२५ असोजमा ललितपुरको पाटनढोकामा आयोजित मदन पुरस्कार वितरण समारोहको दृश्य हो, यो । यसपालि मदन पुरस्कार गुठीले बाल–साहित्यमा पाँच दशकदेखि योगदान पुर्याएका शान्तदास र ऐतिहासिक पात्र योगमाया न्यौपानेको योगदानमा आधारित उपन्यास ‘योगमाया’ का लागि नीलमलाई पुरस्कार अर्पण गरेको हो ।
समारोहमा शान्तदासले आफूलाई नेपाली भाषामा लेख्न प्रेरित गर्ने गोपालप्रसाद रिमाललाई स्मरण गरे । उनले भने, “२०१५ सालतिर अंग्रेजी भाषामा निबन्ध संग्रह तयार गरेर भूमिका लेखिदिन अनुरोध गर्न जाँदा ‘तिम्रा लेखहरु राम्रा छन्, नेपालीमा लेख्नू, अनि म भूमिका लेखिदिन्छु’ भनेर नेपाली भाषामा लेख्न लगाउने उहाँलाई आज म झलझली सम्झिरहेछु ।”
शान्तदासले २०१६ सालतिर ‘साहित्य’ पत्रिकामा आबद्ध भएको, २०१७ सालपछि ‘बालसेवा विद्याश्रम’ को प्रधानाध्यापक भई शिक्षा क्षेत्रसँग जोडिएको र ‘तारा’ नामको बालपत्रिका निकालेको प्रसंग सुनाउँदा समारोहका श्रोता शान्त भावमा थिए ।
त्यस्तै, नीलम कार्की निहारिकाले जहानियाँ शासनको समयमा क्रान्तिको ज्वाला बनेर निस्किएकी योगमायाबारे जान्न–बुझ्न आफूले ढिला गरेकोमा दुःख व्यक्त गरिन् । उनले योगमायाको योगदान भुल्ने हिजोको समाजलाई प्रश्न गरिन्, “तिम्रो समाज सुधारको अग्रणी कदमलाई इतिहासको पैतालामुनि किन दबाइराखियो ?” योगमायालाई नारी मुक्तिसँग मात्र जोडेर हेरिंदा अन्याय हुने उनको भनाइ थियो ।
आफ्ना दिवंगत गुरु दाहाल यज्ञनिधिलाई स्मरण गर्दैदेखि भावुक बनेकी नीलम सडक दुर्घटनाबाट दिवंगत भएका दाजु, बुवा र भाउजूलाई स्मरण गर्दैगर्दा भक्कानिइन् । आफ्नो पहिलो उपन्यास प्रकाशन गर्न आमाले सञ्चयकोषको रकम दिएको, पुरुषको सफलतामा नारीको हात रहे जस्तै आफ्नो सफलतामा डा. भाष्कर कुँवरको हात रहेको प्रसंग पनि उनले छुटाइनन् ।
गुठीलाई प्राप्त वर्षभरि प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई मदन पुरस्कार र नेपाली भाषा, संस्कृति, साहित्य लगायत विविध क्षेत्रमा विशेष योगदान गरेको व्यक्तिलाई जगदम्बा–श्री अर्पण गरिन्छ । दुवै पुरस्कारको राशि दुई–दुई लाख रुपैयाँ छ । समारोहमा प्रकृतिविद् डा. तीर्थबहादुर श्रेष्ठले ‘म र मेरो नेपाल’ शीर्षकको विद्वत प्रवचन दिएका दिए । हिमशिखरलाई बचाइराख्नुपर्ने, लेकाली क्षेत्रको वनस्पतिबाट देशले दीर्घकालीन उपयोगिता लिइरहनुपर्ने, पहाड–पर्वतलाई फलफूल, तरकारी र जडीबुटी खेतीले समृद्ध बनाउन सकिने, तराई–मधेश क्षेत्रमा वन्यजन्तु जोगाउँदै अन्नबाली उत्पादन बढाउनुपर्नेमा उनको जोड थियो ।
ध्रुवसत्य परियार