मध्यरात
माथि चिहानडाँडामा
‘...घ्रुङ्ऽऽऽ घ्रुङ्ऽऽऽ... !’
बाघ डुक्रिएको सुनिन्छ भने,
त्यो लठेप्रे कान्छो जिउँदो छ भन्ने सूचना हो,
गाउँमै छ भन्ने घोषणा हो ।
जन्मेपछि मानिसले खेल्नुपर्ने कस्तो–कस्तो खेल !
लठेप्रो कान्छो
कि जन्मकैद
कि पर्ला दश वर्ष जेल,
कि मर्ला ‘फेक इन्काउन्टर’ मा भनेको
कतिपल्ट उधौलीमा गिरफ्तार हुन्छ
उभौलीमा छुट्छ
चुनावअघि हिरासत जान्छ
चुनावपछि जितौरी जुलूसमा हुन्छ
उसको नाममा ‘फर्जी’ मत हालेर विजयी हुन्छ जो
त्यसकै पछि च्याब्रुङ नाचिरहेको दृश्य
दामी अनि हरामी देखिन्छ ।
जब गाउँमा च्याब्रुङ बज्दै बज्दैन
कि गाउँलाई जुठो परेको हो
कि लठेप्रे कान्छो तारेख धाउन राजधानी गएको हो
यो फुच्चे पृथ्वीको अग्लो कञ्चनजङ्घामुनि
को के गरिरहेछ !
सरकार बेखबर नहुनुपर्ने हो
जो समृद्धि र शान्तिको जिङ्गल रटाइरहन्छ
तर गाउँमा जब युद्ध, अपहरण, बलात्कार, गौहत्या
या यस्तै कुनै कचिङ्गल हुन्छ
पक्रिइन्छ लठेप्रे कान्छोलाई नै
कि ऊ आजन्म अपराधी हो र उसको खुनको डिएनए चुस्छ
कि उसको लाटो जिब्रोमा कुनै बाठो अपराधीको नाम हुन सक्छ
र, असी हजार मेगावाटको करेन्ट झोंस्छ ।
अपमान, यातना, विश्वास, फरेब, मुद्दा–मामिला
के के जितेपछि मानिस मानिस हुन्छ ?
लठेप्रो कान्छो जब झूटो मुद्दामा निर्दोष साबित हुन्छ
‘च्यङ्ऽऽऽ च्यङ्ऽऽऽ च्यङ्ऽऽऽ,
च्यङ् धुम् च्यङ्ऽऽऽ’’
फिंजारेर खुशी मयुर नाच नाच्छ च्याब्रुङ बजाउँदै
जब गाउँमा चट्याङ झर्छ, हुरी चल्छ, हिउँ पर्छ
फेरि ऊ नै गिरफ्तार हुन्छ
कि राज्यले दोषीलाई दिने सजाय
र पीडितलाई थमाउने सानदार न्याय
बारबार किन ऊ नै हुन्छ ?
यो बर्खे रात अनि दर्के झरी–
जब कि दुईतिहाइ झ्याउँकिरीहरु
घङारुको रातो झ्याङमा निदाइसके
विना गीत विना लोरी
नासपातीको रुखमा तस्कर चमेराहरु ब्यूँझिसके
लेकबेसी थर्किने गरी बजिरहेछ फेरि च्याब्रुङ
‘‘च्यङ् घ्रुङ् घ्रुङ्ऽऽऽ च्यङ् घ्रुङ् घ्रुङ्ऽऽऽ !’’
होशियार !
यसपल्ट बाघ नाच नाचिरहेछ लठेप्रे कान्छो
‘घ्रुङ् घ्रुङ् घ्रुङ्ऽऽऽ घ्रुङ् घ्रुङ् च्यङ्ऽऽऽ !’