२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

उर्दी

Share:
  
- उमा सुवेदी

“म तिमी विना बाँच्दिनँ ।”

पटकपटक ऊ यसै भन्थ्यो । हुन त यी भन्ने कुरा थिए । एक–अर्का विना नबाँच्ने जस्ता कुरा भावनामा बहकिएको बेला भन्दा र सुन्दा आनन्द लाग्ने हुन् । अपवादबाहेक आजसम्म कुनै लोग्ने आफ्नी स्वास्नीका लागि मरेको छैन । अपवादबाहेक कुनै स्वास्नी पनि आफ्नो लोग्नेका लागि मरेकी छैन । मर्नु पनि हुन्न । बरु बाँकी जिन्दगी एकअर्काको यादमा बिताउनु ठीक हुन्छ ।

तर, म विना बाँच्न नसक्ने उसको कुराले म खुशी हुन्थें । मैले पनि त्यस्तै कुनै वाक्य भन्दिन्थें, ऊ उस्तै खुशी हुन्थ्यो ।

उसको परिवारका तर्फबाट बिहेको प्रस्ताव आयो, अस्वीकार गर्नुपर्ने मैले कुनै कारण देखिनँ । ऊ एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गथ्र्यो । जिल्लामा सम्मानित थियो । आर्थिक हैसियत पनि बलियो थियो । पत्रपत्रिकामा उसका लेखहरू आइरहन्थे । बिहेको कुरो चलेपछि मैले उसका लेखहरू खोजीखोजी पढ्न थालें । ऊ विशेष गरी महिला अधिकार र महिला हिंसा विरुद्ध लेख्थ्यो ।

प्रस्ताव आएको केही दिनमै हाम्रो ‘इन्गेजमेन्ट’ भयो । हामीले एक–अर्कालाई औंठी लगाइदियौं । त्यसको लगभग तीन महीनापछि हाम्रो बिहेको तिथि परेको थियो । इन्गेजमेन्ट पछिका दिनमा हामी प्रेमी–प्रेमिका जस्ता भयौं । डेटिङ जान थाल्यौं । रेस्टुरेन्ट र शपिङमा भेटिन थाल्यौं । हामीले यो तीन महीनाको प्रत्येक पलको सदुपयोग गरिरहेका थियौं ।

“यो एकअर्कालाई बुझने र बुझउने समय हो” ऊ यसै भन्थ्यो । उसका सबै कुरा समझ्दारीपूर्ण हुन्थे । अध्ययन, अनुभव र उमेरले ऊ मभन्दा परिपक्व थियो । “हामीले प्रत्येक पल एक–अर्कालाई सम्झ्रिहनुपर्छ । प्रत्येक पल एक–अर्काको केयर गरिरहनुपर्छ । यसले हामीबीचको प्रेम र सम्बन्धलाई अझ् मजबूत बनाउँछ ।” कति राम्रो विचार उसको !

त्यो तीन महीना मेरा लागि स्वप्निल समय थियो । आनन्द र उन्मादको समय थियो । कल्पनामा हराउने र विपनामा मुग्ध हुने समय थियो । सपना देख्ने र अनिंदो बस्ने समय थियो ।

मेरा बुवाआमा गाउँमै बस्नुहुन्थ्यो । म भने पढ्नका लागि शहरमा बसेकी थिएँ । केही महीना अघिसम्म मेरो भाइ पनि मसँगै थियो । तर, उच्च शिक्षाका लागि ऊ अष्ट्रेलिया गएपछि म डेरामा एक्लै भएँ । घरबेटीहरू आफन्त जस्तै भइसकेका थिए । त्यसैले एक्लै बस्न मलाई अप्ठेरो थिएन । मेरो डेरा शहरको मुख्य बस्तीबाट अलिक एकान्तमा पथ्र्यो । त्यसैले कतैबाट फर्किंदा अबेर भयो भने मलाई अलिअलि डर लाग्थ्यो । पत्रपत्रिकामा दैनिकजसो बलात्कारका समाचारहरू आइरहन्थे । त्यसले पनि डर बढाउँथ्यो । घरको कम्पाउन्डभित्र छिरेपछि मात्र म ढुक्क हुन्थें ।

