२१-२७ असोज २०७५ | 7-13 October 2018

प्रतिबन्धले फर्किन समस्या

Share:
  
सरकारले खाडी मुलुकमा घरेलु काममा कामदार पठाउन प्रतिबन्ध लगाएका कारण बिदामा घर आएकाहरू फर्किन पाएका छैनन्।

सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ परिवारका साथ ।
यम्खा–१ खोटाङका किशोर विश्वकर्मा (४१) पाँच वर्षदेखि कतारको अदेजियामा एक राजपरिवारको घरमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए । त्यहाँ मासिक रु.६० हजार कमाउने विश्वकर्माको कमाइले खोटाङको नौ जनाको परिवार पालिएको थियो । उनको कमाइ बाहेक घरमा आयस्रोतको अन्य माध्यम थिएन । राजपरिवारका सदस्यको घरमा रमाएर काम गरिरहेका विश्वकर्मा बाबु सिकिस्त बिरामी भएको खबर पाएपछि बिदा मिलाएर ९ साउन २०७५ मा नेपाल फर्किए ।

बिरामी बाबुको उपचार भयो । बाबु निको भए । उनी आफ्नो दुई महीनाको बसाइ सकेर कतार फर्किने निधो गरे । तर नेपाल सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुक जान चैत २०७३ देखि नै प्रतिबन्ध लगाइसकेको थियो । आफूले पहिलेदेखि रोजगारी गरिरहेको ठाउँमा जान पाऊँ भन्दै श्रम विभागदेखि मन्त्रालयसम्म चहारेका उनी अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । विश्वकर्मा भन्छन्, “अब कि त सरकारले स्वदेशमा राम्रो रोजगारी दिनुपर्‍यो, होइन भने कतार जान दिनुपर्‍यो ।”

उनी जस्तै घरेलु कामदारको रूपमा साँगाचोक–४ सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ (३६) ले बहराइनको जल्लाकस्थित रोयल कोर्टमा सरसफाइको काम गर्थे । ५ जेठ २०७५ मा ७५ दिनको बिदा मनाउन घर आएका उनी बिदा सकिए पनि बहराइन फर्किन पाएका छैनन् । बहराइनमा मासिक रु.४७ हजार तलब र राम्रो बस्ने सुविधा भएको बताउने उनी अहिले १० जनाको परिवार कसरी पाल्ने भनेर चिन्तित छन् ।

नेपालमा चश्माको लेन्स बेच्ने काम गरेर राम्रो कमाइ नभएपछि श्रेष्ठ ७ फागुन २०७० मा घरेलु कामदारको रूपमा बहराइन गएका थिए । त्यसको दुई वर्षपछि बिदामा नेपाल आएर फर्केका उनी अर्को पटक आएपछि भने फर्किन पाएनन् । उनी भन्छन्, “अब छोराछोरीको पढाइ खर्च कसरी जुटाउने भनेर चिन्तित छु ।”

श्रेष्ठले पुनः बहराइन जान पाउनु पर्‍यो भन्दै गएको २ असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निवेदन दिएका छन् । मन्त्रालयका अधिकारीले खाडीमा घरेलु कामदारका रूपमा श्रम स्वीकृति दिने कानूनी व्यवस्था नभएकाले अनुमति दिन नसक्ने जवाफ दिएका छन् । यससँगै मन्त्रालयले कानून संशोधन गरेर फर्किन नपाएकालाई पठाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । श्रममन्त्री गोकर्ण विष्ट राम्रो सेवासुविधा पाइरहेका कारण फर्किन चाहनेहरूका लागि मात्र बाटो खोल्न आफूले संसदीय समितिमा छलफलका लागि अनुरोध गरेको बताउँछन् । मन्त्री विष्ट दुई देशबीच सेवा, सुविधा, तलब र सुरक्षाको विषयमा सहमति भएपछि मात्र संसदीय समिति मार्फत प्रतिबन्ध फुकुवा गर्न सकिने बताउँछन् । उनी भन्छन्, “कामदारको सुरक्षाको ग्यारेन्टी नभएसम्म खाडी लगायतका मुलुकमा घरेलु कामदार पठाउन सकिंदैन ।”

खोटाङका किशोर विश्वकर्मा ।
स्विफ्ट इभालुएसनले सन् २०१७ डिसेम्बरमा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालबाट खाडी लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि जानेमध्ये अधिकांश घरेलु कामदार छन् । उक्त अध्ययनले अवैध बाटोबाट त्यहाँ पुगेका अधिकांश नेपाली महिला शोषणमा परेको पनि उल्लेख गरेको छ । खाडी लगायतका मुलुकबाट काम गरेर फर्किएका करीब ९८ प्रतिशत महिलाले मालिकले प्रहरीकहाँ रिपोर्ट गर्ने धम्की दिएर शोषण गर्ने गरेको बताएको पनि अध्ययनमा उल्लेख छ ।

सरकारले खाडीका कुनै पनि मुलुकमा घरेलु कामदारको रूपमा काम गर्न जान प्रतिबन्ध लगाएपछि ठूलो संख्यामा कामदार विदेशमै बस्न बाध्य छन् । स्विफ्ट इभालुएसनको उक्त अध्ययनमा घरेलु कामदारलाई खाडी लगायतका मुलुकमा जान प्रतिबन्ध लगाएका कारण मालिकले पासपोर्ट जफत गरेर राख्ने क्रम बढेको र त्यसले कामदारलाई बँधुवा मजदूर बनाएको उल्लेख छ ।

कतारमा १८ वर्षसम्म घरमा काम गरेर फर्केका खोटाङका किशोर विश्वकर्मा धेरै कामदारहरू प्रतिबन्धका कारण नै नेपाल फर्किन नसकेको बताउँछन् । उनका अनुसार बिदा पाएर पनि नेपाल आउन नपाएकाहरूले पुनः फर्किने व्यवस्था मिलाउन कतारस्थित दूतावासमा निवेदन दिएका छन् ।

सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ बहराइन फर्किन नपाएको थाहा पाएपछि बिदामा घर आउन ठिक्क परेका उनका साथीहरू नेपाल आउन सकेका छैनन् । श्रेष्ठले काम गर्ने घरमा अन्य १० नेपाली कार्यरत छन् । श्रेष्ठ भन्छन्, “लामो समयदेखि कतारमा रहेका मेरा साथीहरूले परिवार भेट्न पाएका छैनन् । सरकारले कहिले नेपालबाट पुनः बहराइन फर्किने स्वीकृति देला भनेर कुरेर बसिरहेका छन् ।” उनका अनुसार नेपाल आएर फर्किन नपाइने डरका कारण बालबच्चा र श्रीमान् छाडेर बहराइन पुगेका महिलाहरू उतै बसिरहेका छन् ।

रामु सापकोटा

comments powered by Disqus

रमझम