कुनै जमाना थियो, भोजपुरी क्षेत्रका नारीहरू घटस्थापनाको दिन बिहानै घर तथा आँगन गोबरले लिप्थे । घरभित्र कुलदेवताको स्थान सरसफाइ गरिन्थ्यो । त्यस क्रममा उनीहरू गाउँथे, “गाई के गोबरा मंगववले बानी, आँगना लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगना रउवा आवे के परी... ।” गीतमा आस्था र आकांक्षा अभिव्यक्त हुन्थ्यो । उता अवधी क्षेत्रका नारीहरू देवीको अर्चना गर्दै गाउँथे, “तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली... ।”
वर्षा सकिएलगत्तै दशहराको तयारी शुरू भइहाल्थ्यो । धनी–गरीब सबैले आ–आफ्नै तरीकाले पूजाको तयारी गर्थे । यसमा केही रीतिथिति पनि थिए । दशहराको बेलामा बोक्सी बढी लाग्छ भन्ने लोकधारणा थियो । त्यसैले बच्चाहरूलाई नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल–छिमेकमा बढी हिंडडुल नगर्न सुझव दिइन्थ्यो । घटस्थापनाको दिन घरका सबै ढोकामा कालो गोलाकार चिह्न कोरिन्थ्यो, जसलाई फूलपातीपछि फेरि सिन्दूर रङले कोरिन्थ्यो । चोकहरूमा सिन्दूरको टीका लगाइएको कुभिण्डो काटिएको देख्न पाइन्थ्यो । जसका बारे देहातका जनताले विभिन्न अड्कल काट्थे । अन्धविश्वासमा रहेका कतिपयले बोक्सीले शक्ति आर्जन गर्न पूजा गरेको भन्थे ।
बोक्सीबाट बच्न केही जाति विशेषमा झिझीया नाच नाच्ने चलन पनि थियो । झिझीया घटस्थापनादेखि विजया दशमीसम्म देखाइने लोकनृत्य हो । यो नृत्यमा महिलाहरूको समूह टाउकोमा माटोको घैंटो राखी बेलुका दैलो–दैलो घुम्छ । प्वालहरू बनाइएको घैंटोमाथि ढकनामा दन्किरहेको आगो हुन्छ, जसमा बीचबीचमा तेल हाली अझ् प्रज्वलित पारिन्छ । यदि घैंटोको प्वाल कुनै बोक्सीले गन्यो भने नाच्ने व्यक्तिको तत्काल मृत्यु हुने मान्यता अनुसार नाच्ने महिलाले टाउको हल्लाइराख्नुपर्ने हुन्थ्यो । कतिपय संस्कृतिविद् झिझीया नृत्यभित्र आध्यात्मिक साधना लुकेको, प्रज्वलित दीप र घैंटोका प्वालहरूले त्यही संकेत गरेको बताउँछन् । यो एक प्रकारको तान्त्रिक साधना भएको बताउनेहरू पनि छन् ।
साविकका पर्व त्योहारमा शुरूकै दिनदेखि गाउँमा ढोल, पिपिही बजाउँदै चमार जातिका मानिसहरू प्रत्येक साँझ् देवस्थान जान्थे । त्यसबापत उनीहरूले गाउँभरिबाटै पारिश्रमिक पाउँथे । यही अवसरमा कतिपय ठाउँमा कुनै तिथिमा ग्राम देवताको सामूहिक पूजा गर्ने परम्परा थियो र अहिले पनि छ । तर, अहिले नियमित रूपमा पारम्परिक लोकबाजा बजाइँदैन । ग्राम देवताको पूजा गरिंदा पहिला बोका, भेडा, पाठी पनि चढाउने गरिन्थ्यो । अहिले राजनीतिक धु्रवीकरणका कारण कतिपय गाउँठाउँमा सगोलमै पूजा नगरी दलीय वा जातीय आधारमा समेत हुन थालेको छ ।
घटस्थापनाका दिन गाउँका मन्दिरहरूमा र केही सीमित परिवारले जमरा राख्ने गर्थे । कृषि आधारित जनजीवन भएकाले नवपालुवाको पूजा गर्ने र विजया दशमीको दिन शिरमा लगाउने चलन छ । तर, पहिला बाहुनहरू जमरा बोकेर यजमान कहाँ जान्थे । ठूल्ठूला जमीनदारहरू कहाँ सीमाञ्चलमा भारततिरका पनि ब्राह्मणहरू आउँथे । ब्राह्मणले मन्त्र पढेर जमरा टक्र्याएपछि जमीनदारले दक्षिणा दिंदै अभिवादन गर्थे ।
दशहरासँग जोडिएको अर्को पाटो थियो, महाबीरी झ्ण्डाको उत्सव र रामलीलाको मञ्चन । महाबीरी झ्ण्डाको त ठाउँठाउँमा मेला नै लाग्थ्यो । यस्तो मेला पहिला जिल्लाका केही सीमित ठाउँमा हुने गरे पनि पछिल्लो समय भने बढेको छ । झ्ण्डा निकै ठूलो र कलात्मक हुन्छ । बाँसका एक वा दुई कप्टेरोलाई विभिन्न आकृतिमा डोरीले बाँधेपछि विभिन्न रङको कागज टाँसेर झ्ण्डालाई आकर्षक रूप दिइन्छ । झ्ण्डोत्सवको तयारी स्वरूप ‘मिसिया’ गाइन्थ्यो, जसलाई कतिपयले झ्ण्डा गीत पनि भन्छन् । गाउनेहरूको हातमा बाँसका स–साना टुक्रा हुन्छन्, उनीहरू वृत्ताकार घुम्दै एकले अर्काको हातमा रहेको छडीलाई समान ताल निस्कने गरी हिर्काउँछन् । सँगै गीत पनि गुञ्जिएको हुन्छ– “होऽऽ झ्ण्डे पर हो तैयार !” त्यस्तै, रामलीलाको बढी चलन अवध क्षेत्रमा छ । नेपालगंजमा त यसको ऐतिहासिक परम्परा नै छ । मध्य र पूर्वी तराईतिर पनि रामलीला टोलीहरू भारततिरबाट आउँथे ।
