२१-२७ असोज २०७५ | 7-13 October 2018

‘सेतो गिद्घ’

Share:
  
- कमल मादेन
इजिप्सियन भल्चर अर्थात् सेतो गिद्घलाई ‘सेतो चिल’ भन्ठान्नुले दर्शाउँछ, यस क्षेत्रमा गिद्घ संरक्षण सम्बन्धी केही कार्यक्रम गरिएकै छैन।

यात्रा थुलुङ
इजिप्सियन भल्चर।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ का स्थानीयवासीलाई ‘सेतो चिल’ बाट स–साना हाँस–कुखुरा जोगाउन हम्मे परेको छ । अन्नपूर्ण गाउँपालिका–४ की मुना खड्काको घरबाट गएको भदौमा ‘सेतो चिल’ ले सात–आठ वटा कुखुराका चल्ला लग्यो । कक्षा ९ मा अध्ययनरत खड्काका अनुसार, त्यस भेगमा सेतो चिललाई ‘जालकाठा’ भनिन्छ । तर, चराविज्ञले यो पक्षीलाई सेतो चिल नभनी सेतो गिद्ध भन्छन् । संसारभर भने यो पक्षी ‘इजिप्सियन भल्चर’ नामबाट चिनिन्छ । यसको वैज्ञानिक नाम ‘न्युफ्रोन पक्र्नोप्टेरस’ हो । यो पक्षी नेपालमा पाइन्छ भन्ने जानकारी सर्वप्रथम ब्रायन हड्सनले सन् १८४४ मा दिएका थिए । तराईको समथर भू–भागदेखि करीब ३५०० मिटर उँचाइसम्म पाइने यो पक्षी हिजोआज नेपाल, भारत तथा पाकिस्तानमा लोपोन्मुख प्रजातिमा सूचीकृत छ ।

कृष्णप्रसाद भुसालले सन् २००२ मा गिद्धबारे गरेको शोधकार्य अनुसार, यो पक्षीको लम्बाइ २१ देखि २८ इन्चसम्म हुन्छ भने तौल दुई केजीसम्म हुन्छ । जोडीमा बस्न मन पराउने यसले फेब्रुअरीदेखि अप्रिलसम्म दुई वटा अण्डा कोरल्छ । करीब ४२ दिनमा एउटा अण्डाबाट चल्ला निस्कन्छ भने त्यसको तीनदेखि पाँच दिनमा अर्को अण्डाबाट अर्को चल्ला निस्कन्छ । त्यस्तै, हुर्केर उड्न सक्ने हुन करीब ७० देखि ८५ दिन लाग्छ । करीब ३७ वर्ष आयु हुने यो पक्षी चारदेखि पाँच वर्ष पुगेपछि प्रजनन् योग्य हुन्छ । यसले आवश्यक पर्दा चुच्चाको सहायताले ढुंगाको पनि प्रयोग गर्छ भन्ने लेखिएको भेटिन्छ । यस आधारमा यो पक्षी अत्यन्त चतुर मान्नुपर्छ ।

गिद्धहरू जनावरको सिनो खाएर जीवन निर्वाह गर्छन् भन्ने आम विश्वास पाइन्छ । तर, ‘इजिप्सियन भल्चर’ को आहारामा सिनोदेखि भ्यागुता, माछा, सर्प र जिउँदा पक्षीसम्म पर्छन् । यसले मानिसदेखि विभिन्न जनावरको दिसालाई आहारा बनाउँछ भन्ने बताइन्छ । यसको आकार चिल जत्रै भएकाले चिलकै लयमा आहारा समाउने तथा खाने गर्छ । सानो जीउ हुँदा अन्य प्रजातिका ठूला गिद्धसँग जुधेर सिनोलाई आहारा बनाउन सक्दैन । अन्य गिद्धले खाइसकेपछि हड्डीमा अड्किएका मासु कोट्याएर खाने गर्छ ।

