१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

साथी शोहिदूल

Share:
  
- कनकमणि दीक्षित
शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो ।

धेरै नेपाली पत्रकार र फोटो पत्रकारले चिन्ने बांग्लादेशका ‘सांस्कृतिक जुझारु’ शोहिदूल आलम संसारभर नै परिचित छन्– आफ्नो देशका अघोषित र अति प्रभावकारी राजदूत जस्तो ।

बांग्लादेशमा फोटोग्राफी विधालाई अग्रस्थानमा लैजान सफल छन् उनी– प्रदर्शनी, प्रशिक्षण र आफ्नै तस्वीरहरूको करामतका कारण । विभिन्न राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोप, दुर्घटना या भूराजनीतिक अनर्थ हुँदा उनको खोजमूलक फोटोग्राफी नै विश्वसनीय हुने गर्छ– गार्मेन्ट फ्याक्ट्रीमा आगजनी होस् वा चट्टग्राम क्षेत्रमा रोहिन्जा शरणार्थीको ओइरो ।

अनलाइन पोर्टल र इमेलद्वारा एक्कासि खबर आयो, ‘शोहिदूललाई समाते !’ हो रहेछ । २० साउन (५ अगस्ट) बेलुकी उनको फ्ल्याटमा करीब १५ वटा गाडीमा ३० जनाको डफ्फा पुग्यो र उनलाई सेतो भ्यानमा हालेर हिरासतमा लिइयो । यसरी पक्रने टुकडीमा राष्ट्रिय अनुसन्धान ब्यूरो, प्रहरी गुप्तचर, सैनिक गुप्तचर सबै संलग्न थिए । भोलिपल्ट अदालत लैजाँदै गर्दा उनलाई जस्तो हालतमा देखियो, त्यसबाट शोहिदूललाई त्यो रात यातना दिइएको थाहा भयो ।

के गरेका थिए, शोहिदूलले यस्तो कष्ट पाउनका लागि ? को हुन् उनका शिकारी ? र, के जनाउँछ, यसले आजको बांग्लादेशको अवस्था ?

दश–दश वर्ष राजकाज सम्हालेकी बांग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको सत्ता सञ्चालनको तरिका मनमौजी र असहिष्णु बन्दै गएको संकेत केही वर्ष अघिदेखि नै देखिएको हो । दुई वर्षअघि उनले ढाकाका प्रख्यात पत्रकार, द डेली स्टारका सम्पादक÷प्रकाशक महफूज आनामलाई सरकारमाथि द्वेष पालेको भन्दै विभिन्न जिल्लामा ६७ भन्दा बढी मुद्दा हालिदिइन् । तीमध्ये १६ वटा देशद्रोह अभियोग । यता र उता तारिख धाउँदैमा आनामलाई सास्ती छ ।

कनकमणि दीक्षित
ढाका केन्द्रीय कारागार । सडक सुरक्षाको माग गर्दै स्कुले विद्यार्थीले निकालेको र्‍याली र शोहिदूलको विचार अल जजिरा बाट प्रसारण भइरहेको दृश्य (माथि) ।

शेख हसिनालाई सत्तामा रहिरहन यहाँको राजनीतिमा राम्रो प्रभाव जमाएको भारत सरकारको पूर्ण सहयोग एकातिर छ भने अर्कोतिर बांग्लादेशमा प्रतिपक्षी दल भन्ने नै रहेन । ‘बांग्लादेश नेशनल पार्टी (बीएनपी) की अध्यक्ष पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया जेलमा छिन् र हजारौं नेता–कार्यकर्तालाई जताततै झूठा मुद्दाको जालोमा फसाइएको छ ।

बांग्लादेशको मुक्ति संग्रामको नेतृत्व गरेका कारण सधैँ राज गर्ने एकाधिकार पाए जस्तै गर्दैछन्, सत्तासीन पार्टी अवामी लिग र नेतृ शेख हसिना । प्रतिपक्षी राजनीति कमजोर हुँदा बांग्लादेशमा स्वतस्फूर्त आन्दोलन उम्लिएर आउने गरेको छ । जब गएको १३ साउनमा एक युवक र एक युवतीलाई बसले ठक्कर दिएर मार्‍यो, स्कुले विद्यार्थी एक्कासि मुलुकभरि उर्लिएर सडकमा आए, सरकार नै हल्लाउने गरी ।

