२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

धरासायी बन्दै स्थानीय उद्योग

Share:
  
औद्योगिक उत्पादनहरूको प्याकेजिङमा प्रयोग हुने कार्टन भारतबाटै आउन थालेपछि १५ हजार मजदूर कार्यरत नेपाली कार्टन उद्योग संकटमा परेका छन्।

मोरङको बूढीगंगा गाउँपालिकामा सञ्चालित कोशी प्याकेजिङ कार्टन उद्योग केही समय अघिसम्म पूर्ण क्षमतामा चलेको थियो । सुनसरी–मोरङ औद्योगिक करिडोरका थुप्रै उद्योगले आफ्ना उत्पादनको प्याकेजिङका लागि यहींबाट कार्टन लैजान्थे । यहाँ कार्यरत कामदारहरूलाई नियमित मात्र होइन, अतिरिक्त काम समेत फालाफाल थियो । तर, अहिले उद्योगको उत्पादन घट्दै गएको छ । कामदारले अतिरिक्त काम र सुविधा पाउन छाडेका छन् । सुनसरी–मोरङ करिडोरका उद्योगहरूले पनि माग घटाएका छन् । उद्योग सञ्चालक राधारमण भण्डारी भन्छन्, “भारतबाट तयारी कार्टन भित्रिन थालेपछि स्थानीय कार्टन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।”

बूढीगंगा गाउँपालिकामा सञ्चालित कोशी प्याकेजिङ कार्टन उद्योगमा काम गर्दै श्रमिक ।

विराटनगर आसपासका चाउचाउ र बिस्कुट उद्योगहरूले यहाँभन्दा सस्तोमा पाइने भारतीय तयारी कार्टन आयात गर्न थालेपछि मोरङ र सुनसरीमा ७ हजार मजदूरलाई रोजगारी दिएका २६ वटा कार्टन उद्योग संकटमा परेका छन् । नेपाल कोरोगेटेड बक्स उत्पादक संघका केन्द्रीय सल्लाहकार सोमनाथ अधिकारी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो भएपछि देशभरका ९२ वटा कार्टन उद्योग नै समस्यामा परेको बताउँछन् । भारत सरकारको अनुदानमा सञ्चालित उद्योगबाट उत्पादित कागज प्रयोग गरेर बनाइएका कार्टनसँग प्रतिस्पर्धा गर्न स्थानीय उद्योगहरूलाई सजिलो छैन । प्रदेश–१ सरकारका विज्ञ समूह सदस्य समेत रहेका अधिकारी भन्छन्, “प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द गर्नु परे नेपाली कार्टन उद्योगमा कार्यरत १५ हजार मजदूर बेरोजगार हुनेछन् ।”

कागज उद्योग पनि संकटमा

उद्योगीहरूका अनुसार सार्क एसोसिएसन अफ फ्रि टे«ड एग्रिमेन्ट (साफ्टा) अन्तर्गत आयात गर्न थालिएका वस्तुहरूले स्थानीय उत्पादनलाई विस्थापित गर्ने खतरा देखापरेको छ । पछिल्लो समय नेपाल कार्टन उत्पादनमा आत्मनिर्भर बन्दै गर्दा साफ्टा अन्तर्गत भारतमा सहुलियतपूर्ण कागजबाट निर्मित कार्टनहरू आयात हुनथालेको हो । साफ्टा अन्तर्गत सार्क राष्ट्रभित्र कतिपय वस्तुमा भन्सार महसुलमा समेत आधा छ्र्रूट दिइएको छ ।

त्यही कारण हुनसक्छ, स्तरीय कार्टन मात्र भारतबाट आयात गर्दै आएका प्रदेश–१ का उद्योगहरूले पछिल्लो समय सबैखाले कार्टन आयात गरिरहेका छन् । केही वर्ष अघिसम्म स्थानीय उद्योगबाट उत्पादित कार्टनले नै यहाँको माग पूरा गर्दै आएकोमा अहिले आयातले त्यसलाई थिचेको छ । “यहाँका विभिन्न उद्योगले नै कार्टन आयात गर्छन्” विराटनगर भन्सार प्रमुख मिमांश अधिकारीले भने, “यसबाट मर्कामा परेर हुन सक्छ, आयात रोक्न कार्टन उद्योगहरूले नै आग्रह गर्न थालेका छन् ।”

हुन पनि, यहाँका कार्टन उद्योगहरूको उत्पादन बिक्रीमै समस्या पैदा भएको छ । त्यसको असर कार्टन उद्योगलाई कच्चा पदार्थ आपूर्ति गर्ने कागज उद्योगमा समेत परेको छ । मोरङ र सुनसरीका कार्टन उद्योगहरूले कच्चा पदार्थका रूपमा इनरुवास्थित बाबा पेपर र अरबिन्द पेपर उद्योग तथा सोनापुरस्थित सनराइज पेपर उद्योगका कागज प्रयोग गर्दै आएका छन् । देशभरका ६ वटा कागज उद्योगले भने किसानबाट खरीद गरेको धानको पराल र गहँुको छ्वाली प्रयोग गर्छन् । बाबा र सनराइज पेपर उद्योगका सञ्चालक भगवानदास राठी भन्छन्, “सीमावर्ती क्षेत्रका भारतीय कागज उद्योग चम्किएसँगै पराल र छ्वाली पनि अवैध रूपमा भारत निकासी हुन थाल्यो । अहिले कच्चा पदार्थकै संकट पर्न थालेको छ ।”

उद्योगीहरू निर्यात बढाउने र आयात घटाउने सरकारको नीति कमजोर बन्दा यस्तो अवस्था आएको बताउँछन् । “तयारी वस्तुको आयातले स्वदेशी उत्पादक मर्कामा छन्” नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले भने, “तयारी वस्तुलाई निरुत्साहित गरिएन भने धेरै उद्योगहरू बन्द गर्नुपर्ने हुन्छ ।” राउतका अनुसार, भारतबाट तयारी वस्तु आउन थालेपछि गाडीमा प्रयोग हुने स्प्रिङ पत्ती उत्पादन गर्ने सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योग बन्द भएको छ । करिडोरमा सञ्चालित करीब ५०० उद्योगमध्ये कपडा, फलामे छड, वनस्पति घ्यू, जिङ्क अक्साइड र प्लाष्टिक उत्पादन गर्ने ८० भन्दा बढी उद्योग बन्द भइसकेका छन् ।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम