धार्मिक स्थल सञ्चालन गर्न सामान्यतया प्रवेश शुल्कलाई आर्थिक स्रोत बनाइँदैन । दाताले राखेको गुठी जग्गाको आयस्ता तथा भक्तजनले चढाएको दान–दक्षिणाबाट व्यवस्था गरिन्छ । सरकारले पनि बजेट छुट्याएर संरक्षण प्रदान गरेको हुन्छ । धार्मिक क्षेत्रमै रहेका कतिपय संग्रहालय वा अन्य स्थलमा भने अवस्था हेरी प्रवेश शुल्कको व्यवस्था गरिएको हुनसक्छ । नाफा कमाउने उद्देश्यले निजी लगानी गरी सञ्चालित स्थलमा बाहेक अन्यत्र विशेष परिस्थितिमा मात्र सहयोगको नाममा शुल्क लगाइएको हुन्छ ।
लुम्बिनीको धार्मिक क्षेत्रमा प्रवेश शुल्क उठाउने सोच आजको होइन । प्रवेश शुल्क उठाउने र आम्दानी बढाउने कुरामा यसअघि धेरै पटक छलफल भइसकेका छन् । प्रवेश शुल्क जबर्जस्ती लगाए लुम्बिनी विकास कोष परिसरमा आत्मदाह गर्ने भनी भिक्षु सुदर्शन महास्थविरले उद्घोष गरेपछि कोष पछाडि हटेको थियो । यी भिक्षु दिवंगत भएको केही वर्षपछि नै २०६५ सालमा कोषले पुनः सोही निर्णय गर्यो । त्यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले प्रवेश शुल्क नउठाउनू भन्ने आदेश जारी गर्यो । यसमा अटेरी गरी कोषले विदेशी नागरिकसँग भने शुल्क उठाउन थाल्यो ।
१ भदौबाट भने भिक्षु–भिक्षुणी तथा रूपन्देही, कपिलवस्तु र नवलपरासीका बासिन्दा बाहेकका सर्वसाधारणसँग रु.२० र विद्यार्थीसँग रु.१० उठाउन थालेको छ । यस्तै, दृश्य छायांकन तथा फोटोग्राफीका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ । जबकि अवलोकनकर्ताले खिच्ने फोटो÷भिडियोबाट विना लगानी लुम्बिनीको प्रचारप्रसार हुँदै आएको छ ।
लुम्बिनीका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्छ । उक्त बजेट नेपाली जनताबाट उठाइएको करबाट बनेको तथ्यलाई भुल्नुहुँदैन । लुम्बिनी पुग्ने नेपालीहरू स्वयं करदाता हुन् । प्रवेश शुल्क संकलन बौद्ध भावना अनुरूपको कार्य होइन । बरु बौद्ध दर्शनमा दान गर्नाले पुण्य कमाइन्छ भन्ने मान्यता छ । सर्वसाधारणबाट धेरथोर दान प्राप्त गरेर पुण्य कार्यमा एकमुष्ट दान गर्ने भिक्षु–भिक्षुणीहरू पनि हुन्छन् । दान गर्नमै सन्तुष्टि मान्ने सर्वसाधारणदेखि धनीमानी नेपाली धेरै छन् । तर, उनीहरूलाई लुम्बिनी विकास कोषले आश्वस्त पार्न सकेको पाइँदैन । प्रवेश शुल्क बापत उठाइने रु.२० खास ठूलो रकम होइन । तर, श्रद्धा–भक्ति प्रकट गर्न धार्मिक स्थलमा आउनेसँग शुल्क उठाउनु असुहाउँदो कुरा हो । यस्तै, बौद्ध स्थल कस्तो हुन्छ भनेर हेर्न आउने गैरबौद्धहरू त धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण हुन् । उनीहरूसँग शुल्क असुल्नु धार्मिक सद्भाव विरोधी कदम नै हो ।
बुद्धले आफ्नो अन्तिम समयमा भिक्षु आनन्दसँग जन्मस्थल (लुम्बिनी), बुद्धत्व लाभस्थल (बोधगया), प्रथम धर्मचक्र प्रवर्तनस्थल (सारनाथ) र महापरिनिर्वाणस्थल (कुशीनगर) संवेजनीय स्थल भएको र यी ठाउँहरूमा गएर धर्म लाभ गर्न सकिने बताएका थिए । तर, यही कुरालाई लुम्बिनीका प्रवद्र्धकहरू बौद्ध भावना विपरीत बढाइँचढाइ गरेर लुम्बिनीको भ्रमण गरेमा धर्म लाभ हुने प्रचार गर्छन् । तर, यी चार स्थलमा बौद्धहरूको आगमन समान नभएकाले लुम्बिनी बारे प्रवद्र्धक र विश्वभरका बौद्धहरूको बुझइमा अन्तर रहेको छ । यसैले लुम्बिनीमा बौद्ध तथा अन्यको आगमन बढाउनु छ भने प्रचारप्रसार गर्नुका साथै बौद्ध वातावरण कायम गर्नुपर्छ । प्रवेश शुल्क लगाउने जस्ता कार्यले पर्यटकलाई विकर्षित मात्रै गर्छ ।
बुद्ध जन्मस्थल आफ्नो भूमिमा पर्नु नेपालको गौरवको विषय मात्र नभई विश्वसामु नेपाल चिनाउने माध्यम पनि भएको छ । यस दृष्टिले लुम्बिनीमाथि नेपालले गर्ने लगानीभन्दा कैयौं गुणा लाभ अन्यत्रबाट भइरहेको छ । लुम्बिनीको प्रवद्र्धनमा बौद्धहरूका साथै सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहनु सराहनीय कुरा हो । तर, प्रवेश शुल्क लगायत कोषले बेलाबेला गर्ने अविवेकी निर्णयहरूले सबै प्रयासलाई व्यर्थ पारिदिन सक्छ ।