माटोको प्रतिमा बनाएर पण्डालमा राखी देवी पूजा गर्ने अहिले जस्तो फेसन थिएन । बरु देवी मन्दिरहरूमा दर्शन गर्न जाने चलन थियो । कुलदेवताको स्थानमा साँझ् दीप बालिन्थ्यो । भाकलमा बोकाहरू चढाउने चलन पनि कम थियो । अब त एउटै नगरभित्र पण्डाल बनाएर मूर्ति पूजा गर्ने र एक–अर्को समूहबीच प्रतिस्पर्धा गर्ने होड नै चलेको छ । यस क्रममा धार्मिक र सांस्कृतिक पक्षलाई आडम्बरले छोप्दै गएको छ ।
पहिला सरकारी सेवामा मधेशका थोरै मान्छे थिए । तर, जति थिए, उनीहरू प्रायः गरी दशैंमा घर आए भने एकै पटक छठ मनाएर मात्र फर्किने चलन थियो । २०४६ साल अघिसम्म पुख्र्यौली थलो बाहिर घर बनाउन मानिसहरूलाई खासै चासो थिएन । त्यसैले दशैं विदामा जागिरेहरू गाउँमा हुन्थे र स्थानीय स्तरमा हुने सामूहिक पूजाका लागि विशेष चन्दा दिन्थे । मधेशीको बाक्लो बसोबास भएको क्षेत्रमा पनि पहाडी समुदायको बसोबास थियो । उनीहरूले लगाउने दशैंको टीका अरूहरूले रुचिका साथ हेर्थे, कतिपयले त लगाउँथे पनि । अहिले ती पहाडी बस्ती पातलिए पनि मधेशी समुदायमा केहीले टीकासँगै जमरा लगाउने पहाडी तौरतरिका अपनाएका छन् ।
देशकाल अनुसार दशहराको चलन फेरिंदै गएको छ । पुराना अन्धविश्वास भत्किएका छन् । बोक्सीको अस्तित्वप्रति मानिसहरूलाई विश्वास छैन, कानूनको डर पनि छ । तर, लोकनृत्य झिझीयालाई विभिन्न सामाजिक संस्थाले संरक्षणको प्रयास गरिरहेका छन् । विजया दशमीको दिन ‘रावण दहन’ गर्ने नयाँ कुरा भने विस्तारै फैलिंदै गएको छ । यो भारतीय संस्कृतिको प्रभाव हो ।
दशहरा मेलाको रूप पनि फेरियो । पहिला सीमित ठाउँमा मेला लाग्दा टाढाटाढाका मानिसहरू सहभागी हुन्थे र मेलाको रौनक कैयौं दिनसम्म रहन्थ्यो । अहिले धेरै ठाउँमा मेला लाग्छ, आफ्नै गाउँठाउँका मानिस मात्रै हुन्छन् । दशहरा भन्दा छठ पर्व सामाजिक र पारिवारिक मिलनको अवसरका रूपमा विकसित भएको छ । भाकल भन्दा पनि खानपिनको संस्कृतिले बोका–भेडाको बलि दिने क्रम ह्वातै बढेको छ । माओवादी द्वन्द्व र त्यसपछिका पहिचानजन्य आन्दोलन लगायतका कारण मुख्य देवी मन्दिरहरूमै पूजाका तौरतरिका बदलिंदै गएका छन् ।
जुन समुदायको सांस्कृतिक परम्पराहरू नदी जस्तो गतिशील नभई पोखरी जस्तो जमेको हुन्छ, त्यो समाज आफैमा गुम्सिन जान्छ । मधेशी समाजले जनविश्वासमा रहेको आफूभित्रका अप्रगतिशील सोचहरू छाड्दै गएको छ । तर, आधुनिकताको प्रभावसँगै धार्मिक कर्मकाण्ड र अन्ध–धार्मिकता पनि मौलाउँदै गएको छ । कतै जातीय आधारमा पूजा प्रवद्र्धन भइरहेको छ भने कतै दलीय आधारमा पूजाको सामूहिकता संस्थागत हुँदै गएको छ । अब दशहरा सामान्य पूजापाठ र खानपिनमा बदलिंदै गएको छ । कुनै बेला दशैंको बेला शुभकामना कार्ड छाप्ने फेसन नै चल्यो । इन्टरनेटको प्रचलनसँगै त्यसको ठाउँ सामाजिक सञ्जालहरूले लिएका छन् । तर, स्थानीय सञ्चारमाध्यमहरूका लागि दशैंको शुभकामना विज्ञापन अझै पनि आम्दानीको स्रोत भइरहेको छ ।
समयको बहावमा पर्व त्योहारको सुन्दर पक्ष के देखिन्छ भने, मधेशीको दशहरामा पहाडीको दशैं मिसिंदै गएको छ, पहाडी क्षेत्रमा पण्डाल राखी मूर्ति पूजा गर्ने चलन बढिरहँदा दशहराले दशैंमा रङ थपिदिएको छ ।