२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

दशैंमा घरलाई नयाँ ‘लुक्स’

Share:
  

वर्षौदेखि घर–कोठामा एउटै सेटअप र इन्टिरियर हुँदा निरस लाग्न सक्छ । स्वभावै अनुसार मानिस नयाँपन खोजिरहेको हुन्छ, त्यसैले समय–समयमा इन्टिरियर परिवर्तन गर्दा त्यसले नयाँपन र उत्साह दिन्छ । कहिलेकाहीं सानातिना परिवर्तनले मात्रै घरको माहोल नयाँ बनाइदिन्छन् ।

व्यस्त समय र भागदौडका कारण चाहेर पनि सबैले घरमा नयाँपन ल्याउन सकिरहेका हुँदैनन् । त्यसैले कार्यालयको छुट्टी पनि हुने र परिवारका सबै सदस्य पनि भेला हुने, दशैंको समय घरलाई नयाँ लुक्स दिन उपयुक्त हुन्छ ।

घरमा नयाँपन ल्याउन नयाँ सामान थप्नैपर्छ भन्ने छैन । केही सामान हटाएर, सामानहरुको स्थान परिवर्तन गरेर पनि घरलाई नयाँपन दिन सकिन्छ । वास्तवमा यसरी भएकै सरसामानको व्यवस्थापनबाटै घर–कोठामा नयाँपन दिन सक्नु पनि कला हो । पछिल्लो समय कोठालाई नयाँपन दिनका लागि भएका सामानहरुको उचित व्यवस्थापन गरी सकभर खुल्ला स्पेस बनाउने ट्रेण्ड चलेको इन्टिरियर डिजाइनर अंकुर लोहिया बताउँछन् । दशैंका बेला पाहुना र आफन्तको जमघट लाग्ने हुँदा पर्वहरुमा यो अभ्यास व्यावहारिक पनि भएको उनी बताउँछन् ।

अंकुर भन्छन्, “कम खर्चमा नयाँ लुक्स दिनका लागि भएका पर्दा, सोफा र कुसनका कभरहरुमा नयाँ बुट्टा भर्ने अर्थात् फ्लोरल टेक्स्चर दिने चलन पनि छ ।” खर्च कम गरेर नयाँ लुक्स दिनका लागि घर–कोठामा नयाँ पेन्ट पनि गर्न सकिने उनको सुझाव छ ।

इन्टिरियरमा नयाँपन ल्याउन

ल रङरोगनः घरका सबै कोठा रङ्गाउन फुर्सद मिल्दैन वा सकिंदैन भने किचेन, डाइनिङ र लिभिङ रुमको रङ फेर्न सकिन्छ । यसरी रङ्गाउँदा कोठाको एउटा मात्र भित्ता भिन्न रङले रङ्गाउने चलन चलेको छ । यसले समय र खर्च दुवैको बचत हुन्छ भने नयाँपन पनि आउँछ । यसरी रङ लगाउँदा अरु भित्तासँग मिल्ने गरी लाइट वा डार्क शेडको रङ लगाउनुपर्ने वा कोठाको फेब्रिक र फर्निचरसँग पनि मिल्ने गरी रङ लगाउनु उपयुक्त हुन्छ । त्यस्तै किचेन र डाइनिङ्गका भित्तामा टायल राखेर पनि नयाँ ‘लुक्स’ दिन सकिन्छ ।

ल फर्निचरः नयाँ फर्निचर किनेर वा भएका फर्निचर पनि फरक तरिकाले सजाएर कोठामा नयाँपन ल्याउन सकिन्छ । अहिले बजारमा पोर्टेबल तथा फोल्ड गर्न सकिने फर्निचरहरू प्रचलनमा छन् । पुराना फर्निचरले जस्तो ठूलो ठाउँ नओगट्ने यी फर्निचरले घरलाई ‘स्मार्ट लुक’ दिन्छन् ।

ल साजसज्जाः घरलाई नयाँपन दिनका लागि साजसज्जाको मुख्य भूमिका हुन्छ । चित्रकला, मूर्ति, माटाका भाँडा, कलात्मक सामग्री, सो लाइट जस्ता सजावटका सामग्रीहरु राखेर कोठाको इन्टिरियरमा नयाँपन ल्याउन सकिन्छ । कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर पनि इन्टिरियरमा परिवर्तन गर्न सकिन्छ । अतिथिको ध्यानाकर्षण गर्न ढाकाका कपडा, हस्तकला, माटाका मूर्ति तथा फ्लोरिङ क्यान्डल आदि प्रयोग गर्न सकिन्छ ।

ल इन्डोर प्लान्टः यदि केही नयाँ चेन्ज गर्न सकिएन भने ताजा फूल लबी, मनी प्लान्ट, आकर्षक फूलदानीहरुको प्रयोगले कोठा सजाएर पनि घरलाई नयाँ लुक्स दिन सकिन्छ । तामाको आरीमा पानी र फूल सजाउँदा घर थप सुन्दर देखिनुका साथै पर्वको अनुभूति पनि गराउँछ ।

comments powered by Disqus

रमझम