सर्वत्र हाईहाई रहेको अंग्रेजी भाषाकै उदाहरण हेरौं, छोराछोरीले बोर्डिङ स्कूलमा पढेर अंग्रेजीमा कुराकानी गरेको देख्दा फुरुङ्ग पर्ने र त्यसैलाई हरदम घोकाइरहने हाम्रो बानी छ । विश्वव्यापीकरणको समयमा अंग्रेजी भाषा सिकाइलाई नकार्न सकिंदैन । तर, अरूतिर फर्किंदा आफ्नो चीजलाई उपेक्षा गर्ने प्रवृत्तिले मातृभाषाको घाँटी निमोठिरहेको यथार्थप्रति भने हामीले खासै हेक्का राखेका छैनौं ।
यहाँ, सन्दर्भ तामाङ भाषाको हो । तामाङका बालबच्चाले सरकारी विद्यालयमा नेपाली भाषा सिकेर नेपालीमा फरर कुराकानी गरेको देख्दा अभिभावक रमाउने गर्छन् । तर, ती नानीहरूले तामाङ भाषा सिक्नु र अभ्यास गर्न पाउनु त परको कुरा, अलिअलि आउने शब्दहरू पनि बिर्सन थालेका छन् । यस्तो किन भयो ? भाषा संरक्षणमा सम्बन्धित जाति र समुदायको तत्परता के हुनुपर्ने हो र कति भएको छ ? यसतर्फ धेरैको ध्यान गएको छैन ।
रसुवा जिल्लाको तामाङ बाहुल्य भार्खु गाउँमा पुरानो तामाङ भाषाको एउटै शब्द मात्र जीवित छ, ‘लुगु—लुगु’ । कसैलाई ‘यो खबर भनिदिनुस् है’ भन्नुपर्दा उक्त शब्दको प्रयोग गरिन्थ्यो रे ! ठूलोभार्खु गाउँको पुरानो नाम ‘कतोक् ह्युल’ रहेछ । पछि ‘बर्गो’ भन्न थालिएछ । देशको अञ्चल र जिल्लाको राजनीतिक नक्शांकन गरिंदा नाम ‘ठूलोभार्खु’ राखियो । मातृभाषा बोल्न जान्नेहरूले आफ्नै भाषाबाट राखिएको नाम उच्चारण गर्दा अपनत्व र गौरव अनुभूति गर्छन् । तामाङ नै भए पनि मातृभाषा नजान्नेले पुरानो नाम उच्चारण गर्न कठिनाइका कारण नयाँ नाम रुचाउँछन् ।
कुनै पनि भाषा जन्मिन युगौं लाग्ने भएकाले त्यसको ठूलो महत्व हुन्छ । भाषा एउटा जाति वा समुदायको सभ्यतासँग जोडिएको हुन्छ । त्यसको मृत्यु हुँदा त्यो जाति वा समुदायको सभ्यता, इतिहास, कला, संस्कृति नै अन्त्य हुन्छ । कुनै पनि मातृभाषा मृत्युशøयामा पुग्न लामो समय लाग्दैन । उपेक्षाको कुनामा खुम्चिएको संस्कृत भाषाकै उदाहरण हेरौं । संस्कृतमा लेखिएका गहन ग्रन्थहरू र त्यहाँभित्रका मूल्यवान् श्लोकहरू भाषाको अज्ञानताका कारण आज धेरैका लागि बेकामे बनेका छन् । लाग्छ, हामी हीरा–मोती मिल्काएर पित्तलको गहना पाउन मरिहत्ते गरिरहेका छौं ।
बौद्ध धर्मको नम्दर, लोर्गी, पेतम् लगायत पुराना ग्रन्थहरू पुराना भाषामा लेखिएका हुन्छन् । त्यो भाषा बुझयो भने मात्रै ती ग्रन्थहरू काम लाग्ने भए । भार्खु गाउँमा तिहारमा भाइटीकाको भोलिपल्ट बिहानदेखि साँझ्सम्म ‘चेन् क्षेबा’ नामको लोकनृत्य देखाइन्छ । ‘चेन् क्षेबा’ मा प्रस्तुत गरिने नम्दर (एक प्रकारको गीत) हरू सम्बोटा (उचेन्) लिपिमा लेखिएका हुन्छन्, भाषा चाहिं वैदिक भोटेली तामाङ । यस्ता नम्दरहरूमा नैतिक शिक्षा, उपदेश, उत्प्रेरणा प्रवाह गर्ने फरक–फरक कथा बुनिएका हुन्छन् ।
युद्धको नम्दरमा नेपाल–तिब्बत युद्ध प्रस्तुत गर्दै खम्पा (तिब्बती सेना) र नेपाली सेनाको भेषभूषामा सजिएर हतियार सहित नाचिन्छ । नम्दर मार्फत युद्धले अशान्ति मात्र ल्याउँछ भन्ने सन्देश दिएर शान्तिको बाटो देखाइन्छ । यस्तै, शिकारीहरूले वन्यजन्तुलाई मार्न लाग्दा लामाले जनावरलाई यसरी मार्नुहुँदैन भन्दै नम्दर गाएर सम्झउँछन् र ज्यान बचाउँछन् । महिलाहरू वैवाहिक जीवनमा भोग्नुपर्ने संघर्ष र कठिनाइलाई ‘अप्च्या गोम्पो’ को नम्दर गाएर नाच्छन् ।
ती ग्रन्थहरूको अर्थ बुझन पुरानो भाषाको ज्ञान जरूरी हुन्छ । यसैले नयाँ पुस्ताले ती कुरा बुझन सक्दैन । पुराना सबै नराम्रा र नयाँ सबै राम्रा हुँदैनन् भनेर नयाँ पुस्तालाई बताउन पनि मौलिक भाषाको संरक्षण आवश्यक छ ।
धार्मिक दृष्टिकोणबाट हेर्दा अदृश्य शक्तिहरू पनि हुन्छन् । अदृश्य शक्तिलाई खुशी पार्न खानेकुरा दिएर टाढा धपाउने वा पूजा (कुरिम) गरेर थामथुम पारिन्छ । मानव समुदाय र अदृश्य शक्तिहरूबीच मध्यस्थताको भूमिका लामा र बोन्पो (झँक्री) ले पुराना मौलिक भाषा मार्फत गर्छन् ।
अबको बाटो
मातृभाषाको संरक्षण गर्न विद्यालय तहदेखि नै तारतम्य मिलाउनुपर्छ । ग्रामीण भेगका विद्यालयहरूमा अरू भाषासँगै मातृभाषाको ज्ञान पनि सँगसँगै दिने व्यवस्था मिलाउनुपर्छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक राख्नुपर्छ । आफ्नो ठाउँमा मातृभाषा पढ्न पाए बालबालिका आफ्नो भाषा, संस्कृति र गाउँठाउँसँग नजिकिन्छन् । परिवारका सदस्य तथा छिमेकीहरूसँग पनि नजिक रहन पाउँछन् । शहरका महँगा स्कूलमा खर्चिने रकम अन्य व्यवसायमा लगानी गर्न सकिन्छ । यो कुरा स्थानीय सरकारले मनन गरेर लागू गर्नुपर्छ ।
तामाङ अधिवक्ता हुन् ।