३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

छात्रवृत्तिमाथि शुल्कको ठगी

Share:
  
- रामु सापकोटा
मेडिकल कलेजहरूले छात्रवृत्तिामा अध्ययनरत विद्यार्थीलाई परिबन्दमा पारेर अतिरित्त रकम असुल्ने धन्दा चलाइरहेका छन्।

२४ भदौ बिहान १०:३० बजे एक हूल विद्यार्थी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजभित्र छिरे । शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप गर्नुअघि अतिरिक्त रकम तिर्न बाध्य पारिएपछि उनीहरू कलेज व्यवस्थापनसँग गुनासो गर्न गएका थिए ।

छलफलका लागि बोलाएका कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ नै नआएपछि विद्यार्थीले कलेजका अन्य पदाधिकारीलाई आफ्ना समस्या सुनाए । तर, जटिल पढाइको बोझ्माथि अतिरिक्त शुल्कको थप भारका कारण हत्तु भएका विद्यार्थीको समस्या अझै उस्तै छ ।

इन्टर्नसिपमा ब्ल्याकमेलिङ

छात्रवृत्तिमा निःशुल्क पढिरहँदा इन्टर्नसिपको मुखैमा अतिरिक्त रकम तिर्न परिबन्दमा पारिएपछि कान्तिपुर डेन्टल कलेजका विद्यार्थी यतिबेला मानसिक तनावमा छन् । कलेजले साढे चार वर्षको कोर्स पूरा गरेका चार विद्यार्थीसँग इन्टर्नसिप अघि एकमुष्ट जनही रु.१ लाख ९७ हजार मागेको छ (हे.पत्र) । तर, रकम नदिने अडान राख्दै आएका उनीहरूलाई कलेजले इन्टर्नसिप गर्नबाट रोकेको छ । समयमा इन्टर्नसिप गर्न नपाउँदा विद्यार्थीले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा सहभागी हुने समय धकेलिंदै गएको छ । एक वर्षको इन्टर्नसिप सकेपछि मात्र विद्यार्थीले लाइसेन्स परीक्षा दिन पाउँछन् ।

शिक्षा मन्त्रालयको ८ पुस २०७० को निर्णय अनुसार ‘निःशुल्क अध्ययन गर्ने विद्यार्थीबाट कलेजले भर्ना, शिक्षण, प्रयोगशाला, पुस्तकालय जस्ता कुनै पनि शुल्क नलिने’ भनिएको छ । तर, उक्त कलेजले नियम विपरीत विभिन्न बहानामा विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले आफू मातहतका मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा शुल्क रु.७ हजार तिरे पुग्ने नियम बनाएको छ । तर, केयूबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजले तेस्रो र चौथो वर्षमा डेन्टल पढिरहेका विद्यार्थीबाट वार्षिक परीक्षा शुल्क भन्दै क्रमशः रु.२ लाख १७ हजार र रु.२ लाख ५० हजार मागेको छ ।

त्यसो त कलेजका एकाउन्टेन्ट पुरुषोत्तम अधिकारीले भर्ना हुने बेलामै परीक्षा शुल्क वापत रु.१ लाख बुझउन दबाब दिएका थिए । तर, अहिले कलेज सञ्चालकले सो रकम बढाएर रु.२ लाख भन्दा बढी पुर्‍याएका छन् । विद्यार्थीहरू कलेजका सञ्चालक तथा कर्मचारीले आफूहरूलाई मानसिक दबाबमा पारेर रकम असुल्ने गरेको बताउँछन् । अध्ययन सकेर इन्टर्नसिप पर्खिरहेका एक विद्यार्थी भन्छन्, “इन्टर्नसिप गर्दा विद्यार्थीलाई कलेजले उल्टै मासिक रकम दिनुपर्ने व्यवस्था छ । तर, कलेजका एकाउन्टेन्टले इन्टर्नसिप गर्नुअघि हामीसँग पैसा मागेका छन् । इन्टर्नसिप गर्दा दिनुपर्ने मासिक रु.११ हजार पनि नदिने भनेर पहिल्यै भनिसकेका छन् ।” केयूको प्रावधान अनुसार बीडीएस तथा एमबीबीएस कोर्स पूरा गरेका विद्यार्थीलाई इन्टर्नसिप गराउँदा कलेजले मासिक रकम दिनुपर्छ ।

कलेजका एकाउन्टेन्ट अधिकारी इन्टर्नसिप गराउँदा विद्यार्थीबाट एकमुष्ट रु.७० हजारदेखि रु.८० हजार लिने गरेको बताउँछन् । अधिकारी भन्छन्, “इन्टर्नसिप बापतको रकम हामीले मात्र होइन, सबै कलेजले लिन्छन् ।” उनी इन्टर्नसिप गर्ने विद्यार्थीलाई मासिक रकम दिने गरेको दाबी गर्छन् ।

