७-१३ असोज २०७५ | 23-29 September 2018

घरमा नयाँ फर्निचर

Share:
  

नयाँ घर बनाएपछि वा अरु कुनै अवसरमा घरलाई नयाँ फर्निचरले सजाउने सबैको चाहना हुन्छ । अचेल घर होस् वा डेरा, आधुनिक फर्निचर आवश्यकता भइसकेको छ । तर, बजारमा नयाँ डिजाइन आयो भन्दैमा वा कोही आफन्तकहाँ देखेर मन पर्दैमा किनिहाल्दा भने पछुतो हुनसक्छ ।

फर्निचर किन्नुअघि आफूले कोठामा कस्तो सजावट गर्ने हो, त्यसको रूपरेखा तयार पार्नुपर्छ । आफ्नो आवश्यकता, कोठामा उपलब्ध स्थान र बजेटलाई ध्यानमा राखेर मात्रै फर्निचर किन्नतिर लाग्नुपर्छ । हतारमा बजारबाट सामान किनेर ल्याउँदा धोका हुन पनि सक्छ । झट्ट हेर्दा आकर्षक देखेर ल्याउँदा कमसल पर्ने सम्भावना हुन्छ । यस्तै, छिमेकीको कोठामा राम्रो देखिएको फर्निचर आफ्नो कोठाको इन्टिरियर अनुरूप नहुँदा असुहाउँदो देखिन सक्छ । शोरुममा सजाइएको फर्निचर पनि तपाईंको घरमा ल्याउँदा उपयुक्त नहुन सक्छ ।

त्यसैले फर्निचर राख्ने कोठाको नाप, त्यस कोठामा राखिने अरु सामान, खाली स्थान आदिबारे विचार गरेर फर्निचरको योजना बनाउनुपर्छ ।

लेखपढका सोखिनहरूले आफ्नो कोठामा लाइब्रेरी शेल्फ राख्ने गर्छन् । तर, यस्तो शेल्फ कुन कोठामा राख्दा आरामपूर्वक पढ्न पाइन्छ भन्ने निक्र्योल गर्नुपर्छ । उक्त कोठाको कुन भागमा शेल्फ राख्दा सुहाउँदो देखिन्छ भन्ने पनि सुनिश्चित गर्नुपर्छ । पढ्नका लागि लामो समय बस्दा पनि समस्या नहुने सजिलो कुर्सी किन्नुपर्छ ।

पढ्ने कोठामा अन्य धेरै फर्निचरको आवश्यकता पर्दैन भन्ने पनि बुझिराख्नुपर्छ । लिभिङ रुमका लागि सोफा होस् वा भान्सामा डाइनिङ टेबुल, हरेक फर्निचर किन्दा आफ्नो आवश्यकता र स्थानलाई ध्यान दिनुपर्छ ।

सामान्यतया पूरै घर सजाउन थोकमा फर्निचर किन्ने चलन देखिन्छ । तर, त्यसो गर्दा पनि गल्ती हुनसक्छ । शुरुमा त आफूलाई आवश्यक फर्निचरको सूची तयार पारेर बजेट अनुसार नै फर्निचर खरीद गर्नुपर्छ । घर सुहाउँदो र खल्तीमा पनि धेरै दबाब नहुने गरी फर्निचर छनोट गर्नु बुद्धिमानी हुन्छ । सबै घरको आफ्नै विशेषता हुन्छ, फर्निचर पनि त्यसै अनुसारको हुनुपर्छ ।

फर्निचर किन्दा टिकाउ त हेर्नुपर्छ नै, रङ र डिजाइन पनि महत्वपूर्ण हुन्छ । घरलाई कुन थिममा सजाउने हो, फर्निचर पनि त्यस्तै रङ र डिजाइनको किन्नुपर्छ । यस्तो थिम पूरै घरमा एउटै बनाउनु भन्दा पनि कोठा अनुसार फरक–फरक बनाउँदा राम्रो देखिन्छ ।

गोल तथा घुमेका डिजाइनका फर्निचर महँगा हुनुका साथै तिनको स्याहारमा पनि विशेष ध्यान दिनुपर्ने भएकाले सीधा कट र डिजाइनका फर्निचर किन्नु उपयुक्त हुन्छ । यस्ता फर्निचर सदाबहार पनि हुन्छन् । फर्निचर घरका पर्दा वा टेबुलपोश जस्तो चाँडै परिवर्तन नगरिने भएकोले पछिसम्म पुरानो नहुने खालको डिजाइन रोज्नुपर्छ ।

अचेल धेरै गह्रुँगा र बुट्टा कुँदिएका फर्निचर प्रचलनमा छैनन् । तर, हल्का भन्दैमा अल्यूमिनमका फर्निचर पनि चल्तीमा छैनन् । एक दशकअघिसम्म नेपालका शहरबजारमा प्रचलित रट आइरनका फर्निचर पनि अब आउटडेटेड भइसकेका छन् । केही गह्रुँगो भए पनि काठकै फर्निचर आकर्षक र टिकाउ पनि हुन्छन् । यस्तै, काठ र फलामको सम्मिश्रणबाट बनेका फर्निचर बलियो हुन्छन् । काठको फर्निचर किन्दा कुन प्रकारको काठ हो भन्नेमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । साल, सिसौ, अर्जुन, नीम आदि काठका फर्निचर बलिया र राम्रा हुन्छन् ।

अचेल टिकउड रंगका फर्निचर चल्तीमा छन् । यस्तो फर्निचर सदाबहार पनि हुन्छन् । प्राकृतिक टिकउडको रङ मन नपराउनेका लागि त्यसलाई अलिक गाढा बनाउने विकल्प पनि हुन्छ ।

comments powered by Disqus

रमझम