अन्नपूर्ण गाउँपालिका–४ को पुल्चोकदेखि पूर्वतर्फ कालीगण्डकी छेउमा करीब डेढ सय मिटर अग्लो ठाडो पहरो छ । १४ असोजमा स्नातकोत्तर क्याम्पसका सह–प्राध्यापक कुलप्रसाद लिम्बू र वाइल्ड लाइफ फोटोपत्रकार यात्रा थुलुङ राईसँगै यो पंक्तिकार जैविक विविधता अध्ययनको सिलसिलामा त्यहाँ पुगेको थियो । मिरिस्ती खोला जलविद्युत् परियोजना अन्तर्गतका कर्मचारी झपेन्द्र बुदुजा पुनले हामीलाई त्यो ठाउँबारे जानकारी दिएका थिए । त्यहाँ पुगेपछि गिद्धका विभिन्न तस्वीर देखाएर स्थानीय बासिन्दाबाट ‘इजिप्सियन भल्चर’ बारे जानकारी लियौं । पुल्चोककी एक पसल साहुनीले भनिन्, “तपाईंहरूले भने जस्तो एक जोडी पक्षी ऊ त्यो पहरामा बस्छ । अलि घाम ढल्केपछि आउँछ । अहिले कतै बाहिर चर्न गएको होला ।”

दूरबिनले नियाल्दा वासस्थानमा केही स–साना सेता प्वाँखहरू र प्रशस्त मात्रामा बिष्टा देखेपछि ‘इजिप्सियन भल्चर’ त्यहीं बस्छ भन्नेमा विश्वस्त भयौं ।

ती पसलकी साहुनीले भने झैं घाम ढल्कँदै गर्दा २:४५ बजेतिर एउटा ‘इजिप्सियन भल्चर’ ले आकाशमा केही फन्को मार्‍यो र वासस्थानमा बस्यो । त्यसको त्यस्तै पाँच मिनेटपछि अर्को पनि त्यहीं बस्न आइपुग्यो । त्यसले भने आकाशमा फन्को मारेको देखिएन ।

हामी त्यो वासस्थानभन्दा करीब सवा सय मिटर पश्चिमतर्फ खोलाको डिलमा रहेको पसलमा थियौं । हाम्रो क्यामेराको लेन्स राम्रै भएकाले त्यहींबाट तिनीहरूका केही तस्वीर लियौं । सहयोगी झपेन्द्र बुदुजा पुन वासस्थान लाग्दा ती जोडी उडे, हामीले उड्दै गरेको तस्वीर लिन पनि सफल भयौं ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय संरक्षण

नेपाल सरकारले गिद्धको संरक्षण र संख्या वृद्धि गर्ने उद्देश्यसहित भल्चर कन्जर्भेसन एक्सन प्लान फर नेपाल (२०१५–२०१९) जारी गरेको छ । यसका निम्ति स्व–संरक्षण तथा पर–संरक्षण दुवै तवरले संरक्षण गरिने जनाइएको छ । जारी योजनामा सन् २००६ देखि नै नेपालमा गिद्ध स्व–संरक्षण अन्तर्गत विभिन्न गतिविधि शुरु भएको, गिद्ध संरक्षणप्रति स्थानीयवासीको चेतना जगाइएको, गिद्ध मर्ने विषादि प्रति निगरानी गरिएको लगायत उल्लेख छ । ४६ जिल्लालाई गिद्धका निम्ति घातक रसायन ‘डिक्लोफेनाक फ्री जोन’ बनाइएको छ ।

भारतमा सन् २००४ मा ‘कुनै निश्चित क्षेत्रलाई खुला गिद्ध चिडिया घर जस्तो बनाउने’ एक कार्यशाला सम्पन्न भएको थियो । त्यसले गिर्दो गिद्धको संख्यालाई नियन्त्रण गर्ने र आयु नपुगी गिद्ध मर्ने क्रमलाई कम गर्ने लक्ष्य लिएको थियो । यस अनुसार, चितवन राष्ट्रिय निकुञ्जमा जुलोजिकल सोसाइटी अफ लन्डन को मुख्य सहयोगमा एक ‘भल्चर कन्जर्भेसन एण्ड ब्रिडिङ सेन्टर’ स्थापना भएको छ ।

यसैगरी, नवलपरासी, रुपन्देही, दाङ, कैलाली, कास्की र सुनसरीमा सन् २००७ र २०१३ मा समुदायले व्यवस्थापन गर्ने गरी सात वटा ‘भल्चर सेफ फिडिङ साइट’ स्थापना गरिएका छन् । यहाँ मर्न लागेका गाईवस्तु नजिकका गाउँघरबाट संकलन गरिन्छ । विषादी लगाइएको बालीनाली खाएकाले गाईवस्तुका शरीरमा विषादी प्रवेश गरेको हुन्छ, जुन सिनो खाँदा गिद्धहरू पनि मर्न सक्छन् । त्यस्ता जनावरको शरीरबाट विषादी हटाउन तोकिएको क्षेत्रमा कम्तीमा सात दिन जनावरलाई छाडिन्छ र अन्त्यमा प्राकृतिक रुपमा मर्न दिइन्छ ।

