नेपाल प्रहरीसँग भएको पछिल्लो २२ वर्षको तथ्यांक हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् । तथ्यांक अनुसार, घरेलु हिंसापछि बलात्कार संख्यात्मक रूपमा महिला बढी पीडित भएको दोस्रो अपराध हो (हे.बक्स) ।
समाज अध्येताहरू नैतिक मूल्य र सामाजिक मान्यता खस्किंदै गएका कारण अपराधको पारो चढिरहेको बताउँछन् ।
घरेलु हिंसा र उजुरीको प्रचलन
समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको संख्या उच्च देखिन्छ । आर्थिक वर्ष २०५३/५४ देखि २०७४/७५ सम्म ९,९६७ बलात्कार र ३,८३७ बलात्कार प्रयासका घटना भएका छन् भने घरेलु हिंसाबाट ६३ हजार ४१९ महिला पीडित भएका छन् ।
यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि संख्या थपिएको प्रहरी अधिकारी तर्क गर्छन् । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा भन्छन्, “अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानूनको पहुँच बढेको छ ।”
आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्म घरेलु हिंसा पीडित ३३ हजार २५२ जना महिलाले प्रहरीमा उजुरी दर्ता गराएका थिए । सो अवधिमा घरेलु हिंसाका घटनामा सरदर दैनिक ३१ जना महिला न्यायको लागि प्रहरीकहाँ पुग्ने गरेका थिए । तर, आर्थिक वर्ष २०६९/७० देखि २०७१/७२ सम्ममा दर्ता भएको घरेलु हिंसाको विवरण हेर्दा उक्त अवधिमा दैनिक १६ महिलाले उजुरी गरेको देखिन्छ ।
२०६६ सालमा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाको रूपमा परिभाषित गरेको छ । ऐनले यो अपराध प्रमाणित भएमा रु.३ हजारदेखि रु.२५ हजारसम्म जरिवाना वा ६ महीनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
अपराधको कारक
बलात्कार लगायतका घटना बढिरहँदा सरकारले इन्टरनेटका यौनजन्य अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । महिला हिंसाका घटना बढ्नुमा त्यस्ता सामग्री माथिको सहज पहुँच कारक रहेको ठहर गर्दै सरकारले पोर्न साइट नियन्त्रण गर्न लागेको हो । नेपाल प्रहरीका प्रवक्ता थापा भन्छन्, “इन्टरनेटको माध्यमबाट अपराधका नयाँ–नयाँ काइदा भित्रिएको छ ।”
अधिवक्ता शशि बस्नेत दण्डहीनताका कारण अपराधलाई सामान्य रूपमा स्वीकार्न समाज अभ्यस्त बन्दै गएको टिप्पणी गर्छिन् । भन्छिन्, “अपराधीले सफाइ पाएका एक–दुई उदाहरणले पनि आपराधिक मनोवृत्तिलाई मलजल गरिरहेको हुन्छ, हामीकहाँ त्यही भइरहेको छ ।” हिंसा र अराजकता हाकाहाकी देखेको पुस्ता समाजको मूलधारमा रहेको कारण अराजकतासँगै महिला विरुद्धका हिंसा बढिरहेको उनको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता थापा भने अपराध बढेको देखिनु दुःखद भए पनि कानून कार्यान्वयन पनि भइरहेको बताउँछन् । मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना समाजमा नैतिक मूल्य–मान्यताको क्षयीकरण हुँदा अपराध मौलाएको देख्छन् । “एकातिर विद्यालय तहमा प्रजननसँगै यौन शिक्षाको खाँचो देखिन्छ” उनी भन्छन्, “साथै नैतिक शिक्षामा जोड दिएर अपराध कम गर्न सरकारको ध्यान जानुपर्छ ।”
