ड्याडी ! मलाई त आजकल
ठूलो मान्छे भन्यो कि
डर लागिहाल्छ ।
हाम्रो गाउँको त्यो ठूलो
सिमलको रूख छ नि,
त्यसको छायामा म आजसम्म
बसेकी छैन ।
ठूलो चिज भन्यो कि
मलाई डर लागिहाल्छ ।
ठूलो चौरमा अरुहरू गए
म आँगनमै भँगेराहरूसँगै हुर्किएँ
ठूलो नदी अरुहरूले तरे
म कुवाको भुरा माछा हेरेरै रमाएँ
तेन्जिङले बाबा, त्यत्रो हिमाल के गरी चढ्यो होला ?
त्यत्रो त कल्पनाले पनि
मलाई डर लाग्छ ।
ठूलो घर जुन तपाईंले कहिल्यै बनाउनुभएन
तर सोच्नुहुन्छ
ठूलो पुस्तक
जुन तपाईंले अस्ति भर्खरै पनि किन्नुभयो
र, लामो कविता
जुन तपाईंले हिजो मात्र लेख्नुभयो...
मलाई कस्तो डर लाग्छ !
ठूलो आँधी गएको,
भुइँचालो वा ठूलो पहिरो गएको भोलिपल्ट
म लाइब्रेरी नै छिर्दिनँ, बाबा !
म समाचार नै पढ्दिनँ ।
मलाई डर लाग्छ
ठूलो देशसित पनि
जहिल्यै म ग्लोब घुमाईघुमाई
म मेरो सानो देश मात्रै हेर्छु
कक्षामा पनि मजस्तै एउटी सानी साथी छे
ऊसितै बस्छु ।
बाबा, मेरो ‘टिचर’ लाई हप्काएर
एउटा चिठी लेखिदिनुस्
उहाँ सधैं राष्ट्रपति, प्रधानमन्त्री, राजा...
बम, रकेट, मिसाइल...
के के ठूल्ठूला डरलाग्दा नामहरू
भनिरहनुहुन्छ
नत्र म कुन दिन स्कूलबाटै भाग्छु !
अरुलाई पनि ठूल्ठूला स्वरले
मलाई नकराउन भनिदिनुस्
शहरलाई पनि ठूल्ठूला नारा
नलगाउन भनिदिनुस्
मलाई डर लाग्छ
ड्याडी, तपार्इंसित पनि मलाई
डर लाग्छ
तपाईं ठूलो, अग्लो हुनुहुन्छ
तपाईंको आवाज पनि बडेमानको छ... ।
तर धेरै नै ठूलो चिजदेखि बाबा,
मलाई डरै लाग्दैन ।
जस्तो सूर्य ठूलो भए नि सानो हुन सक्छ
चन्द्रमा ठूलो भए नि सानो देखिन सक्छ ।
बुद्ध, गान्धी, देवकोटा
हिमाल, समुद्र, आकाश...
यिनीहरूसित मलाई डर नै लाग्दैन
किनकि यिनीहरू धेरै नै ठूला हुन्छन्
धेरै ठूला मानिसले साना मानिसलाई
माया मात्रै गर्छन् ।
ड्याडी, तपाईं कि मजस्तै सानो हुनुस् कि धेरै नै ठूलो
जस्तो ‘माम्मी’ हुनुहुन्छ ।
सधैं साना हामीलाई हप्काएर
सधैं साना हामीलाई लखेटेर बस्ने भए
म अबदेखि तपाईंसित बोल्दिनँ...
अनि तपाईं रुनुहुन्छ ।