“यो ढुक्क भएर बस्ने समय होइन डार्लिङ” यसो भन्दै एकदिन उसले मेरो डेराको कोठामा सीसीटीभी जडान गरिदियो । मेरो र उसको मोबाइलमै सीसीटीभीका फुटेजहरू हेर्न मिल्थ्यो । त्यसपछि म झ्न् ढुक्क भएँ । खुशीले गद्गद् भएँ । सोचें, कोही त छ यो शहरमा मेरो यति धेरै ख्याल गर्ने ।

हो, उसले असाध्यै ख्याल राख्थ्यो मेरो । ऊ मेरो साथी र अभिभावक जस्तै थियो । मेरा अरू साथीहरू पनि थिए । मेरो विवाहको कुराले उनीहरूलाई उत्साहित बनाएको थियो ।

‘बिहेपछि तँसित भनेको समयमा भेट नहोला । त्यसैले बिहेअघि केही समय हामीलाई पनि दे ल !’ यसो भन्दै जिस्क्याउँथे । उनीहरूले मलाई बेलाबेला रेस्टुरेन्टमा बोलाउँथे ।

“आज साथीहरूले मलाई पार्टी दिने रे, साँझ् ५ बजे । हिलटप रेस्टुरेन्टमा ।” म उसलाई फोनमा जानकारी दिन्थें । ऊ खुशी हुन्थ्यो । ऊ साथीहरूसितको यस्तो भेटघाटमा कुनै हस्तक्षेप गर्दैनथ्यो । ऊ यस्तो बेला पनि आफ्नो प्रेम प्रकट गर्ने अवसर गुमाउँदैनथ्यो । जब म साथीहरूसित रेस्टुरेन्टमा हुन्थें, ऊ मलाई थाहै नदिई त्यहीं कुनै कुनामा बसेर नियालिरहन्थ्यो । मैले साथीहरूसित गरेका एक–एक कुरा उसले राति फोन गरेर सुनाउँथ्यो, मलाई छक्कै पाथ्र्यो । म कसरी हाँसें, कसरी बोलें, मैले के के खाएँ र कसरी खाएँ, उसलाई सबै थाहा हुन्थ्यो । कति केअर गर्छ ऊ मेरो भनेर म भुइँमा न भाँडामा हुन्थें ।

कुनै दिन कुनै साथीसित कतै शपिङमा जानुपर्‍यो भने पनि म उसलाई जानकारी दिन्थें । ऊ त्यहाँ पनि थाहै नदिई आइसकेको हुन्थ्यो । मैले के किनें, कुन लुगा छानें, स्टोरको कुन चाहिं चेन्जिङ रुमभित्र पसेर लुगा लगाएर हेरें इत्यादि राति फोनमा बेलिबिस्तार लगाउँथ्यो । म छक्क पर्थें । यस्तो बेला म उसलाई कतै देख्दिनथें । मानौं, ऊ हावा बनेर, घाम बनेर या मेरै छाया भएर वरिपरि सलबलाइरहेको हुन्थ्यो । यो आभास मात्रले मलाई रोमाञ्चित बनाउँथ्यो ।

कहिलेकाहीं ऊ मलाई थाहै नदिई मेरो डेरा अगाडिको सडकमा राति घन्टौं कोठातिर हेरेर बसिरहन्थ्यो । मैले कतिखेर बत्ती बालें, कति खेर निभाएँ, उसलाई पूरै थाहा हुन्थ्यो ।

“हामीबीच अब केही गोप्य रहनुहुँदैन ।”

