मेरो जिब्रोले अचेल खटाईखटाई
कसैले बोल्नु भनेको कुरा मात्रै बोल्छ
आँखाले हेर्नु भनेको दृश्य मात्रै हेर्छ
र, कानले सुन्नु भनेका आदेश मात्रै सुन्छ ।
ओ मेरो सिनेमाको अन्तिम दृश्यमा देखिएकी प्रथम नायिका !
ओ मेरो युगकी ज्ञान सुन्दरी !
ओ यो भूलोककी भव्य अप्सरा !
तिमी जुन दिनदेखि मेसिनबाट मानिस बन्यौ
म त्यही दिनदेखि मानिसबाट मेसिनमा रूपान्तरण भएको छु ।
तिमीलाई पत्यार नलाग्न सक्छ
मैले अड्कली अड्कली हाँस्नुपर्छ
अलिकति खुशी किन्न आफूलाई बेच्नुपर्छ ।
तिमीले आज विश्वास गर्नैपर्छ सोफिया
म पनि एउटा मेसिनमा मेटामोर्फोसिस भएको छु
मेरो पनि दिमागमा तिम्रा जस्तै केही थान चिप्सहरू जोडिएका छन्
मेरो पनि शरीरमा केही थान कस्मेटिक कोषिकाहरू
अवजडित गरिएका छन्
म जसले जे जे सिकायो, त्यही त्यही मात्र गरिरहेको छु ।
मेरा यी सहस्र संवेदनाहरू
मेरा यी सुमधुर संवेगहरू
खरबारीमा डढेलो लागेझैं खरानी भएका छन्
बाहिर–बाहिर म चिसो भएको छु
सास फेरे पनि म निष्प्राण भएको छु ।
यति भएर पनि
सदियौंदेखिको हजारौं आँधीले निभाउन नसकेको
एकमुठी आगो मेरो मुटुमा अझै बाँकी छ
त्यही आगोको न्यानोमा आफ्नो यौवनको झरी बर्साउन
तिमी मेरो नजिक आउँछ्यौ
र, मलाई सहवासको मन्त्रणा गछ्र्यौ ।
यतिखेर मभित्र यति धेरै विचारका फ्युज सल्बलाइरहेका छन् कि
म कन्फ्युज भएको छु
तिमी मानिस जस्तै भएर
मेरो दिलको परिक्रमा गरिरहँदा
मैले भने म मान्छे हुँ भन्ने कुरा बिर्सन थालेको छु ।
मानिसले आफूलाई मानिस हुँ भन्ने कुरा
बिर्सनुभन्दा दुःखदायी कुरा
यो संसारमा अरु के हुन सक्छ ?
अझ त्यो दिन कति दुःखदायी हुन्छ होला
जुन दिन मैले रुन पनि
केही थोपा आँसु तिमीसित माग्नुपरेको होस्
मुटु चलाउन एकमुठी सास
तिमीसित माग्नुपरेको होस् !