३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

घर सजावटमा बत्ती

Share:
  

कोठाको सुन्दरताका लागि प्रकाशको प्रमुख भूमिका हुन्छ । प्रकाशको राम्रो व्यवस्थाले नै कोठाको सुन्दरतामा निखार ल्याउँछ । कोठा उज्यालो पार्न भित्ताको एउटा कुनामा ट्यूबलाइट वा सीएफएल राख्ने परम्परागत चलनभन्दा अचेल धेरैले उचित प्रकाश व्यवस्थामा ध्यान दिन थालेका छन् ।

कोठालाई झलमल्ल पार्ने नाममा अत्यधिक प्रकाश हुँदा विद्युत् खपत बढी हुने, प्रकाश प्रदूषण हुने र कोठा पनि फुंग उडेको देखिने सम्भावना हुन्छ भने कम प्रकाश हुँदा लेखपढ वा अन्य कामका लागि असहज हुन्छ । साथै, बढी वा कम प्रकाशले आँखालाई पनि असर गर्छ । त्यसैले कोठामा प्रकाश आनन्ददायी र सुविधाजनक हुनु आवश्यक छ ।

विज्ञहरुका अनुसार कोठामा प्रतिवर्ग फुट बराबर एक वाटको बत्ती प्रयोग गर्नु उपयुक्त मानिन्छ । त्यसैले कोठाको क्षेत्रफल अनुसार बत्तीको छनोट गर्नु उत्तम हुन्छ ।

पछिल्लो समय बिजुली कम खपत हुने र उज्यालो धेरै दिने एलईडी बत्तीको प्रयोग बढिरहेको काठमाडौं भोटेबहालका बिजुली व्यवसायी राज नेपाल बताउँछन् । अचेल शहरका घरहरुमा फेन्सी लाइटको प्रयोग पनि बढ्न थालेको छ । सिलिङ लाइट, मिरर लाइट, पिक्चर लाइट, वाल लाइट, फुट लाइट, गार्डेन लाइट, टेबुल ल्याम्प, ह्यांगिङ, सान्डेलियर लाइट ग्राहकको रोजाइमा परेको बिजुली व्यवसायीहरु बताउँछन् । नयाँ–नयाँ डिजाइन र मोडलमा उपलब्ध यस्ता बत्तीले कोठाको सुन्दरता बढाउने व्यवसायी नेपालको भनाइ छ ।

घर निर्माण गर्दा नै कुन कोठामा कति संख्यामा कस्तो बत्ती प्रयोग गर्ने भन्ने बारे इलेक्ट्रिकल इञ्जिनियर वा सम्बन्धित विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ । सामान्यतया एउटा कोठामा तीन वटासम्म बत्ती जडान गरिनुलाई वैज्ञानिक र आकर्षक मानिन्छ ।

कोठा अनुसार बत्ती

सजावटका हिसाबले बैठक कोठामा बत्तीको विशेष महत्व हुन्छ । तर, आवश्यकताभन्दा बढी उज्यालो वा धेरै बत्तीको प्रयोग भने राम्रो मानिंदैन । कोठामा बत्तीको व्यवस्थापन गर्दा सबैभन्दा महत्वपूर्ण वस्तुलाई केन्द्रित गर्नुपर्छ । बैठक कोठामा सजाएर राखिएको महत्वपूर्ण सामान, पेन्टिङ वा एन्टिक जस्ता वस्तुमाथि प्रकाश केन्द्रित गर्दा कोठा खुलेको देखिन्छ । बैठक कोठामा धेरैजसो झुमर वा सिलिङ लाइटकोे प्रयोग गरिन्छ । पढ्ने कोठामा सिलिङ लाइटका साथै टेबल ल्याम्पको प्रयोग उपयुक्त हुन्छ । लेखपढ गर्न टेबल ल्याम्पको प्रयोग गर्दा एकाग्रता बढ्छ र सुविधा पनि हुन्छ ।

भान्सा कोठामा तीन तहको बत्तीको व्यवस्था उपयुक्त मानिन्छ । अचेल भान्सा कोठा खाना पकाउन मात्रै नभएर खाने बेला होस् वा चिया पिउँदै अखबार पढ्न, परिवारका सदस्य जम्मा हुने ठाउँ भएको छ । त्यसैले सबैका लागि उज्यालो बनाउन सिलिङ लाइट, डाइनिङ टेबल वा खाना पकाउने ठाउँका लागि पेण्डेन लाइट र क्याबिनेटभित्र डाउन लाइटको प्रयोग उपयुक्त हुन्छ । प्रत्येक बत्तीमा डिमर स्वीच राख्दा आवश्यकता अनुसार चहकिलो वा मधुरो बनाउन सकिन्छ ।

बेडरुममा बेडको दुईतर्फ डिमर सहितको शेड ल्याम्प राख्दा कोठा आकर्षक देखिन्छ । कोठा ठूलो छ भने वार्डरोब वा अन्य कुनामा अप्रत्यक्ष बत्ती राखेर कोठामा सुन्दरता थप्न सकिन्छ । बेडरुममा रुचि अनुसार मधुरो तर रंगीन बत्तीहरु पनि प्रयोग गर्न सकिन्छ ।

कोठा बाहेकका ठाउँमा पनि बत्ती राख्दा विचार पुर्‍याउनुपर्छ । भर्‍याङ, चोटा, बार्दली जस्ता ठाउँमा सिलिङ लाइट नै उपयुक्त हुन्छ ।

comments powered by Disqus

रमझम