२१-२७ असोज २०७५ | 7-13 October 2018

अँध्यारोमै बित्ने भो दशैं

Share:
  
विद्युत् प्राधिकरणले मिटर उपलब्ध नगराउँदा इलामका करीब २,३०० घरपरिवारले दशैं–तिहारमा पनि तार हेरेरै चित्ता बुझाउनुपर्नेछ।

रोहितचन्द्र भट्टराई
इलामको देउमाई नगरपालिका ५, धुसेनी । ट्रान्समिशन लाइनसँगैको घरले पनि बिजुली बाल्न पाएको छैन ।
घर अगाडिकै तारबाट विद्युत् प्रसारण भइरहँदा पनि इलामका करीब २,३०० घरपरिवारले बिजुली बाल्न पाएका छैनन् । नेपाल विद्युत् प्राधिकरण, इलाम वितरण केन्द्रले माग अनुसार मिटर उपलब्ध नगराउँदा उनीहरू विद्युत्को सुविधाबाट वञ्चित भएका हुन् ।

मिटर माग गर्नकै लागि फाकफोकथुम गाउँपालिका–२ बाट १७ असोजमा इलाम आएका दीपक तामाङले एक महीनाअघि नै निवेदन दिए पनि अझ्ै मिटर नपाएको गुनासो गरे । इलाममा दीपक जस्तै मिटर माग गर्ने घर संख्या २,३०० भन्दा बढी छ । प्राधिकरणले जुन गतिमा मिटर उपलब्ध गराइरहेको छ, त्यस अनुसार दशैंअघि उनीहरूले मिटर पाउने सम्भावना देखिंदैन ।

प्राधिकरणको इलाम वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरे विराटनगरस्थित क्षेत्रीय निर्देशनालयमा मिटर जाँच गरेर इलाम ल्याउन ढिलो भएकोले माग अनुसार आपूर्ति गर्न नसकिएको बताउँछन् । घिमिरेका अनुसार क्षेत्रीय निर्देशनालय, विराटनगरमा दैनिक करीब ४०० मिटर जाँच गर्ने प्राविधिक क्षमता छ र निर्देशनालयले इलाम मात्र नभई धेरै जिल्लामा मिटर उपलब्ध गराउनुपर्छ । उनी भन्छन्, “त्यसैले इलाममा माग अनुसार आपूर्ति हुनसकेको छैन ।”

गएको साउन महीनासम्म इलाम वितरण केन्द्रमा मात्र मिटर पाउन नसकेका दरखास्तको सङ्ख्या २,१११ थियो । भदौमा २३७ थपिएकोमा पहिलेका समेत गरी ४०९ ले मात्र मिटर पाए । असोज लाग्दा इलाम केन्द्रले दरखास्त प्राप्त गरेकामध्ये मिटर उपलब्ध गराउन बाँकी संख्या १,९३९ रहेको ग्राहक सेवा फाँटका सुपरभाइजर शंकरसिंह कोइरी बताउँछन् । इलामकै सूर्योदय नगरपालिकाको फिक्कल र पशुपतिनगरस्थित प्राधिकरणका प्रशाखाहरूमा पनि मिटर पाउन बाँकी रहेका दरखास्तको चाङ ठूलै छ । फिक्कलमा ३५० वटा दरखास्त रहेको त्यहाँका प्रशाखा इञ्चार्ज रामकुमार देवान बताउँछन् । त्यस्तै पशुपतिनगरमा २१ वटा दरखास्तमाथि कारबाही हुन बाँकी रहेको कर्मचारी मालती श्रेष्ठले जानकारी दिइन् । फिक्कल प्रशाखा इञ्चार्ज देवानका अनुसार इलाम केन्द्रबाट स्वीकृत भएपछि मात्र ग्राहकलाई मिटर वितरण गरिन्छ । उनी अहिलेसम्मको माग पूरा गर्न अझ्ै ६ महीना लाग्ने बताउँछन् ।

प्राधिकरणले नै तयार पारेको विद्युत् वितरण विनियमावली, २०६९ अनुसार व्यक्तिगत (आवासीय) घरमा जडान हुने मिटर माग भएमा तत्काल उपलब्ध गराउनुपर्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणको इलाम वितरण केन्द्रले महीनौंसम्म पनि मिटर उपलब्ध गराउन सकेको छैन ।

पहिलेको भन्दा मिटर वितरण धेरै सहज भए पनि माग बढी हुँदा आपूर्ति हुन नसकेको इलाम केन्द्र प्रमुख घिमिरे बताउँछन् । उनका अनुसार गएको असार महीनाभित्र आइपुगेका दरखास्तलाई प्राथमिकतामा राखेर वितरण गर्ने काम भइरहेको छ ।

रोहितचन्द्र भट्टराई, इलाम

comments powered by Disqus

रमझम