लेख छ ।

लेखकको बुझाइमा शक्तिको स्रोतहरुसँग साधकहरुलाई एकाकार गराउने वा जोड्ने एक मात्र माध्यम तन्त्र हो । आजको विश्वमा मानिसलाई शान्ति र सफलता प्राप्त गर्नबाट परपीडकले भाँजो हाल्ने हुँदा जीवनलाई तनावरहित बनाई सरल र सफल जीवनयापनका लागि भैरव साधनाको महत्व रहेको लेखकको विश्वास छ ।

निश्चय नै ध्यान, साधना र आस्थापूर्ण पूजा विधिले आत्मिक शक्ति वा आनन्द प्राप्त हुनेमा धेरैको विश्वास रहेको छ । तर, कसैले कुनै अलौकिक शक्तिसँग साक्षात्कार गरें, परम शान्ति अनुभव गरें, मोक्ष नै पाएँ भन्नु प्रमाणित विषय नभएर उसको नितान्त व्यक्तिगत अनुभव हो ।

यद्यपि कसैले साधनाबाट प्राप्त सकारात्मक ऊर्जा अन्य मानिसमा प्रवाह गर्न सक्छ भने निश्चय नै त्यो सराहनीय कुरा हो, त्यसले मानव जातिको हित गर्छ ।

ध्रुवसत्य परियार

comments powered by Disqus

रमझम