११-१७ कार्तिक २०७५ | 28 Oct - 3 Nov 2018

परिवर्तन र संस्कार

Share:
  
- मनीष झा
राजनीतिक परिवर्तनसँगै व्यवहार र संस्कार परिवर्तन नगर्ने हो भने हाम्रो लागि समृद्घि सपना मात्र रहनेछ।

भानु भट्टराई
गएको सात दशकमा मुलुकमा सात वटा संविधान बने र ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो, यो प्रक्रियाको उद्देश्य परिवर्तन थियो । अहिले देश जुन अवस्थामा छ, परिवर्तनका दृष्टिकोणले यो पनि पर्याप्त र सन्तोषजनक छैन । नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले समाज, संस्कार र शासक पुस्तकमा लेखेका छन्, ‘यो देश कसरी चल्नेछ भन्ने चिन्ता छैन, यो देश यसरी नै चल्नेछ कि भन्ने चिन्ता छ ।’ विद्यमान परिस्थितिबाट असन्तुष्ट भएपछि हामीले धेरै पटक पद्धति र प्रक्रिया परिवर्तन त ग¥यौं, आफ्नै संस्कार परिवर्तन गर्ने प्रयास भने गरेनौं ।

हार्वर्ड बिजनेस रिभ्यू मा प्रकाशित एक लेख अनुसार, संस्कारका तीन प्रमुख गुण हुन्छन्ः विधि, व्यवहार र अभ्यास । जबसम्म हामीले विधि, त्योसँग सम्बन्धित व्यवहार र त्यसको अभ्यास परिवर्तन गर्दैनौं, तबसम्म हामी परिवर्तनको लागि तयार छैनौं भन्ने बुझ्न्छि । परिवर्तनका लागि दशकौं समय गुजारिसक्दा पनि हामीले स्पष्ट अनुभूति गर्न सक्ने परिवर्तन अझै आएको छैन ।

पछिल्लो आम निर्वाचन परिणामले नेपाली कांग्रेसलाई पहिलोबाट तेस्रो स्थानमा खुम्च्याइदियो । तर, उक्त पार्टीका शुभेच्छुक र केही कार्यकर्ता समेत चुनावी परिणामबाट उति झ्स्किएनन् । किनभने कांग्रेसको यो हविगत हुन्छ भन्ने अन्दाज उनीहरूलाई थियो । यदि कांग्रेसले आफ्नो दलभित्रको संस्कारमा परिवर्तन ल्याएन भने उसको विकल्प खोजिनेछ भन्ने उनीहरू ठान्थे र केहीले विकल्प खोजे पनि । त्यो निर्वाचनको अजेन्डा त्यसबेला विद्यमान अवस्थामा परिवर्तन नै थियो, परिणाम पनि परिवर्तनकारी देखियो ।

चुनावी परिणाममा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा प्रचण्ड बहुमत आएपछि प्रतिपक्षीका कैयौं मतदाता पनि खुशी नै थिए । किनभने संघीय प्रणालीको नयाँ अभ्यासमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार बनेपछि अब देशले स्थिरता र समृद्धि पाउनेछ भन्ने कुराले उनीहरूसँगै धेरै जनतालाई हौस्यायो ।

जनतालाई दैनिक जीवनमा थिलथिलो पारेको यातायात क्षेत्रको सिन्डिकेट हटाउन सरकारले देखाएको तत्परताले देशमा बलियो सरकार छ भन्ने आभास हुन थाल्यो । सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ समेत गरियो । गृहमन्त्रीले निर्धारित समयभित्र आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई पनि कारबाही गर्नेे चेतावनी दिए । पर्यटन क्षेत्रमा पनि सुधार देखियो । हामी निजी क्षेत्रका व्यवसायी ‘अब यो देशमा काम गर्ने वातावरण सहज हुनेभयो’ भनेर उत्साहित भयौं । तर, त्यो परिवर्तनको आभास क्षणिक मात्र रहेछ भन्ने बुझन धेरै दिन कुर्नु परेन । सरकारले थालेर राम्रो भनेर चर्चा पाएका काम लोकरिझयाइँ मात्र साबित भए ।

सिन्डिकेट हटाउने अभियान हल्ला मात्रै साबित हुनु, अदालतबाट हत्या अभियोगमा कैद सजाय काटिरहेकालाई माफी दिइनु, राज्यले दिने पदकको जथाभावी वितरण गरिनु र पछिल्लो समय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई कानूनको दायरामा ल्याउन सरकार निरीह हुनु जस्ता कार्यबाट वर्तमान सरकारको संस्कार पनि अरूको भन्दा फरक नभएको प्रष्ट भयो ।

सरकार गठनसँगै प्रधानमन्त्रीको दुईतिहाइको दम्भ र जोशले बजार राम्रै ततायो । तर, त्यो जोशले विधि परिवर्तन गरेन । राजनीतिक नियुक्तिदेखि राज्य सञ्चालनका अन्य प्रक्रियामा परिवर्तनको अनुभूति हुन सकेन । ताजा उदाहरण छ, उहिलेका राजा झैं अहिले जनप्रतिनिधिले दशैंको टीका प्रदान गर्ने अभ्यासले यो सरकार परिवर्तन हुन चाहेको छैन भन्ने देखाएको छ ।

अहिले तत्कालका लागि व्यवस्थाको विकल्प कसैले खोजेको छैन र लामो राजनीतिक संक्रमण भोगेका जनतालाई सरकारको विकल्प खोज्ने हतारो पनि छैन । थाहै छ, विकल्पमा आउने पनि पुरानो संस्कारधारी नै हुनेछन् । हामीले राजनीतिक परिवर्तनसँगै विधि, व्यवहार र अभ्यासको संस्कार परिवर्तन नगर्ने हो भने कहिल्यै समृद्धि हासिल गर्न सक्ने छैनौं ।

comments powered by Disqus

रमझम