एकदिने टीकाका कारण दशैंमा समस्या भोग्ने पोखरेल एक्ला होइनन् । घरबाट माइती तथा मावली, ससुराली र अन्य मान्यजन टाढा भएकाहरू यस्तै समस्यामा पर्छन् । यातायात सुविधाका कारण देशको पूर्वी र पश्चिम भेगसम्म बिहेबारी र सर–सम्बन्धको विस्तार भएको छ । यो भौगोलिक दूरीले अन्य समयमा खासै फरक नपारे पनि दशैंको बेला एकदिने टीकाको चलन भएका ठाउँहरूमा भने ठूलो असर पर्ने गर्छ ।
लमजुङको बेंसीशहरकी शारदा गैरेको घरमा पाँच दिनसम्म टीका लगाइन्छ भने कपिलवस्तुको वीरपुरस्थित माइतीमा दशमीको दिन मात्र टीका लगाउने चलन छ । जब दशैं आउँछ, उनी पिरोलिन्छिन् । “माइतीमा बुबाआमाको हातको टीका लगाउन नजाऊँ त मन मान्दैन, जाऊँ भने घरमा नलगाई दौडिन सम्भव हुँदैन”, उनी भन्छिन् । टाढा विवाह भएका चेलीबेटीका लागि एकदिने टीका थाप्न माइती पुग्न अत्यन्तै गाह्रो हुने उनको अनुभव छ ।
पाल्पाको हुमिनकी तारा घिमिरे पुरानो चलन भनेर अव्यावहारिक कुरा अँगालिरहन नहुने, एकै दिनमा नभ्याए पूर्णिमासम्म टीका लगाउन शुरू गर्नुपर्नेमा जोड दिन्छिन् । भन्छिन्, “हिजो आफन्तहरू नजिकै भएकाले एकै दिनमा सहजै पुग्न सकिन्थ्यो । अहिले सम्बन्ध टाढासम्म फैलिएकोले समय अनुसार चलन बदल्नुपर्छ ।”
तर, एकदिने टीकाको चलनले दशैंको महत्व नै विशेष बनाएको तर्क गर्नेहरू पनि छन् । अर्घाखाँचीको पाणिनी–७ का दिनेश पोखरेल भन्छन्, “एक दिन जस्तो टीकाको महत्व बढी दिन लगाउँदा रहँदैन ।”
दशैंमा एक दिन टीका लगाउने चलन केही जिल्लामा ब्राह्मण तथा क्षत्री समुदायमा मात्र छ । अर्घाखाँची र गुल्मीसँगै पाल्पा, प्यूठान र आसपासका केही जिल्लाका कतिपयले विजयादशमीको दिन मात्र टीका लगाउने चलन छ ।
आर्थिक पक्ष
दशैंमा एकदिने टीकाको चलन बस्नुमा फरक–फरक धारणा पाइन्छन् । पहिलो, यसलाई आर्थिक पक्षसँग जोडेर हेरिन्छ । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिनेश पन्थी खर्चको भार र पाहुना स्याहार्ने झ्न्झ्ट कम गर्न एक दिन मात्र टीका लगाउने गरिएको धारणा राख्छन् । “एकदिने टीका भयो भने पाहुनालाई छिटै पन्छाउन सजिलो पर्ने भयो, खर्च पनि कम हुनेभयो”, उनी भन्छन् ।
यसमा सही थाप्दै इतिहास र संस्कृतिका अन्वेषक दिनेशराज पन्त दशमीको दिनको बढी महत्व हुने भएकाले सोही दिन मात्र टीका लगाउने गरिएको हुनसक्ने बताउँछन् । “दशमीको टीकाको महिमा त छ नै, एक दिन मात्र टीका लगाउँदा खर्च पनि स्वाभाविक रूपमा कम हुनेभयो”, उनी भन्छन् ।
दोस्रो कारण हो, खेतीपातीको चटारो । दशैं प्रायः असोज वा कात्तिक महीनाको पहिलो सातासम्म पर्छ, जुन खेती थान्को लगाउन व्यस्त हुने बेला हो । यसैले दशमीको टीका लगाएर अर्को दिनदेखि खेतबारीमा जुट्नुपर्ने भएकाले पनि एक दिन मात्र टीका लगाउने चलन चलिआएको मान्यता छ ।
यातायातको पहुँचका कारण पूर्व र पश्चिमका स्थानीयबीच घुलमिल बढ्नुका साथै बिहेबारीको सम्बन्ध गाँसिन थालेपछि पछिल्लो समय भने संस्कृतिमा अन्तरघूलन देखिएको छ । यसको प्रभावले पहिला एक दिन मात्र टीका लगाउने प्रचलन रहेका जिल्लाहरूमा कतिपयले पाँच दिनसम्म टीका लगाउन थालेका छन् ।
गुल्मी, अर्घाखाँची लगायत जिल्लामा एकदिने टीका जस्तै दशैंमा सराय नाचको पनि महत्व छ । विशेष गरी गुल्मी, अर्घाखाँची र पाल्पामा दशमीको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाच नाचिन्छ । यो नाचमा सहभागी पुरुषहरू भाला, तरबार, खुकुरी एक–आपसमा जुधाउँदै देवीका शक्तिपीठहरूमा नाच्ने गर्छन् ।
सराय नाचको चलन पछिल्लो समय रूपन्देही र कपिलवस्तुमा समेत शुरू भएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँ सर्नेहरूको संख्या बढ्दै गएपछि तराईमा पनि यो नाच देखिन थालेको हो ।
रामु सापकोटा र मुकेश पोखरेल