ऊ यसै भन्थ्यो । म सहमत हुन्थें । जोसित जीवन बिताउनु छ, त्योसित के गोप्यता ! हो, हामीबीच अब कुनै गोप्यता बाँकी थिएन । उसलाई मेरो लुगा र जुत्ताको साइज थाहा थियो । मैले कुन ब्राण्डको नेलपलिस र लिपिस्टिक प्रयोग गर्छु भन्ने पनि थाहा थियो । उसलाई त मेरो फेसबुक र भाइबरको पासवर्ड समेत थाहा थियो । कहिलेकाहीं उसलाई रिप्लाई गर्न ढिला हुँदा ऊ फोन गरिहाल्थ्यो र सोध्थ्यो, “तिमी कुनै अप्ठेरो स्थितिमा पर्यौं कि भनेर फोन गरेको । समय खराब छ प्रिया !”

मेरो समय खराब थिएन । किनभने, मेरो हरेक समयमा ऊ साथमै थियो । भेटै नहुँदा पनि म कहाँ छु, कोसित छु र के गर्दैछु भन्ने जानकारी ऊ लिइरहन्थ्यो । कति ख्याल राख्थ्यो मेरो ! म फुरुङ्ग थिएँ ! मेरा पाइलाहरू खुशीले जमीनमै हुँदैनथे । म हरेक समय प्रेमको आकाशमा गद्गद् भएर उडिरहन्थें ।

एक दिन उसले भन्यो, “तिमी हाँस्दा अलिक दाँत लुकाएर हाँस्ने गर ! त्यसरी हाँसेको तिमीलाई खूब सुहाउँछ ।”

मैले ऐनाअगाडि उभिएर त्यसरी हाँस्ने अभ्यास गर्न थालें । म हाइहिल लगाएर हिंड्थें । सजिलो लाग्थ्यो । एक दिन उसले भन्यो, “तिमीलाई फ्ल्याट शूज ठीक हुन्छ । त्यो लगाएर हिंड्दा तिम्रो चाल एकदम सुन्दर हुन्छ । हाँसको जस्तै, लचकलचक ।”

केही दिन असहज त भयो । तर, मैले हाइहिल छाडें ।

कपाल कर्ली थियो मेरो । भन्यो, “तिमीलाई स्ट्रेट सुहाउँछ ।”

पाइन्ट सजिलो लाग्थ्यो मलाई । भन्यो, “पाइन्टभन्दा कुर्ता–सुरुवालमा धपक्कै बल्छ्यौ तिमी ।”

उसले मेरो नेलपलिस र लिपिस्टिकको रंग पनि छानिदियो । उसले जेजे भन्यो, मैले सहर्ष स्वीकार गरें । त्यो मेरो स्वीकारोक्ति मात्र थिएन, ऊप्रतिको सम्मान थियो । सम्मानसँगै मिसिएको प्रेम थियो । उसले मेरा हरेक कुराको मिहीन ढंगले ख्याल राख्छ भने मैले उसका कुराहरू नमान्ने कुनै कारण थिएन । म उसले भनेजस्तै हाँस्न थालें । उसले भनेजस्तै किसिमले हिंड्न थालें । उसले भनेकै किसिमका लुगाहरू लगाउन थालें । उसले भनेकै नेलपलिस, लिपिस्टिक लगाउन थालें । कपालमा हेयर कलर र क्लिपहरू पनि उसकै छनोटमा लगाउन थालें ।

र, एक साँझ् म ऐनाअगाडि उभिएँ । एकछिनसम्म हेरें ऐनामा आफ्नो प्रतिबिम्ब । ऐनामा म थिइनँ, ऊ थियो । ऐनामा म हाँसिरहेकी थिइनँ, ऊ हाँसिरहेको थियो । साथीहरूले सोध्न थाले, “तेरो हाँसो कता हरायो ? तैंले किन यस्तो अप्ठेरो लुगा लगाएको ? तँ अचेल किन अर्कै अर्कै भएको ?”

