चाडबाडका बेला मात्र मासु पसल तथा बधशाला अनुगमनमा हुने सक्रियता बारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहायक प्रवत्ता प्रदीप भट्टराई भन्छन्, “चाडबाडमा मासुको माग बढ्ने भएकाले बजारमा जथाभावी गर्ने सम्भावना बढी हुन्छ।”
अनुगमन नियमित प्रक्रिया भए पनि चाडबाडका बेला मासुको खपत बढी हुने भएकाले अनुगमन बढेको हो । यो बेला मासुको माग बढ्दा दूषित मासु बिक्री गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले चाडबाडमा हाम्रो सक्रियता बढ्छ ।
दूषित मासु खाँदा के कस्ता समस्या आउँछन् ?
दूषित मासुका कारण टाइफाइड, क्षयरोग, झाडापखाला, हैजा, कमलपित्त जस्ता स्वास्थ्य समस्या देखिन्छन् । मासु छिटो सड्ने भएकोले यसको सुरक्षित भण्डारणमा विशेष ध्यान पुर्याउनुपर्छ ।
जोखिमको शुरुआत कहाँबाट हुन्छ ?
पशु बजारमा आएदेखि नै जोखिम शुरु हुन्छ । बिरामी पशुको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैगरी पशु बध, मासुको भण्डारण, ढुवानीमा सावधानी अपनाइएन भने पनि त्यसले जोखिम निम्त्याउँछ ।
बजारमा दूषित मासु आउन नदिन पशु सेवा विभागको भूमिका कति हुन्छ ?
पशुपक्षीबाट मासु उत्पादन हुने अवस्थासम्म पशु सेवा विभागको भूमिका बढी हुन्छ । जब मासु उत्पादन हुन्छ, त्यसपछि अनुगमनको भूमिका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हुन्छ । यस्तै, पशु बधशालाको जिम्मा स्थानीय सरकारको जिम्मेवारीभित्र पर्छ । उपभोक्तासम्म स्वस्थकर मासु पुर्याउँदासम्म धेरै निकाय जिम्मेवार हुन्छन् । यसमा सबैको एकीकृत प्रयास हुनुपर्छ ।
यसको अर्थ अहिले सरोकारवाला निकायबीच समन्वय हुन नसकेको हो ?
समन्वय अभाव पनि हो । जनशक्ति अभाव उस्तै छ । त्यसबाहेक हाम्रा कानूनमा पनि केही कमजोरी छन् । यस्तै, अनुगमनमा गलत काम गरेको भेटिए अहिले न्यून जरिवाना छ, त्यसलाई बढाउनु आवश्यक छ ।