दशैं आएसँगै ‘दशैं बहिष्कार’ को चर्चा पनि हाम्रो समाजमा परम्परा जस्तै निर्वाह हुन थालेको छ । केही दशकदेखि दशैंको पक्ष र विपक्षमा हुँदै आएको बहसलाई नियाल्दा ‘सौताको रिस लोग्नेमाथि’ भने जस्तो देखिन्छ । यो विवादलाई ‘उठान’ गरेर परम्पराको रूपमा मात्रै निर्वाह गरिराख्नु भन्दा उदार दृष्टिकोण लिएर यसमाथि थप बहस गर्दै ‘बैठान’ गर्न जरूरी छ । होइन भने, हाम्रो समाजमा वैमनस्यताको वातावरण मौलाउन सक्छ ।
दशैं बहिष्कारको अभियान जनजाति आन्दोलनसँगै शुरू भएको हो । यी आन्दोलनकारीका अनुसार, दशैं हिन्दू धर्मावलम्बीको चाड हो र हिन्दू धर्मले राजाश्रय पाएपछि यो अन्य धर्मावलम्बीमा लादिएको हो । ऐतिहासिक दृष्टिले यो भनाइमा सत्यता नभएको होइन । राजाको धर्मलाई जनतामा लाद्ने वा जनता आफैं राजाको निगाहा पाउन धर्म फेर्ने प्रवृत्ति हजारौं वर्षको मानव इतिहासमा अन्यत्र पनि पाइन्छ ।
समग्र नेपाली जनजीवन जस्तै विभिन्न समुदाय रहेको जनजाति पनि विविधताले भरिपूर्ण छ । तर, जनजातिको यो वास्तविकतालाई यसका नेताहरूले आत्मसात् गरेको देखिन्न । आन्दोलनको एक घटक नेवार समाज दशैंबाट पृथक् हुन सक्दैन । ‘मोहनि’ नामले प्रचलित नेवार समाजको चाड विधि र परम्परामा फरक भए पनि दशैंकै पर्यायको रूपमा रहेको छ । दशैं बहिष्कारको अभियानले आफ्नो परम्परामा असर पर्ने कुरा तत्कालीन नेवार नेतृत्वले राख्न सकेन वा उनीहरूको आवाज दबाइयो, त्यो बेग्लै पक्ष भयो । तर, यही बहिष्कारको कुराले नेवारलाई जिस्क्याउने काम गर्यो । थारू लगायत अन्य कतिपय जनजाति समुदाय पनि नेवारले जस्तै दशैंलाई परम्परागत रूपमै मनाउँछन् । यस दृष्टिले दशैं बहिष्कारलाई सामान्यीकरण गरेर समग्र जनजातिकै बहिष्कार भनेर बुझनुहुँदैन ।
जनजाति आन्दोलनका पक्षधरहरूले थालेको अभियान ‘दशैं बहिष्कार’ शब्द चयनमै गल्ती देखिन्छ । बहिष्कार भनेको आफ्नो कुरालाई आफैंले नमान्नु हो ।
बहिष्कारवादीहरूले दशैं आफ्नो नभएको तर शासकहरूले लादेको जिकिर गरेपछि त्यसका लागि मिल्दो ‘अस्वीकार’ शब्द प्रयोग गरेको भए सन्देश स्पष्ट हुन्थ्यो ।
भर्ना नै नभएको विद्यार्थीले शैक्षिक कार्यक्रम बहिष्कार गर्नु हास्यास्पद हो । त्यसरी नै मन्त्री पदमा बहाल नै नभएका कुनै व्यक्तिले राजीनामा दिनुको कुनै अर्थ छैन । कुनै निश्चित जातीय समुदायले दशैं आफ्नो होइन भनेर आफूखुशी नमनाउँदा भइहाल्यो, कुनै बेला कसैले लादेको भए अब मन पर्दैन भनेर अस्वीकार गर्दा भइहाल्यो । तर, बहिष्कार शब्दले आफ्नो परम्परा त्यागेको देखिन गयो, र यसले दशैंलाई परम्परागत रूपमा मनाउने समुदायलाई हाँक दिए जस्तो हुन गयो ।
सबैका लागि आ–आफ्नो चाड राम्रो हुने, महान् लाग्ने मानवीय स्वभाव हो । यस अनुसार दशैं मनाउने परम्परा भएकाले यसलाई महान् चाड भनेको बुझन सकिन्छ । तर यो सबैको हो, सबैले मान्नैपर्छ भन्ने आग्रह राख्नु मनासिब होइन । अनेक माध्यमबाट दशैं सबैको हो, सबैले मनाउनुपर्छ भन्ने आग्रह वा प्रचारको शैली एक खालको ‘प्रोपगेशन’ होला तर अन्यलाई मानसिक दबाब पनि बन्न गएको छ । यस अवस्थामा दशैं आफ्नो समुदायको नभएकाले नमनाऔं भनी आह्वान गर्नुलाई दशैं मनाउनेहरूले चित्त दुखाउने वा अन्यथा लिनुहुँदैन ।
दशैं मान्ने परम्परा नै नभएका जनजातिले दशैं कहिल्यै मानेको पनि देखिएन । यो एउटा संस्कृति हो । कुनै बेला शासकको दबाबमा वा देखासिकीमा दशैं मानेकै भए पनि संस्कृतिको रूपमा यो कहिल्यै विकास भएको पाइँदैन पनि । निश्चित धर्म–दर्शन र संस्कृतिमा आधारित दशैंलाई उनीहरूले खानपान र रमाइलोमा मात्रै सीमित राखेको र शासक वर्गले पनि त्यति नै पर्याप्त ठानेको बुझन सकिन्छ । जसरी हिन्दू वा बौद्धहरू साथीभाइसँग रमाउन ‘क्रिसमस’ वा अन्य अवसरमा सहभागी हुन्छन्, त्यसरी नै दशैंको परम्परा नभएका वा अन्य धर्म मान्नेहरू पनि दशैंमा सहभागिता जनाउँछन् ।
दशैं मनाउने परम्परा नभएको समाजमा मनाउनैपर्छ भनेर लाद्न खोज्नु वा लाद्न नसकेपछि त्यसलाई आफ्नो नोक्सान ठान्नु अतिवादी सोच हो । नमनाउनेले पनि नमनाए भइहाल्नेमा चिढ्याउने मनसायले बोल्दै हिंडेपछि वैमनस्यता वा द्वेष उत्पन्न हुनु स्वाभाविक हो । यो पनि अतिवाद नै हो । दुईतर्फको यो अतिवादको चपेटामा अनाहकमा दशैं पर्न गएको छ । दशैंलाई राजनीतिक विवाद वा जातीय द्वन्द्वमा फसाउनुहुँदैन ।