सडकमा गर्भवती महिला
गत साउनको एक मध्याह्न काठमाडौं सामाखुसीस्थित मानव सेवा आश्रममा कसैले फोन गरेर स्वयम्भू क्षेत्रमा मानसिक अस्वस्थ देखिने एक गर्भवती महिला सडकमा रहेको जानकारी दियो । त्यसलगत्तै आश्रमले ती अन्दाजी २१ वर्षीया युवतीको उद्धार गर्यो । स्वास्थ्य परीक्षणका क्रममा करीब ६ महीनाको गर्भ रहेको पत्ता लागेपछि ती युवतीको थापाथलीस्थित प्रसूति गृहमा नियमित गर्भजाँच भइरहेको छ । यही असोज अन्तिम साता उनले शिशु जन्माउने अस्पतालले जनाएको छ ।
सोही आश्रममा रहेकी अर्की अन्दाजी २३ वर्षीया युवतीले गएको २६ असारमा प्रसूति गृह थापाथलीमा मृत शिशु जन्माएकी थिइन् । ६ महीनाअघि गोरखाबाट उद्धार गरिएकी उनलाई आश्रमका सञ्चालकले भूकम्पपछि गाउँबाट विस्थापित भएको आशंका गरेका छन् ।
त्यस्तै, साउन पहिलो साता पोखरा घर बताउने अर्की एक महिलाले आश्रममा शिशु जन्माइन् । आश्रमका प्रवक्ता सुमन बड्तौलाका अनुसार, उनले जन्माएको स्वस्थ शिशुलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जोरपाटीस्थित एक परिवारले पालिरहेको छ ।
सडकमा रहेका मानसिक रूपमा अस्वस्थ महिलाहरू रात या साँझको समयमा बलात्कृत हुने गरेको आश्रमको अनुमान छ । यसरी सडकमा आइपुगेका कतिपय त घर–परिवारभित्रै यौन उत्पीडनको शिकार भएको समेत पाइएको छ । केही वर्षअघि आश्रममा शरण लिएकी एक गर्भवती महिला घरभित्रै बलात्कृत भएको पाइएको थियो, जुन घटना कारबाहीका क्रममा छ । बड्तौलाका अनुसार, मानसिक रूपमा अस्वस्थ महिला घर–परिवारभित्रै बलात्कृत भई त्यागिएर सडकमा आएपछि पुनस्र्थापनाको सम्भावना कम रहन्छ ।
उनी भन्छन्, “हामीले अत्यन्तै दयनीय अवस्थाबाट उद्धार गरेका महिलामध्ये कतिपय पुरुष देख्नासाथ तर्सिने गर्छन् । यसबाट उनीहरू बलात्कारको शिकार भएको बुझ्न सकिन्छ ।”
६ वर्षअघि स्थापित मानव सेवा आश्रमले अहिलेसम्म सडकबाट उद्धार गरेका १५ जना मानसिक रूपमा अस्वस्थ गर्भवती महिलाबाट आठ छोरा र सात छोरी जन्मिएका छन् । स्थानीय सरकारका पञ्जिकाधिकारीले आमाको समेत जन्मदर्ता वा अन्य कुनै प्रमाणित कागजात मागेका कारण यी बालबालिकाको जन्मदर्ता हुनसकेको छैन ।
सरकारसँग छैन कार्यक्रम
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग बेवारिस सडक मानवको उद्धार र सहायताका लागि कुनै विशेष कार्यक्रम छैन । मन्त्रालयको महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी प्रमुख रोशनीदेवी कार्की मन्त्रालयसँग कुनै कार्यक्रम नभएकाले कतिपय पीडित महिलालाई गैरसरकारी संस्थासँगको समन्वयमा संरक्षण गरिएको बताउँछिन् ।
सडकमा रहेका असहाय एवं मानसिक रूपमा अस्वस्थ महिला बलात्कृत हुनुलाई भयानक अमानवीय अपराध मान्छिन्, अधिवक्ता शर्मिला श्रेष्ठ । उनी भन्छिन्, “नैतिक मूल्य र मानवीय भावनामा बेपत्ता विचलन आएका दुःखद उदाहरण हुन्, यी घटना ।” महिलामाथि हुने यसखाले अपराधको गहिरो छानबिन गर्न सरकारले विशेष एकाइ खडा गर्नुपर्ने उनको धारणा छ ।