करणबहादुरले जर्मन विज्ञसँग विद्यावारिधि गर्दै गर्दाको काम र त्यसपछिको केही थप कामलाई लिएर हरपेटोफाउना अफ नेपाल (सन् २००४) पुस्तक लेखे । इन्टरनेशनल यूनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) नेपालका तत्कालीन नेपाल प्रतिनिधि सागेन्द्र तिवारीको पनि उक्त पुस्तकमा लेखकका रूपमा नाम छापियो । विज्ञ, जानकार र काममा संलग्न नभए पनि हाकिम भएकै भरमा सम्बन्धित कार्यालयले प्रकाशन गर्ने पुस्तक तथा लेखहरूमा उसको नाम राख्नैपर्ने लाजमर्दो चलन नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागमा अझै छ ।
शाह र तिवारी लिखित पुस्तकमा नेपालमा पाइएका २० भिन्न जन्तु प्रजातिलाई पाहा भनिएको छ । तीमध्ये कतिपयको हिजोआज वैज्ञानिक नाम फेरिएका छन् । पाहालाई अत्यन्तै स्वादिष्ट मासुका रूपमा उपभोग गर्ने प्रचलन छ । उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा पाहाको मासु नखाने शायदै छन् ।
ठूला जन्तुको पछाडि
डा. तीर्थबहादुर श्रेष्ठ लिखित पुस्तक नेपालः नखुलेका पाटाहरू (२०६६) मा नेपालका प्राकृतिक सम्पदा र जैविक विविधताबारे सविस्तार बयान छ । २०५७ सालदेखि हिमाल मा प्रकाशित लेखहरू समाविष्ट पुस्तक विशेषतः जैविक विविधताप्रति रुचि राख्नेका निम्ति एक दस्तावेज हो ।
डा. श्रेष्ठले लेखे जस्तो हाम्रा जैविक विविधताको वास्तविक अवस्थितिबारे सरोकारवाला माझ पुर्याउनुपर्ने कैयौं सन्दर्भ ठाउँ विशेषमा प्रशस्तै भेटिन्छन् । यस्ता सन्दर्भ देख्दा लाग्छ, नेपालमा जीवजन्तु अध्ययन, अनुसन्धान तथा संरक्षणसँग सम्बन्धित सरोकारवालाहरूले गर्न धेरै बाँकी छ । यसो हुनुको कारण, हामीकहाँ विशेषतः ‘वन्यजन्तु संरक्षण’ भनेर हात्ती, गैंडा, बाघ, भालु, हिमचितुवाको संरक्षणलाई मात्रै बुझ्नु हो । किनभने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ) नेपाल, जुलोजिकल सोसाइटी लण्डन, नेपाल शाखा, आईयूसीएन, राष्ट्रिय प्रकृति संरक्षण कोष आदिले उल्लिखित जन्तुहरूबाहेक अन्यलाई महत्व दिंदैन । उनीहरू ठूला जन्तुका प्रजातिलाई भने ‘फ्लागसिप स्पेसिस’ भन्दै महत्व दिन्छन् । विडम्बना भन्नुपर्छ, सम्बन्धित सरकारी निकाय, संघ–संस्था र अनुसन्धानकर्ताहरू समग्र वन्यजन्तु संरक्षणमा होइन, सीमित ठूला जन्तुका पछि कुदिरहेका छन् ।
उपरोक्त अन्तर्राष्ट्रिय संस्थाहरूले वन्यजन्तु संरक्षण लगायत काममा वार्षिक अर्बौं रुपैयाँ खर्च गर्छन् । हाम्रा वन्यजन्तु संरक्षण सम्बन्धी नीति–निर्माताहरू पनि उल्लिखित संघ–संस्थाहरूको रुचि अनुसार ठूला जन्तुहरूको मात्रै अध्ययन, अनुसन्धान र संरक्षण हुनुपर्ने ठान्छन् । सानो वन्यजन्तुमा हिउँचितुवासम्म परेकाले हामीकहाँ पछिल्लो दशक यसको पछिलाग्ने थुप्रै वन्यजन्तुविद् छन् । यसैले हामीकहाँ पाइएका थरीथरीका चितुवा प्रजातिका नाम नेपालको संरक्षण सम्बन्धित निर्देशिका आदिमा समावेश भइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ वन्यजन्तु संरक्षण सम्बन्धी हाम्रो मुख्य ऐन हो । यसमा ‘वन्यजन्तु भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पक्षी, घस्रिने जन्तु, माछा, भ्यागुता जाति र कीरा–फट्याङ्ग्रालाई सम्झनुपर्ने र फुल पार्ने जन्तुको फुल समेतलाई जनाउने’ उल्लेख छ । यो ऐन अनुसार पनि ठूला जनावर बाहेक अन्य हजारौं वन्यजन्तुबारे हामीकहाँ खोजीनिती गर्न आवश्यक रहेको देखिन्छ ।