अभियन्ताले नै चिनेका छैनन्

देशकै ठूलो संरक्षण क्षेत्रमा करीब दुई दशकदेखि अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट (एक्याप) ले संरक्षण सम्बन्धी अभिभारा वहन गरेको छ । तर, त्यहाँ गिद्ध संरक्षण गर्ने गतिविधि गरिएको देखिंदैन । यस क्षेत्रमा विदेशी बाहेक नेपालीले वन्यजन्तु तथा वनस्पतिबारे अध्ययन, अनुसन्धान गरेको अभिलेखहरू त्यति पाइँदैन । एक्यापको गाउँस्तरमा उपस्थिति बैठकमा मात्र बढी देखिंदै आएको छ । त्यस्ता बैठकमा प्रायः स्थानीय समस्याका कुरा मात्र उठ्छन् । आम वन्यजन्तु तथा वनस्पतिको संरक्षणमा स्थानीयवासीलाई त्यति चेतना हुँदैन । वन्यजन्तु तथा वनस्पतिको उपभोग गर्दै संरक्षण गरिने भएकाले यसमा स्थानीयको ठूलो भूमिका हुन्छ ।

जारी योजनामा लेखिए अनुसार, अन्नपूर्ण कन्जर्भेसन एरियामा स्थानीयवासीले सेतो गिद्धलाई ‘सेतो चिल’ भनेर चिनेका छन्, यसबाट माथि उल्लिखित एक्सन प्लानको प्रतिफल अनुभव गर्न सकिंदैन ।

यो पंक्तिकारले अन्नपूर्ण गाउँपालिका अन्तर्गत एक्यापको मातहतमा सञ्चालित कन्जर्भेसन म्यानेजमेन्ट कमिटी (सीएमसी) का अध्यक्ष तेजबहादुर गुरुङसँग ‘इजिप्सियन भल्चर’ बारे भलाकुसारी गरेको थियो । गुरुङले त्यसको नाम ‘जालकाठा’ होइन, ‘जंगलकाठा’ होला भने । तर, उनी त्यो पक्षी गिद्ध प्रजातिको हो भन्नेबारे बेखबर रहेछन् ।

एक्यापले पर्यटक प्रवेश शुल्कबाट वार्षिक रु.३० करोड जति संकलन गर्छ । पाँच जिल्लामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अहिले १५ गाउँपालिका पर्छन्, पहिले ५७ वटा गाविस परेका थिए । हिजोआज १५ गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा नं. ४ का सीएमसी अध्यक्ष गुरुङ र पूर्व सीएमसी अध्यक्ष मानबहादुर पुर्जा पुनले पनि ‘इजिप्सियन भल्चर’ लाई सेतो चिल भन्ठान्नुले दर्शाउँछ, यस क्षेत्रमा गिद्ध संरक्षण सम्बन्धी केही कार्यक्रम गरिएकै छैन । गरेको भए, अहिलेसम्म उक्त क्षेत्रमा के–कति संख्यामा उक्त पक्षी पाइन्छ, तिनीहरूको वासस्थान कहाँ कहाँ छ भन्ने जानकारी भइसक्थ्यो ।

एक्याप संरक्षण अधिकृत तथा वन्यजन्तुविद् ऋषि बराल सम्पादित अन्नपूर्ण संरक्षण क्षेत्रका चराहरू– सन् २०१८ पुस्तकमा ‘इजिप्सियन भल्चर’ को तस्वीर समावेश छ । तर, त्यो पक्षीको तस्वीर कहाँ खिचिएको हो भन्ने जानकारी छैन । यो पक्षी काठमाडौं उपत्यकाको चोभारको गल्छीमा पनि आक्कलझुक्कल देखिन्छ । आरसी ग्रेगोरी–स्मिथ र एफ बाट्सनको सन् १९७६ मा प्रकाशित एक लेख अनुसार, त्यो पक्षी कोशी टप्पु वन्यजन्तु आरक्षमा उल्लेख्य संख्यामा पाइन्थ्यो । तर, एक–दुई दशक यता एकाध जनाले त्यहाँ अत्यन्तै नगन्य संख्यामा त्यसलाई देखेको बताइन्छ । अब उचित व्यवस्थापन नभए अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि भोलिका दिनमा यो पक्षी नपाइन सक्छ ।

comments powered by Disqus

रमझम