शेख हसिनाको प्रत्युत्तर थियो, पुलिससहित आफ्नो पार्टीको युवा संगठनलाई सडकमा उतार्ने । ‘छात्रो लिग’ दस्ताका हेलमेटधारी युवकहरू मोटरसाइकलमा चढी हातमा फलामे डण्डा लिएर ८–१० कक्षामा पढ्ने विद्यार्थीमाथि जाइलागे र सबैलाई त्रसित पार्दै प्रहरीले ५० भन्दा बढी केटाकेटीलाई हिरासतमा लिएपछि आन्दोलन जबरजस्ती साम्य भयो ।

कुटपिटको घटना सबै खिच्दै थिए शोहिदूल र सडकबाटै फेसबुक लाइभ गरी उनले सरकारप्रति आफ्नो आक्रोश पोख्दै थिए (हे. तस्वीर) । अल जजिरा टेलिभिजनमा विनासंकोच आफ्नो भनाइ राखेर शेख हसिना सरकारको ‘लेजिटिमेसी’मै प्रश्न गरे ।

सरकारको क्रियाकलापबारे प्रश्न गर्नु, आक्रोशित हुनु, कडा शब्द प्रयोग गर्नु त खुला समाजभित्रको नागरिक अधिकारको हो । तर, आज बांग्लादेशमा खुला समाज छ भन्न सकिने अवस्था छैन ।

शोहिदूललाई ढाका शहरबाट बुरुगंगा पुलपारि करीब १० किमि पूर्व नवनिर्मित ढाका केन्द्रीय कारागारमा राखिएको छ । त्यहाँ करीब ११,००० कैदी–बन्दी छन् । शोहिदूललाई दिइएको अलि राम्रो कोठा र केही सुविधा हटाउन महान्यायाधिवक्ताले अदालत समक्ष माग राखेका छन् । सरकारविरुद्ध ‘प्रोपोगाण्डा’ मच्चाएको आरोपमा शोहिदूलमाथि मुद्दा हालिएको छ, जमानतमा छुटाउन सकिएको छैन ।

नेपालका सञ्चारकर्मी, बौद्धिक लगायत संसारभरबाट नोबेल पुरस्कार विजेतादेखि प्रबुद्ध लेखक, कलाकारहरूले शोहिदूलको रिहाइको माग गरेका छन्, तर शेख हसिनाले आफू झनै दृढ रहेको संकेत दिएकी छिन् । हसिना सरकारको चाहना बुझ्न गाह्रो छैन कि, ढाकाको उकुसमुकुस माझ बौद्धिक जमात– प्रोफेसर, पत्रकार र अन्य विचार निर्माणकर्ताहरू– शोहिदूलको अवस्थाबाट त्रसित होऊन् र तीन महिनापछि हुन लागेको आम निर्वाचनमा अवामी लिग विरुद्धको प्रचारबाजीमा ननिक्लिऊन् । यस अर्थमा शोहिदूललाई ‘उदाहरण’ बनाउन खोजेको छ, हसिना सरकारले ।

गत हप्ता बांग्लादेश पुगेर मैले शोहिदूललाई भेट्ने प्रयास गरें । ढाका केन्द्रीय कारागारका प्रमुख ‘जेलर’ रियाज कबीरको फोन नम्बर फेला पारें, दुई दिन लगाए धेरैचोटि सम्पर्कको कोशिश गरें, केही लागेन । ‘टेक्स्ट मेसेज’ गरें, ‘म शोहिदूलको नेपालबाट आएको मित्र, भेट्न मिल्थ्यो कि ?’ उत्तर आएन ।

भेट गर्न नपाएपछि कारागार (हे.तस्वीर) पुगें । शोहिदूललाई मनमनै कामना गरें, ‘सुरक्षित रहनू, सकुशल बाहिर आउनू !’

सरकारको आलोचना गर्दा राज्यद्रोह ! लोकतन्त्रको संघर्ष फेरि गर्नुपर्ने समय आएको रहेछ ढाकामा ।

comments powered by Disqus

रमझम