पाहाको शिकार
त्यहाँ पाहा मार्न हुन्न भन्ने सर्वसाधारणलाई मात्र होइन, वन्यजन्तु संरक्षण अभियन्ताहरूलाई समेत थाहा छैन । उनीहरू निष्फिक्री पाहा मारेर खाने गर्छन् । स्थानीयवासीले पाहा विशेषतः असार, साउन र भदौमा मार्ने गर्छन् ।
पाहा शिकारीका अनुसार, पाहा मार्न रातको समयमा उपयुक्त हुन्छ । पाहा ढुंगाको कापबाट रातमा चर्नका लागि निस्कन्छ । यसरी बाहिर निस्केको पाहालाई उज्यालो देखायो भने एकनास हेरिरहन्छ । शिकारीले टर्चलाइटको उज्यालो देखाएर पाहालाई सजिलै समाउँछन् । बत्ती निभाउँदा भने पाहा तुरुन्तै उफ्रेर भाग्छ ।
कुन–कुन प्रजातिको पाहा पाइन्छ भनेर अन्नपूर्ण गाउँपालिकाको वनमा यो पंक्तिकार २०७४ को भदौयता पाँचपटक पुगेको छ । गएको जेठमा त्यहाँ पुग्दा वर्षेनि पाहा मार्न जानेहरूलाई पाहाको नमूना राखिदिन विशेष अनुरोध गरेका थियौं । मिरिस्ती खोला जलविद्युत् परियोजनाको वातावरण शाखा कार्यालयमा प्रत्येक प्रजातिको एक–एक वटा नमूना उपलब्ध गराउन भन्दै विशेष रसायन र बट्टा छाडिएको थियो ।
पछिल्लो पटक त्यहाँ पुग्दा, अन्नपूर्ण गाउँपालिका–४ का नाच्र्याङ बेसी गाउँका तीन जना युवाले गएको भदौमा एकै रात ५६ वटा करीब तीन भिन्न प्रजातिका पाहा मारेको थाहा भयो । शिकारीहरूसँग भेटघाट गर्दा आफूहरूले पाहा मारे पनि वातावरण शाखा कार्यालयमा दिन नसकेको बताए । नमूना नराखिदिएकोमा भन्दा पनि यत्रो संख्यामा पाहा मारेको सुनेर हामी मर्माहत भयौं ।
ती युवाले नाच्र्याङ लेक गाउँबाट उत्तरतर्फ रहेको झण्डै एक दिनको पैदल दूरीमा अवस्थित एक ओडारमा बास बसेर पाहाको शिकार गरेका रहेछन् । त्यहाँ नीलगिरि हिमाल र अन्नपूर्ण प्रथम हिमालबाट बगेर आउने खोला मिसिएर बनेको निकै ठूलो खोला छ । त्यो ठाउँसम्म हम्मेसी कुनै गाउँले पुग्दैनन् । जन्तुविज्ञका रूपमा पहिलो पटक कुलप्रसाद लिम्बू र राजेन्द्र बसौला गएको जेठमा त्यहाँ पुगेका थिए । त्यसबेला उनीहरूले एउटा पनि पाहा भेटेनन् ।
भलाकुसारीका क्रममा ती युवाहरूले कतै नाम उल्लेख नगर्ने शर्तमा पाहा मार्दै गरेको र सुकुटी बनाएको तस्वीर दिन सहमत भए ।
उनीहरूका अनुसार, उच्च हिमाली भेगबाट ल्याइएका पाहाहरू गाउँलेहरूले तँछाड–मछाड गर्दै किन्दा रहेछन् । एउटा ताजा पाहा गाउँमा रु.५०० देखि रु.६०० सम्ममा बिक्री हुँदोरहेछ । बिक्री नभएको औषधिका लागि सुकुटी बनाएर राखिंदो रहेछ । हामीले नमूना राखिदिनेलाई २–४ सय रुपैयाँ दिने भनेका थियौं । कम दाम दिने भनेकैले नराखिएको भन्ने बुझ्यौं । भनेको दाम दिने भनेपछि उनीहरूले अर्को साल बर्खामा मारेको पाहा राख्ने बताएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा हामीले यसपटक पाहा मार्ने एक टोली मात्र भेटेका हौं । त्यहाँ त्यस्ता कति टोलीबाट वर्षेनि कति संख्यामा पाहा मारिन्छन् ? त्यहाँ दुर्लभ प्रजातिका पाहा भएको भए यसरी शिकार गर्दै जाँदा तिनीहरू जानकारीमै नआई लोप हुन सक्छन् । यसबारे ध्यान दिन जरूरी छ ।