चिकित्सा शिक्षाका अभियन्ता डा. जीवन क्षेत्री छात्रवृत्तिमा पढिरहेका विद्यार्थीबाट अधिकांश मेडिकल कलेजमा अवैध रूपमा रकम असुल्ने काम भइरहेको बताउँछन् । क्षेत्री भन्छन्, “विद्यार्थीमाथि यो सरासर ठगी हो । यसरी शुल्क उठाउने कलेजलाई शिक्षा मन्त्रालयले कारबाही गर्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुख हरि लम्साल कलेजले मन्त्रालयले तोकेको बाहेक अनावश्यक शुल्क लिन नपाउने बताउँछन् । उनी भन्छन्, “हामीकहाँ उजुरी आएको छैन । कलेजले बढी रकम असुलेको हो भने कारबाही गर्छौंै ।”

विद्यार्थीले एकमुष्ट रकम नतिरेको भन्दै कान्तिपुर डेन्टल कलेजले प्रमाणित नगरेको इन्टर्नसिप फारम (बायाँ) र विद्यार्थीसँग इन्टर्नसिप अघि एकमुष्ट रु.१ लाख ९७ हजार मागेको पत्र ।
अतिरिक्त रकम मागेको बारे हिमाल ले सोध्दा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीहरू आफूहरूको टाउको दुखाइको विषय बनेको टिप्पणी गर्छन् । विद्यार्थीले कलेजले तोकेको शुल्क तिर्न नमान्ने र विभिन्न निकायमा गएर उजुरी गर्ने प्रवृत्तिले हैरान भएको उनको भनाइ छ ।

डा. श्रेष्ठले छात्रवृत्तिका विद्यार्थीबाट वर्षमा दुई पटकसम्म हुने आन्तरिक जाँच, वार्षिक जाँच, कलेजको सम्बन्धन शुल्क, विद्यार्थीलाई सामुदायिक कार्यक्रममा सहभागी गराउँदाको शुल्क लिने गरेको स्वीकारे । श्रेष्ठ विद्यार्थीबाट आन्तरिक परीक्षा वापत रु.११ हजारदेखि रु.१२ हजारसम्म र केयूले तोके अनुसार वार्षिक परीक्षा वापत रु.९ हजार लिएको बताउँछन् । उनी भन्छन्, “विद्यार्थीसँग इन्टर्नसिप अघि रकम मागेको होइन, साढे चार वर्षको एकमुष्ट शुल्क जम्मा भएको हो ।” उनी नेपाल मेडिकल काउन्सिलले विद्यार्थीको प्रोभिजनल रजिष्ट्रेसन नगरिदिएका विद्यार्थीले मात्रै इन्टर्नसिप शुरू गर्न नपाएको बताउँछन् । कलेजका अध्यक्ष डा. श्रेष्ठले यस्तो दाबी गरे पनि कलेजले इन्टर्नसिप गराउनुअघि विद्यार्थीलाई भराउने आवेदन फारममा एकमुष्ट रकम तिरेको भनी एकाउन्टेन्टले प्रमाणित नगरेको पाइएको छ (हे.फारम) ।

प्रमाणपत्र निकाल्न डेढ लाख !

कान्तिपुर डेन्टल कलेजले विद्यार्थीलाई परिबन्दमा पारेर रकम असुल्ने धन्दा नयाँ होइन । सन् २०१० मा उक्त कलेजमा छात्रवृत्तिमा अध्ययन गरेका एक विद्यार्थीले सन् २०१६ मा अध्ययन पूरा गरे । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्तिमा पढेका कारण उनीसँग कलेजले हरेक परीक्षा अगाडि एकमुष्ट रकम रु.१ लाख ५० हजार नबुझए परीक्षा दिनै नपाउने अडान राख्यो । पछि रकम बुझउने आश्वासन दिएर उनी परीक्षामा सहभागी भए । कलेजले अनावश्यक रकम मागेको भन्दै उनले पटक–पटक शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा निवेदन दिए, तर वास्ता भएन । जसोतसो पढाइ पूरा गरेका उनले कलेजबाट प्रमाणपत्र लिने बेला आयो । कलेजले रु.१ लाख ५० हजार नदिए प्रमाणपत्र नदिने भनेर अड्को थाप्यो ।

सन् २०१६ मा उनी सहित कलेजबाट छात्रवृत्तिमा पढेका १० जना पास आउट भएका थिए । प्रमाणपत्रमा भविष्य जोडिएकाले उनले ऋण खोजेर भए पनि कलेजलाई रु.१ लाख ५० हजार बुझए । अहिले उपत्यका बाहिरको एक अस्पतालमा चिकित्सा अभ्यास गरिरहेका उनी भन्छन्, “त्यतिबेला कलेजले रकम माग्दा हामीले शिक्षा मन्त्रालयमा हारगुहार गर्यौं, तर केही भएन ।”

अहिले बीडीएस पहिलो वर्ष पढिरहेका विद्यार्थीबाट पनि कलेजले वार्षिक परीक्षा शुल्क भन्दै एकमुष्ट रु.३ लाख ५० हजार मागेको छ ।

