१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

‘चितवनमा बाघको संख्या घट्नुको कारण खोज्दैछौं’

Share:
  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “सबैतिर बाघको संख्या बढ्दा चितवनमा उल्टै घट्नु अचम्मलाग्दो छ ।”

देशभर बाघको संख्या बढ्दा चितवनमा घट्नुको कारण के होला ?

अन्यत्र बाघको संख्या बढ्दा चितवन राष्ट्रिय निकुञ्जमा घटेपछि हामी पनि अचम्भित छौं । किन त्यस्तो भयो भनेर विभिन्न कोणबाट अनुसन्धान शुरु गरिएको छ । अनुसन्धानपछि निश्चित कारण भन्न सकिएला ।

केही अनुमान त होला नि ?

यसका तीनवटा कारण हुन सक्छन् । पहिलो, चितवन राष्ट्रिय निकुञ्जले कति संख्यामा बाघ धान्न सक्छ भन्ने हो । यसको वहन क्षमतामा आधारित रहेर अनुसन्धान गर्दैछौं । दोस्रो, गत वर्षको बाढीले बाघको वासस्थानमा पुर्‍याएको क्षतिका कारण संख्या घटेको हुनसक्छ । त्यसबेला भारतको वाल्मीकि निकुञ्ज पुगेका बाघ नफर्केका हुन सक्छन् । तेस्रो, बाघको आहार पर्याप्त मात्रामा नहुँदा पनि संख्या घटेको हुनसक्छ ।

ठ्याक्कै कति संख्या घटेको हो ?

सन २०१४ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ थिए । यसपालिको गणनामा ९३ वटा मात्र देखिए । तर, देशभरको आंकडा अनुसार बाघको संख्या ३६ ले बढेको छ ।

बाघ बढेको चाहिं कहाँ कहाँ हो ?

सन् २०१४ मा नेपालभर १९८ बाघ थिए भने यस वर्षको गणनामा त्यो संख्या २३५ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ ।

अरु ठाउँमा बढ्नुको कारण के हुन सक्छ ?

उचित र पर्याप्त वासस्थानका साथै पर्याप्त मात्रामा आहारको उपलब्धताले गर्दा ती स्थानमा बाघको संख्या बढेको हुनुपर्छ ।

comments powered by Disqus

रमझम