२४-३० भदौ २०७५ | 9-15 September 2018

नयाँ घरमा सर्दा

Share:
  

तस्वीर साभारः चेतना अनलाइन
देशका सबैजसो शहरी क्षेत्रमा डेरा गरी बस्नेहरू प्रशस्तै छन् । काठमाडौं उपत्यकामा पनि लाखौं मानिस डेरामा बस्छन् । कहिले बढी सुविधाको खोजीमा त कहिले घरधनीसँग कुरा नमिलेर डेरा सर्नुपर्ने हुन्छ । तर, नयाँ घरमा सर्नु कम्ती तनावपूर्ण हुँदैन । एक ठाउँमा रचे÷सजाएको जिन्दगी टपक्कै उठाएर नयाँ ठाउँमा व्यवस्थित गर्नु आफैंमा गाह्रो काम हो ।

डेरामा बस्ने सबैले सामान सार्दा र मिलाउँदाको झञ्झट भोगेकै हुन्छन् । सामानको परिमाण अनुसार पावर टिलर, पिकअप भ्यानदेखि टाटाका मिनीट्रकमा झिटीगुण्टा हालेर नयाँ घरमा सरिरहँदा राखनधरन कसरी मिलाउने भनेर हामीलाई पिरलो भइसक्छ ।

त्यसो त अचेल नयाँ घर तथा फ्ल्याटमा सामान सारिदिने व्यावसायिक संस्थाहरू खुल्न थालेका पनि छन् । तर, ती पर्याप्त छैनन् । ठूला संस्था, कार्यालयका सामान सारेर मिलाइदिने ‘प्याकर्स एण्ड मुवर्स’ जस्ता संस्था केही दशक पहिलेदेखि भए पनि ती आर्थिक रूपमा आम डेरावासीको पहुँचमा छैनन् । त्यसैले डेरा सर्दा सामान प्याक गर्नेदेखि नयाँ ठाउँमा मिलाउनेसम्मको काम आफैंले गर्ने प्रचलन छ ।

डेरा सार्दा सामान टुटफुट हुनेदेखि नयाँ ठाउँमा व्यवस्थित गर्न लाग्ने समय, श्रम र खर्चले तनाव पैदा गर्छ । त्यसैले केही सामान्य कुरामा ध्यान दिने हो भने यो डेरासराइ सहज हुनसक्छ ।

सर्नुअघि

नयाँ घर/फ्ल्याटमा सर्ने निश्चित गर्नुअघि आफूलाई चाहिने सम्पूर्ण सुविधा छ÷छैन भन्ने सुनिश्चित गर्नुपर्छ । राति अबेरसम्म बाहिरै रहनुपर्नेलाई घर फर्कंदा सहज हुन्छ÷हुँदैन, घरमा बालबालिका छन् भने नयाँ ठाउँबाट उनीहरूको विद्यालय कति टाढा पर्छ वा स्कूलबस नयाँ घर नजिकै आइपुग्छ कि पुग्दैन जस्ता कुरामा ध्यान दिनुपर्छ । पानीको उपलब्धता कति सहज छ वा आपूर्ति कसरी हुन्छ भन्ने जान्नु पनि जरुरी हुन्छ ।

कतिपय घरधनीलाई डेरामा बस्नेकहाँ पाहुना आए समस्या हुने भएकाले यस्तो विषयमा पहिले नै स्पष्ट हुनु राम्रो । यस्तै, घरधनीसँग पानी र बिजुलीको बिल भुक्तान जस्ता स–साना कुराले पछि दुःख दिने हुँदा पहिले नै तय गर्नुपर्छ । चाडपर्व वा लामो विदामा बाहिर जानेहरूले त्यस्तो बेला सुरक्षाको व्यवस्थाबारे पनि ध्यान दिनुपर्छ ।

यस्ता कुरा सुनिश्चित भइसकेपछि सर्ने घर/कोठामा नयाँ रङ लगाउने, मर्मत गर्ने काम घरधनीसँगको सल्लाहमा पहिले नै गर्नुपर्छ । इन्टरनेट, टेलिभिजन कनेक्सन चाहिने भए त्यो पनि सर्नुअघि नै जडान गरिसक्नु राम्रो हुन्छ । त्यसपछि घर सफा गरेर कार्पेट ओछ्याउने वा फ्लोरिङको काम सम्पन्न गरेपछि मात्र सामान सार्न थाल्नुपर्छ । पुरानो घर÷डेरामा रहेका सबै सामान नयाँ ठाउँमा लैजान आवश्यक नहुन सक्छ । त्यसैले अनावश्यक सामान बिक्री वा आवश्यक परेका कसैलाई दिनु उपयुक्त हुन्छ । घर सर्ने दिन बालबालिकालाई कहाँ राख्ने भन्ने पहिले नै निर्धारण गर्नुपर्छ । सर्ने दिन परिवारका वयस्क व्यक्तिहरु व्यस्त हुने भएकोले उनीहरूलाई आफन्तकहाँ वा कसैको रेखदेखमा राख्नुपर्छ ।

प्याकिङ

सामान प्याकिङ गर्दा साँचोको एक सेट, कैंची, सेलोटेप, डोरी र प्राथमिक उपचारका सामानसहितको एउटा किट तयार पार्नुपर्छ । यसले सामान प्याकिङ गर्दा र सम्भावित चोटपटक लाग्दा दशतिर खोजिरहनु पर्दैन ।
त्यस्तै, कोठाका सामानहरूको वर्ग अनुसार भाँडाकुँडा, कपडा, किताब आदि बेग्लाबेग्लै प्याक गरेर बाहिर लेवल लेख्दा नयाँ घरमा सामान खोज्न र मिलाउन सजिलो हुन्छ । टुटफुट हुने सामानलाई विशेष ध्यान दिएर प्याक गर्नुपर्छ ।

सरिसकेपछि

नयाँ घरमा सरेपछि प्याक गरेर ल्याएका सामानका पोकालाई पहिले सम्बन्धित कोठामा राख्नुपर्छ । एकैपटक सबै सामान मिलाउँदा थाकिने भएकोले सबैभन्दा जरुरी कोठाबाट शुरु गर्नुपर्छ । अत्यावश्यक सामानहरू निकाल्दै सबैभन्दा पहिले भान्सा, त्यसपछि बेडरुम गर्दै क्रमशः कोठा व्यवस्थित गर्नु उपयुक्त हुन्छ ।

घर व्यवस्थित भइसकेपछि छरछिमेकसँग सम्बन्ध बढाउँदा आवश्यक परेका बेला सहयोग पाइन्छ ।

comments powered by Disqus

रमझम