परीक्षाका नाममा अतिरिक्त रकम

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स (युसिएमएस) मा पनि कान्तिपुर डेन्टल कलेजको जस्तै समस्या छ । सन् २०१२ मा छात्रवृत्तिमा पढ्न भर्ना भएका विद्यार्थीबाट कलेजले प्रति विद्यार्थी रु.५३ हजार अतिरिक्त रकम असुल्यो । उक्त ब्याचको अध्ययन सकेर अहिले एक जिल्ला अस्पतालमा खटिएका एक विद्यार्थी भन्छन्, “अरू साथीहरूसँग त कलेजले ५३ हजार नै असुल्यो । मैले २० हजार बुझएपछि बल्ल परीक्षा फारम भर्न दिइयो ।” उनी आफूभन्दा पछिल्लो ब्याचका विद्यार्थीबाट कलेजले रु.१ लाखभन्दा बढी असुलिरहेको बताउँछन् ।

अहिले युनिभर्सलमा छात्रवृत्तिमा अध्ययनरत १४ विद्यार्थीबाट आन्तरिक र वार्षिक जाँच वापत वर्षेनि रु.२५ हजार असुल्ने गरिएको छ । यसबाहेक भर्ना हुने समयमा कलेजले दर्ता र परीक्षा वापत भन्दै प्रति विद्यार्थी रु.२५ हजार असुलेको थियो । एक विद्यार्थी भन्छन्, “कलेजले नियममै नभएको शीर्षकमा अतिरिक्त शुल्क असुलेर लुटिरहेको छ । रकम नतिरे परीक्षामा बस्न नपाइने भएकोले हामी अतिरिक्त रकम तिर्न बाध्य छौं ।”


‘कलेजले मानसिक यातना दियो’

सन् २०१३ मा कान्तिपुर डेन्टल कलेज मार्फत पढाइ शुरु भयो । तर, भर्ना हुने बेलामै हाम्रो ब्याचका विद्यार्थीलाई विभिन्न बहानामा रु.१ लाख बढी रकम तिर्नुपर्छ भनिएपछि तनाव भयो । हामीले पछि तिर्छौं भन्दै टार्यौं । तर, पहिलो वर्षको परीक्षा आएपछि कलेजले हामीलाई रकम नतिरेसम्म फारम भर्न नदिने भनियो ।

सोर्सफोर्स लगाएर रु.२० हजार तिरेर बाँकी पछि तिर्ने सहमतिमा परीक्षा फारम भर्यौं । हामीले यही विषयलाई लिएर विद्यार्थी संगठन गुहारेपछि बल्ल कलेजले फारम भर्न दिन्थ्यो । परीक्षा फारम भर्ने आशामा बाँकी रकम पछि बुझाउने भनेर कागजमा हस्ताक्षर गर्न हामी बाध्य भयौं ।

अहिले साढे चार वर्षको कोर्स सकिएर इन्टर्नसिप गर्ने बेलामा कलेजले रु.१ लाख ९७ हजार नतिरेसम्म इन्टर्नसिप गर्न नदिने भनेको छ । यसपछि हामीले शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा निवेदन दियौं । तर, शाखाका पदाधिकारीहरूले कान्तिपुर कलेजबाट पहिले पनि यस्ता धेरै गुनासो आएको भन्दै केही गर्न नसक्ने बताए । हामी शिक्षा मन्त्रीलाई भेट्न गयौं ।

मन्त्रीको सचिवालयमा निवेदन लेखेर दिए पनि मन्त्रीका पीए पुरन केसीले बेवास्ता गरे । बरु उनले कलेज सञ्चालक बुद्धिमान श्रेष्ठलाई फोन गरेर हामी निवेदन सहित मन्त्रालय आएको जानकारी दिए । उनले कलेजसँग छलफल गरेर कुरा मिलाउन भने । भोलिपल्ट पनि हामी सचिवालय पुग्दा पीए केसीले फेरि बुद्धिमानलाई फोन गरे । उनले बुद्धिमानसँग भेटेर कुरा गर्न भने अनुसार कलेज गयौं, तर उनी भेटिएनन् ।

कलेजले हामीलाई शुरुदेखि नै मानसिक यातना दियो । छात्रवृत्तिमा पढिरहेका हामी जस्ता विद्यार्थीलाई जब परीक्षा आउँछ, तब शुल्कको मागले तनाव शुरु हुन्छ । यो समस्या शिक्षा मन्त्रालयको लापरबाहीका कारण निम्तिएको हो । मन्त्रालयले विद्यार्थीको गुनासो सुनेर समस्या समाधान गर्ने भन्दा पनि कलेज सञ्चालकसँगको मिलेमतोमा काम गरिरहेको छ ।

कान्तिपुर डेन्टल कलेजमा अध्ययनरत विद्यार्थीसँग गरिएको कुराकानीमा आधारित । कलेजको त्रासका कारण कसैले पनि नाम खुलाउन चाहेनन् ।

comments powered by Disqus

रमझम