आख्यानकार नयनराज पाण्डेको संस्मरण कृति यार ले पद्मश्री साहित्य पुरस्कार–२०७४ पाएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट दिइने उत्ताm पुरस्कारबाट पुरस्कृत पाण्डे भन्छन्, “इमानदार लेखनप्रति पाठकहरूको स्नेह र स्वीकारोत्तिाm जतिको ठूलो पुरस्कार अरु केही हुन्न।”
पुरस्कार पाउँदा खुशी अवश्य लाग्छ । यार लाई यसरी पुरस्कृत गर्दा समग्रमा संस्मरण विधा नै सम्मानित भएको अनुभव भइरहेको छ ।
लेखन र पुरस्कारलाई कसरी व्याख्या गर्नुहुन्छ ?
लेखकले आफ्नो शब्द र कलमको सम्मान गर्न जान्नुपर्छ । त्यसपछि मात्र उसको लेखनले पाठकबाट सम्मानित हुने अवसर पाउँछ । इमानदार लेखनमा पाठकहरूको स्नेह र स्वीकारोक्ति जतिको ठूलो पुरस्कार अरु केही हुन्न । यसमा लेखकले जति मरिहत्ते गरे पनि हुन्छ । नगद राशि सहितका पुरस्कार त त्यसपछिका कुरा हुन् । इमानदार लेखनले ढिलोचाँडो आफ्नो महत्ता साबित गरेरै छाड्छ ।
यार अर्थात् साथीहरूबारे नै लेख्न अलि हतार गरे जस्तो लाग्दैन ? उनीहरूसँग फेरि भेट्दा आउन सक्ने प्रसंग वा अब थपिने ‘यार’ हरूबाट पाउन सक्ने नयाँ अनुभवलाई नकार्नुभएको हो वा ‘यार–२’ लेख्नुहुन्छ ?
यार–२ लेख्ने कुनै योजना छैन । यसमै मित्र र मित्रताका धेरै आयामको चर्चा गरेको छु । फेरि त्यही सेरोफेरोमा लेखें भने पात्र फेरिएला, कुराहरू दोहोरिनेछन् । रिपिटेशनले सिध्याउन सक्छ भन्नेमा सचेत छु ।
आजको लेखकको जिम्मेवारी के हो ?
लेखकलाई कुनै राजनीतिक दलले जिम्मेवारी दिने, कसैको आदेश र अजेन्डामा उसले लेख्ने होइन । सचेत लेखकले समय र समाजलाई आफ्नो किसिमले बुझिरहेको हुन्छ, जुन उसको लेखनमा प्रतिबिम्बित हुनुपर्छ । लेखकले समाज, समाजभित्रका चरित्र र समाजका अपेक्षाहरूलाई बुझ्न सकेन भने उसको लेखन शब्दको फजुल खर्च मात्र हुन जान्छ ।
अबको योजना के छ ?
म उभिने जमीन आख्यान हो, आख्यानमै लाग्छु । फेरि मधेशकै कथा बुन्दैछु ।