१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

सबैको आवश्यकता दराज

Share:
  

प्रत्येक घरका कोठामा अहिले दराज नभइनहुने वस्तु बनेको छ । शहरी परिवेशमा दराज सामान राख्ने मात्र नभई सजावटको वस्तु समेत भइसकेकाले यसको महत्व बढ्दो छ । त्यसैले आफ्नो आवश्यकता, आर्थिक क्षमता, राख्ने कोठाको साइज आदि कुरा विचार गरेर मात्रै दराज खरिद गर्नुपर्छ ।

वजन कम र मूल्य सस्तो हुनुका साथै राम्रो देखिने हुँदा काठ वा स्टिलका दराजभन्दा प्लाइउडका दराजको चलन बढेको व्यवसायीहरू बताउँछन् । दराज बनाउन टिक र प्लाइउडसँगै त्यसमा बुट्टा बनाउन मेसिनको प्रयोग हुन थालेपछि बजारमा कम मूल्यमा पनि राम्रा दराज उपलब्ध हुन थालेका हुन् ।

बजारमा सबैभन्दा बढी ‘थ्री पीस’ दराजको माग रहेको काठमाडौंको नयाँ बानेश्वरमा रहेको बडीमालिका फर्निचरका सञ्चालक बालकुमार कटुवाल बताउँछन् । सजिलै अलग्याउन मिल्ने तीनवटा भाग जोडेर बनाइएको यस्तो दराज सुन्दर देखिने, तीन भागलाई अलग्याएपछि एक ठाउँबाट अर्को ठाउँमा सार्न सहज हुने र धेरै सामान अट्ने हुँदा माग बढेको कटुवालको भनाइ छ ।

नयाँ बानेश्वरमै द घरानियाँ फर्निचर सञ्चालन गरिरहेका सप्तरीका दिलीपकुमार चौधरी आफूकहाँ सबैखाले दराजका ग्राहक आउने गरे पनि धेरैको रोजाइ ‘थ्री पीस’ नै हुने बताउँछन् । आफ्नो आवश्यकता र कमाइको आधारमा ग्राहकले दराज छनोट गर्ने उनको भनाइ छ । चौधरी भन्छन्, “जस्तो डिजाइनको दराज खरिद गरे पनि ग्राहकहरू मूल्य र गुणस्तरप्रति भने सचेत छन् ।”

हाल नेपाली बजारमा सिंगल पीस, डबल पीस र थ्री पीस दराजहरू चल्तीमा छन् । प्लाइउड र काठका दराज विभिन्न डिजाइनमा उपलब्ध हुन थालेपछि स्टिल दराजको बिक्री निकै घटेको व्यवसायीहरूको भनाइ छ ।

दराजमा प्रयोग हुने काठ, बुट्टा र अन्य सामानले मूल्य फरक परे पनि सामान्यतः सिंगल पीस दराजको रु.१५ हजार, डबल पीसको रु.२५ हजार र थ्री पीसको न्यूनतम रु.३५ हजार पर्ने चौधरीको भनाइ छ ।

एक्लै बस्ने विद्यार्थी, सानो परिवार वा एक व्यक्तिको मात्रै उपयोगका लागि सिंगल पीस दराज उपयुक्त हुन्छ भने भाडामा बस्ने परिवारको रोजाइमा डबल पीस दराज पर्ने गरेको चौधरी बताउँछन् । डबल पीस दराजमा सिंगल पीसमा भन्दा धेरै सामान अट्ने र घर सर्दा सजिलो हुने भएकाले प्रायः भाडामा बस्नेहरूले रुचाउने गरेको उनले बताए । त्यस्तै, बालबालिकाका लुगा र सामान राख्न पनि यो दराज उपयुक्त हुन्छ ।

दराजको मूल्य निर्धारणमा काठको गुणस्तर, डिजाइन, बुट्टा, पेन्ट, लक सिस्टम आदि जिम्मेवार हुने व्यवसायीहरू बताउँछन् । बजारमा रु.१ लाख भन्दा बढी मूल्यका दराज पनि पाइन्छन् । चौधरी भन्छन् “विगतमा थ्री पीस दराज ‘फिक्स’ हुन्थ्यो, त्यसैले आफ्नै घर भएकाले मात्र खरिद गर्थे, अहिले यो अलग्याउन मिल्ने र धेरै सामान अटाउने हुँदा डेरामा बस्नेले पनि खरिद गर्न थालेका छन् ।”

थ्री पिसभन्दा ठूलो दराज चाहिनेले भित्तामै दराज बनाउने गरेका छन् । कोठाको भित्तामा आफ्नो आवश्यकता र डिजाइन अनुसार ‘वाल दराज’ बनाउन सकिन्छ । चौधरीका अनुसार ‘वाल दराज’ बनाउन प्रति वर्ग मिटर न्यूनतम रु.१,५०० पर्दछ ।

बजारमा पाइने तयारी दराजहरू भन्दा कोठाको साइज र राख्ने स्थान अनुसार दराज बनाउन अर्डर दिनु उपयुक्त हुने व्यवसायीहरूको भनाइ छ ।

प्रस्तुतिः शरद ओझा

comments powered by Disqus

रमझम