अनुशील श्रेष्ठ/ऋषिराम कट्टेल
तस्बिर: ऋषिराम कट्टेल |
भूकम्प पीडित देशवासीका लागि राहत सङ्कलनको सार्थक काम गरेको उत्साहपूर्ण माहोलमा भविष्यमा कलाकारहरूको समेत हित गर्ने उद्देश्यका साथ गठन भएको संघ अहिले विमति र झ्गडाग्रस्त रहेको यी दुई मुख्य पदाधिकारीको भनाइबाट प्रष्ट हुन्छ। हुन पनि, पछिल्ला केही वर्षदेखि संघ आफ्नो उद्देश्य अनुसार सेवामूलक काम गर्न, प्रतिष्ठित कलाकारहरूलाई समेट्न र आफ्नो साख बचाउन पूर्णतः अक्षम देखिएको छ। संघको कार्य समितिको अवधि गएको चैतमै सकिएको छ। ३० असारमा विशेष साधारणसभा गरेको नेतृत्वले २ भदौमा अर्को विशेष साधारण सभा गर्ने भएको छ।
अध्यक्ष रमेश बुढाथोकी |
४० वर्ष नपुगेका महासचिव नवल खड्का एक जनाको स्वार्थपूर्तिका लागि नियमित अधिवेशन नगरी विशेष साधारणसभा दोहोर्याइरहेको उपाध्यक्ष निरौलाको बुझाइ छ। महासचिव खड्का र उनको लाइनमा रहेका अध्यक्ष बुढाथोकीसँगको यही विधान लत्याएर ४० को प्रावधान कार्यसमितिको बैठकबाटै हटाउन खोजेका कारण उपाध्यक्ष निरौलाले १५ साउनमा राजीनामा गरेका छन्। अध्यक्षको दावेदार निरौला मापदण्ड नपुगेकाहरूलाई समेत खड्काले चुनावका लागि धमाधम सदस्यता वितरण गरिरहेको आरोप लगाउँछन्।
राजनीतिको छायाँ
नेपालमा राजनीति बिग्रिएको छ। यो जहाँ–जहाँ घुसेको छ, त्यहाँ त्यहाँ गडबड भएको छ। समाजसेवा र कलाकारको पेशागत हितका लागि स्थापित संघलाई पनि गएको चार/पाँच वर्षदेखि राजनीतिले बिगारेको यसका सदस्यहरू नै बताउँछन्। उनीहरूका अनुसार, २०६२/६३ को राजनीतिक परिवर्तन नरुचाएका उपाध्यक्ष निरौलाको हरेक कुरामा नकारात्मक हुने सोच, हरेक कुरालाई माओवादी नजरले हेर्ने महासचिव खड्काको शैली र अध्यक्ष बुढाथोकीको कांग्रेसी चस्माका कारण संघमा भद्रगोल भएको हो। नाम उल्लेख गर्न नचाहने एक सदस्य भन्छन्, “मुख्य पदाधिकारीहरू नै पार्टीका कठपुतली भएपछि कलाकारहरूको हित र चलचित्र क्षेत्रको विकास गौण बनेको छ।”
उपाध्यक्ष मोहन निरौला |
अध्यक्षमा बुढाथोकीको दुई कार्यकाल संघका लागि दशा भएको सदस्यहरू बताउँछन्। संघ अन्तर्राष्ट्रिय कलाकार संघ (आईएफए) को सदस्य हुनु र शहीद सेतु विकको परिवारले आर्थिक सहयोग पाउनु बुढाथोकीको पहिलो कार्यकालको उल्लेख्य घटना थियो। तर, दोस्रो कार्यकालमा उनी संघलाई भजाउँदै राजनीतिक फाइदा लिनमै सीमित भएको सदस्यहरू बताउँछन्। “दोस्रो कार्यकालमा उनले 'चलचित्र कलाकार संघ विशेष योगदान पुरस्कार' आफैंलाई दिने निर्णय गराए” नाम उल्लेख गर्न नचाहने एक कलाकार भन्छन्, “उनको अर्को उल्लेख्य काम भनेको संघकै कार्ड प्रयोग गरेर कांग्रेसको कोटाबाट संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको सभासद् हुनु हो।”
ती कलाकारका अनुसार, महासचिव नवल खड्का संघको नाममा एमाओवादीको तर्फबाट भाषण र आफ्नो फिल्मको प्रबर्द्धन गर्नमा सीमित छन्। कट्टर राजावादी छवि बनाएका उपाध्यक्ष निरौला भने अध्यक्षको 'गणतन्त्रवादी' र महासचिवको 'क्रान्तिकारी' गतिविधिबाट दिक्क भएर निष्त्रि्कय छन्। यी तीन पदाधिकारीको राजनीतिक दाउपेच र असहमतिले थिलथिलो बनाएको संघबाट गोपाल भुटानी र शान्ति मास्के जस्ता कलाकारहरू पनि कुनै सहयोग नपाई बिते। यी तिनै कलाकार थिए, जसको सहयोग अभियानबाट संघ जन्मेको थियो।
समस्यामाथि समस्या
