हुन पनि ६०० रूख कटान भएको त्यो ठाउँमा अहिले १० फिट अग्ला ६ हजार भन्दा बढी सालका लाथ्रा हुर्किएका छन् । छिप्पिएका रूख काटिएको ठाउँमा आफैं उम्रिएका नयाँ बिरुवा हुर्केपछि सालझ्ण्डी क्षेत्रका सामुदायिक वनले पनि त्यसैको सिको गरे । सिंहदर्जा, कञ्चन र सालझ्ण्डी सामुदायिक वनले त आफ्नो कार्ययोजना नै संशोधन गरी दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरे, जहाँ अहिले नयाँ रूख हुर्किंदैछन् ।
जिल्ला वन कार्यालयले पनि दिगो वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएर ५४ हेक्टर वन क्षेत्रमा रहेका पुराना रूख कटान गरेको छ । ती ठाउँमा आफैं उम्रेका बिरुवा हुर्किएर नयाँ जंगल बनिसकेको छ ।
वृक्षरोपण नगरे पनि हुन्छ
मानव जाति मात्र होइन, सिंगो प्राणीजगतलाई जोगाइरहेको पर्यावरण जोगाउन वनजंगलको अहम् भूमिका हुन्छ । तर, वनजंगल चाहिं कसरी जोगाउने ? वन व्यवस्थापनसँग जोडिएको यो प्रश्नमा हरेकका आ–आफ्नै तर्क छन् । केहीले वन विकासका लागि वृक्षरोपणलाई अचूक उपाय मान्छन् भने कतिपयले चाहिं पुनरुत्पादनबाट (बिरुवा आफैं उम्रिएर) वनजंगल विकास हुने मान्यता राख्छन् । रूपन्देहीको उदाहरणले वन व्यवस्थापनको योजना प्रभावकारी रूपमा अघि बढाउने हो भने वृक्षरोपण नगरेरै वन विकास र संरक्षण हुने देखाएको छ ।
त्यसको प्रमाण हो– नेपालको वन क्षेत्र ३९ प्रतिशतबाट बढेर ४४ प्रतिशतमा पुग्नु । यसको प्रमुख कारण पहाडी क्षेत्रमा संरक्षित सामुदायिक वन थियो । तीव्र वन विनाश रोक्न सरकारले २०४९ सालपछि समुदायलाई वन हस्तान्तरण गर्ने प्रक्रिया शुरू गर्यो । “समुदायले संरक्षण गरेका वनमा चोरी, चरिचरन र आगलागी नियन्त्रण हुन सकेकाले सामुदायिक वन सफल भए” सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक भन्छिन्, “वृक्षरोपण भन्दा पुनरुत्पादनबाटै वनको हैसियत बढेको हो ।”
चरिचरन, आगलागी र अतिक्रमण रोक्न सफल भएकाले नै रूपन्देहीको सालझ्ण्डी क्षेत्र वन विकासको नमूना बनेको हो । पोखरेलका भनाइमा वृक्षरोपण गर्दा एउटै जातका रूखहरू मात्र रोपिने हुँदा वनको हैसियत पनि राम्रो हुँदैन । तराईमा साल, पहाडमा कटुस, चिलाउने र सल्लो आफैं उम्रिन्छन् । अर्का वन विज्ञ कृष्ण पोखरेल नाङ्गा डाँडापाखा, खुला चौर र बिरुवा उम्रिने सम्भावना नभएका ठाउँमा मात्र वृक्षरोपण आवश्यक भएको बताउँछन् । यस्ता ठाउँमा वृक्षरोपण गर्दा अन्य प्रजातिका रूख आफैं उम्रिन्छन् । पाल्पाको श्रीनगर क्षेत्रमा शुरूमा सल्लाका बिरुवा रोपिएको हो । अहिले त्यो वनमा कटुस र चिलाउने पनि उम्रिएका छन् ।
असफल वृक्षरोपणको कथा
वन विभागको आँकडा अनुसार पछिल्लो तीन वर्षयता ६० जिल्लामा वार्षिक एक करोडका दरले बिरुवा उत्पादन गरियो, जसमध्ये ४७ लाख बिरुवा त जिल्ला वन कार्यालयहरूले नै रोपेका छन् । यसबाहेक निजीस्तरमा समेत नर्सरी स्थापना गरी बिरुवा उत्पादन र वृक्षरोपणको काम हुँदै आएको छ ।
वृक्षरोपण गर्दा एक हेक्टर जमीनमा करीब १६०० बिरुवा लगाइन्छ । वन विभागको पछिल्लो तीन वर्षको आँकडाले १८ हजार ७५० हेक्टरमा वृक्षरोपण भएको देखाउँछ । तर, वृक्षरोपण भए अनुसार वनजंगल विस्तार भएको देखिंदैन । वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगाना भन्छन्, “वृक्षरोपण गरिसकेपछि त्यसको संरक्षण गर्ने परिपाटी नै नहुँदा रोपिएका बिरुवा आफैं मर्छन् । वृक्षरोपणको पुरानो पद्धतिमा पुनर्विचार गर्नैपर्ने भएको छ ।”
जानकारहरूका अनुसार, वृक्षरोपण असफल हुनुको कारण डढेलो र चरिचरन नियन्त्रण गर्न नसक्नु तथा नछिप्पिएका बिरुवा रोप्नु पनि हो । वन विभागका पूर्व महानिर्देशक राजन पोखरेल वृक्षरोपणको सफलताका लागि अतिक्रमण नियन्त्रणका साथै तीन चार वर्षका बिरुवा रोप्नुपर्ने बताउँछन् । “५÷६ महीनाका बिरुवा रोपियो भने बाँच्दैनन्, त्यसमाथि हामीकहाँ रोपेपछि हेर्ने चलन पनि छैन” उनी भन्छन्, “भारत र चीनले ठूला बिरुवा रोप्ने हुँदा उनीहरूको ९० प्रतिशत वृक्षरोपण सफल छ ।”
२०१५ सालमा काठमाडौंको हात्तीसारमा वृक्षरोपण आयोजनाको कार्यालय स्थापना गरेदेखि नै नेपालमा वृक्षरोपणको शुरूआत भएको हो । २०४५ सालको वन विकास गुरुयोजना अनुसार २०२० देखि २०४१ सालसम्म सरकारी तहबाट ४७ हजार र समुदायस्तरमा २१ हजार ९०० गरी ६८ हजार हेक्टर जमीनमा वृक्षरोपण गरिएको थियो । तर, त्यसको आधा पनि वनक्षेत्र विस्तार भएन ।
मध्य तथा पूर्वी तराईका बासिन्दालाई काठ दाउरा उपलब्ध गराउने उद्देश्य सहित २०३५ सालमा शुरू भएको कार्यक्रम हो, सागरनाथ वन परियोजना । परियोजना अन्तर्गत रौतहट, सर्लाही र महोत्तरीमा १३ हजार हेक्टर वन फँडानी गरी त्यहाँको काठ दाउरा वितरण गरियो । फँडानी गरिएको वन क्षेत्रमा अधिकांश सालका रूख थिए । परियोजनाको उद्देश्य यो १३ हजार हेक्टरमै वृक्षरोपण गरी त्यहाँबाट काठ र दाउराको आपूर्ति गर्नु थियो । तर, १३ हजारमध्ये सर्लाहीको मूर्तियामा तीनहजार हेक्टर जमीन सुकुम्बासीका नाममा अतिक्रमण भयो । सरकारले त्यो अतिक्रमण अहिलेसम्म खाली गराउन सकेको छैन ।
पछिल्लो समय सुकुम्बासीका नाममा वन अतिक्रमण बढिरहेको छ । वन सर्वेक्षण प्रतिवेदन–२०१५ मा हरेक वर्ष तराईमा १,८१० हेक्टरका दरले वनक्षेत्र अतिक्रमण भएको उल्लेख छ । वन क्षेत्र अतिक्रमण गर्नेहरूले पाउने राजनीतिक संरक्षण यसको प्रमुख कारण बनेको छ ।