साथीहरूको प्रश्नले म झ्स्किएँ । राति फेरि म आफ्नै कोठाको ऐनाअगाडि उभिएँ । एकपल्ट उसले रोजेको लुगा लगाएर हेरें, अनि एकपल्ट आफूलाई बानी परेको लुगा लगाएर हेरें । एकपल्ट उसले रोजेको रंगको नेलपलिस, लिपिस्टिक लगाएर हेरें । अनि फेरि मलाई मनपर्ने रंगका नेलपलिस, लिपिस्टिक र बिन्दी लगाएर हेरें । अचम्मै भयो, उसले रोजेका कुराहरू लगाउँदा ऐनामा मैले उसलाई देखें । आफूलाई मनपर्ने कुराहरू लगाउँदा ऐनामा मैले आफूलाई देखें । उसले सिकाए जसरी हाँस्दा ऐनामा मैले उसलाई देखें । पहिला जस्तै हाँस्दा ऐनामा मैले आफूलाई देखें । त्यसपछि आफैंसित प्रश्न गरें, “मेरो ऐनामा मैले आफूलाई हेर्ने कि उसलाई ?”

जवाफ पाइनँ । यो जवाफहीनताले मलाई चरम यातना दियो । रातभरि त्यही यातना भोग्दै बिताएँ । एकाबिहानै उसको फोन आयो ।

“राति तिम्रो कोठामा को आएको ? कहिले तिमी र कहिले त्यो ऐना अगाडि किन उभिएको ?”

अब म पहाडबाट खसें । झ्सङ्गै लामो निद्राबाट बिउझ्एिँ । बल्ल पो थाहा पाएँ, उसले हरेक समय मेरो रेखदेख र केयर गरिरहेको थिएन, मेरो चियो गरिरहेको पो रहेछ । जब म साथीहरूसित रेस्टुरेन्ट जान्थें, ऊ सुटुक्क चियो गर्न आउँथ्यो । सुरक्षाका लागि उसले मेरो डेरामा सीसीटीभी जडान गरेको होइन रहेछ, मेरो चियो गर्नलाई रहेछ । म साथीहरूसित सिनेमा हेर्न जाँदा अन्तिम सिटमा ऊ पनि पुगिसकेको हुँदोरहेछ । मेरो मायाले डोर्‍याएर पुर्‍याएको त हुँदै होइन रहेछ, चियो गर्नका लागि पो रहेछ । “राति मेरो कोठामा अरू कोही थिएन । तिमी थियौ र म थिएँ । कहिले मेरो ऐनाअगाडि तिमी उभिएका थियौ र कहिले म उभिएकी थिएँ ।” मैले अलिक कठोर हुँदै भनें ।

उसले बुझेन ।

“तिमी बदलियौ ।”

यति भनेर उसले आवेशमा फोन राखिदियो । मेरो जीउ थरर्र काँप्न थाल्यो । मभित्र दनदनी आगो बलेजस्तो भयो । म थचक्कै खाटमा बसें । रुन मन त लाग्यो, तर मैले आफूलाई सम्हाल्दै उभिएँ र फेरि ऐना अगाडि पुगें ।

मैले आफ्नो शरीर छामें । मलाई लाग्यो, मेरो शरीरबाट बिस्तारै स्त्री हराउन थाल्यो र पलाउन थाल्यो एउटा पुरुष । आफ्नो सोच र अहंका साथ, आफ्नो सक्कली अनुहार र नियतका साथ पलायो, पुरुष अर्थात् ऊ । अहँ, मैले यसो हुन दिनुहुँदैन । मैले आफूलाई गुमाउनुहुँदैन । फेरि ऐनामा गहिरिएर हेरें । हाँसे निकैबेर, जसरी म खुलेर हाँस्ने गर्थें । बल्ल ऐनामा मैले आफूलाई देखें । मेरो मोबाइलमा उसको फोन आइरहेको थियो । सम्भवतः उसले कुनै नयाँ उर्दी जारी गर्न चाहन्थ्यो । मैले यसो गर्नुपर्छ या यसो गर्नुहुँदैन भन्ने कुनै नयाँ आदेश जारी गर्न चाहन्थ्यो ।

मैले फोन उठाइनँ ।

comments powered by Disqus

रमझम