चलचित्र कलाकारको छाता सङ्गठन भए पनि राजेश हमाल, विराज भट्ट, जीवन लुइँटेल, आर्यन सिग्देल, निशा अधिकारीलगायतका चल्तीका कलाकारहरू संघमा आवद्ध छैनन्। चुनाव जितेर आएका कार्यसमितिका सदस्य कलाकारमध्ये आधाजसोले संघ छोडिसकेका छन्, नछोडेकाहरू पनि बैठकमा आउँदैनन्। तर, अध्यक्ष बुढाथोकी भन्छन्, “यो मेरो हैन, अप्ठ्यारो पर्दा आउने र अरू बेला संघ नै चाहिंदैन भन्ने कलाकारहरूको समस्या हो।”
तर, कलाकारहरूलाई समस्याबाट जोगाउन बनेको संघमै धेरै समस्या देखिन्छ। नेतृत्वमाथि हरहिसाबमा पारदर्शी नभएको र सदस्यता व्यवस्थित नगरेको आरोप छ। विधानमा कम्तीमा चार वटा चलचित्रमा काम गरेर अभिनयलाई पेशा बनाएको कलाकारलाई सदस्यता दिने व्यवस्था भए पनि संघमा त्यस्ता सदस्य थोरै मात्र छन्। वास्तविक कलाकारहरूले संघलाई वास्तै नगर्ने तर, विदेश जान चाहनेहरूले चिनजान र आर्थिक चलखेल गरेर सदस्यता कार्ड लिने गरेको बताइन्छ। सदस्यता लिन चाहने वास्तविक कलाकारहरूलाई संघले वास्तै नगर्ने आरोप लाग्ने गरेको छ। मौसमी मल्ल भन्छिन्, “मलाई आजीवन सदस्य बनाउन ८ वर्षअघि रु.५ हजार लिए पनि अहिलेसम्म कार्ड दिएका छैनन्।”
महासचिव नवल खड्का |
अर्का कलाकार मनोज केसीले एक वर्षअघि सदस्यता शुल्क बुझाए पनि अहिलेसम्म कार्ड पाएका छैनन्। यो अवस्थामा पेशाको उत्थान र चलचित्र क्षेत्रको विकास गर्न सक्ने सर्वमान्य नेतृत्व नआई कुनै समस्याग्रस्त व्यक्ति अध्यक्ष बन्न अगाडि आयो भने संघ विभाजन पनि हुनसक्नेछ, उपाध्यक्ष निरौला बताउँछन्।
सम्झ्नलायक विगत
भदौ, २०४५ मा भूकम्पले पूर्वी नेपालमा जनधनको ठूलो क्षति गरेपछि चलचित्रकर्मीहरू राहत संकलनका लागि स्वतस्फूर्त रूपमा काठमाडौंका सडकमा निस्केका थिए। राहत सङ्कलनबाट उत्साहित भएको त्यो समूहले भविष्यमा संस्थागत रूपमै समाजसेवालाई निरन्तरता दिन र कलाकारहरूको पेशागत हित रक्षाका लागि संघ बनाएको थियो। संघले २०५० र २०५२ सालमा देशभरका बाढी पीडितलाई राहत वितरण गर्यो। त्यसपछिका प्राकृतिक प्रकोपहरूमा पनि संघले उल्लेख्य काम गर्यो। संघले २०६१ मा बाढी पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा रु.१ लाख जम्मा गरेको थियो।
संघले चलचित्र विकास बोर्ड स्थापनाका लागि ठूलै आन्दोलन गरेको थियो। त्यसअघि २०५१ मा संघकै आन्दोलनबाट नेपाली चलचित्रबाट भारतीय श्रम, सीप र प्रविधि विस्थापित गर्न बजेटको व्यवस्था भएको थियो, सरकारी अनुदानमार्फत। पहिला विकास बोर्डको नीतिगत निर्णयहरूमा कलाकार संघको निर्णायक भूमिका हुन्थ्यो। अहिले बोर्डमा न संघको प्रतिनिधित्व हुन्छ न त कसैको कुरा नै सुनिन्छ।
शान्ति मास्के संस्थापक अध्यक्ष रहेको संघलाई रवीन्द्र खड्का (२०४८), शिव श्रेष्ठ (२०५१), बसुन्धरा भुषाल (२०५४–२०५७) र कृष्ण मल्ल (२०५९–२०६१) ले नेतृत्व गरे भने रमेश बुढाथोकी २०६२ र २०६५ मा अध्यक्ष बने। हालका उपाध्यक्ष निरौला २०४८, २०५१, २०५४ र २०६२ मा संघको महासचिव रहे। विगतमा दैवी विपत्तिहरू पर्दा सबभन्दा पहिला सहयोग जुटाउन सडकमा निस्कने चलचित्र कलाकार संघ नै हुन्थ्यो। चार/पाँच वर्षयता भने दल खुशी पार्ने नेतृत्वको राजनीतिले संघलाई नै 'बिचरा' बनाएको सदस्यहरू बताउँछन्। “कार्यालयको भाडा तिर्न समेत नयाँ सदस्य खोज्नुपर्ने अवस्था छ” कार्यसमितिका एक सदस्य विशाल विष्ट भन्छन्, “नेतृत्व नालायक भएपछि यस्तै हो।”