११-१७ कार्तिक २०७५ | 28 Oct - 3 Nov 2018

दशैंको मज्जा हिमाल सँग

Share:
  

हिमाल (२८ असोज–१० कात्तिक) आवरण ‘देशैको दशैं’ पढदा मज्जा लाग्यो । दशैं साँच्चै नै आम नेपालीको साझ पर्व बनिसकेको यसबाट प्रष्ट हुन्छ । एकदिने दशैं मनाउने गुल्मी, अर्घाखाँचीका बासिन्दादेखि महाभारत र कृष्णचरित्र गाउँदै एक महीने दशैं मनाउने थारू समुदायसँगै दशहरा मनाउने मधेशी समुदाय पनि दशैं संस्कृतिमा आफूखुशी सम्मिलित भएको थाहा पाउँदा दशैं विशेष नेपाली संस्कृतिको रूपमा विकास भइसकेको मान्न सकिन्छ । सेतो र रातो अक्षता पनि अब विवादको विषय रहेन/हुनुहुँदैन । दशैं करकापले होइन रहरले नै सबै नेपालीमाझ् स्वीकार्य हुँदै गएको छ ।

मूल आवरण ‘खुलेको÷फैलिएको दशैं’, टिप्पणी ‘अन्यत्र बलि, रसुवामा क्षमापूजा’, ‘थारूको सख्या र पैयाँ’, ‘दशैंको राजनीति’ विचार ‘दशैंको रङ बदलौं’, रिपोर्ट ‘अक्षताः मौलिक प्रचलन’, ‘दशैंका महिलाः खुशी पस्किनमै सीमित’, ‘उपभोगको चाड बजारको वर्चस्व’, ‘बिथोलिएको आञ्चलिकता’, ‘फौजीको खल्लो चाड’, संस्मरण ‘दशैंको सुवास’, अनुभूति ‘दमाईको दशैं’, ‘लाहुरेको त्यो दशैं’, परम्परा ‘दशहराः पहिले र अहिले’, प्रचलन ‘एकदिने टीका’, शाही शान ‘नारायणहिटीको मालश्री र मंगलधुन’ तथा ‘समुद्रपारिको दशैं’ हिमाल का संग्रहणीय खुराक हुन् । हिमाल ले दशैं अंकमा साहित्य लगायत साँच्चिकै पठनीय सामग्री पस्किएको छ । दशैं अंक हिमाल ले हामी सबैको दशैंलाई थप स्वादिलो बनाइदियो । धन्यवाद ।

अनुसा राना, अनलाइनबाट

साहित्य विशेष नै हिमाल विशेष !

हिमाल (२८ असोज–१० कात्तिक) को साहित्य विशेष सामग्री हिमाल कै साँच्चिकै विशेष सामग्री हो । यसपालिका कथा र कविता उत्कृष्ट छन् । दशैं विदामा हिमाल मा धेरै र राम्रा लेख÷साहित्य पढ्न पाउँदा आनन्द लाग्यो । दशैं अंकलाई विशेष बनाए जस्तै तिहार अंकलाई पनि विशेष रूपमा पस्कियोस् । शुभकामना ।

प्रितम सुनार, अनलाइनबाट

चिन्तित बनायो

हिमाल (२८ असोज–१० कात्तिक) रिपोर्ट ‘तातोपानी नाकाः ओझ्ेलमा परेको तीन वर्ष’ ले चिन्तित बनाएको छ । अरू देशमा भएको भए, महाभूकम्पलाई अवसरका रूपमा लिएर शीघ्र व्यवस्थापन भइसक्थ्यो । तर हाम्रो विडम्बना नै हुनुपर्छ, एकातिर विदेशीहरूले भूकम्पको बेला गरेको सहयोग राशि समेत खर्च हुनसकेको छैन भने अर्कातिर भन्सारमै काम र व्यवसाय गरेर बसेका १५ हजारभन्दा बढी नागरिकको खोसिएको रोजीरोटी अझै सरकारको प्राथमिकतामै नपर्नु लाजमर्दो कुरा हो । भूकम्पले ध्वस्त संरचना र क्षतिग्रस्त नाकाको स्तरोन्नति गरेर नेपाली नागरिकको रोजीरोटीको व्यवस्थामा सरकारको चाँडोभन्दा चाँडो ध्यान जाओस् । भूकम्पले जति चिन्तित तुल्याएको थियो त्यसभन्दा बढी चिन्तित सरकारको ढिलासुस्ती गर्ने र प्राथमिकतामा काम नगर्ने कार्यले बनाएको छ ।

भलु तामाङ, अनलाइनबाट

घुम्नैपर्ने १० ठाउँ !

हिमाल (२८ असोज–१० कात्तिक) गन्तव्य ‘दशैंमा घुम्ने १० ठाउँ’ शीर्षकले अन्योल बनायो । ‘घुम्नैपर्ने १० ठाउँ’ भनेको भए राम्रो हुनेथियो कि ! दशैंमा नभ्याउनेहरूले अरू बेला पनि घुम्न सक्नेथिए । दशैंमा घुम्ने भन्दा त धार्मिक स्थल मात्र हुन् कि भन्ने अन्योल हुन्छ ।

हिमाल ले १० उत्कृष्ट गन्तव्यको फेहरिस्त दिएर देश घुम्न चाहनेहरूलाई सजिलो बनाइदिएको छ । गन्तव्यको सूचीसँगै कसरी पुग्ने र खर्च कति लाग्छ भन्ने सूचना समेतले पाठकप्रति न्याय भएको छ । यस्ता खुराक हिमाल मा बारम्बार आइरहुन् ।

सुन्दर गुरुङ, अनलाइनबाट

प्रतिपक्ष कमजोर हुँदाको बेथिति

हिमाल (२८ असोज–१० कात्तिक) बेथिति ‘स्थानीय सरकारः बजेट सिमकोटको, रजाइँ खार्पुनाथको’ ले स्थानीय तहमा प्रतिपक्ष कमजोर हुँदा के कस्ता अपत्यारिला घटना हुनसक्छन् भन्ने उजागर भएको छ । तर यसमा मुख्य हात बैंकको भएको हुँदा बैंकलाई नै दोषी मानेर कारबाही गरिनुपर्छ । एक त विकट जिल्ला हुम्ला, त्यसमा पनि आफ्नो बजेट अर्कै गाउँपालिकाको खातामा पुगेर खर्च हुन्छ, कस्तो विडम्बना !

हरिश शाही, अनलाइनबाट

वन्यजन्तुको महत्व नबुझ्दाको परिणाम

हिमाल (२८ असोज–१० कात्तिक) वन्यजन्तु ‘पाहा बचाउने कसले ?’ ले हामीलाई सोचमग्न बनाएको छ । हुनत यस्तो हुनु भनेको कुनै पनि चिजको महत्व नबुझनुलाई पनि कारण मान्न सकिन्छ । पहिले त्यसको महत्व बुझनु पर्‍यो, अनि मात्र संरक्षण हुने हो ।

अशोक घिमिरे, अनलाइनबाट

comments powered by Disqus

रमझम