११-१७ कार्तिक २०७५ | 28 Oct - 3 Nov 2018

हेमापुर महाविहार, यतवहाः

Share:
  
- कनकमणि दीक्षित

पाटनढोका अशोक हल नजिकै यतवहाःमा अवस्थित छ, हेमापुर महाविहार । यो महाविहारको अवस्था अहिले जीर्ण छ । तर, यस सम्पदा स्थलको जीर्णोद्धार र पुनर्जागरण गाह्रो भने छैन । सरसफाइ, व्यवस्थापन तथा सुरक्षाका लागि पहल गर्ने हो भने यो जुहारत सम्पदा फेरि चम्कनेछ ।

प्रस्तुत तस्वीरहरूले महाविहारको पछिल्लो अवस्था देखाउँछन्, सँगै यसमै देखिन्छ, भोलिका सम्भावना पनि । छानाको धेरै झिंगटी उप्किएका छन्, कतै टीन लगाइएको छ, कतै आधुनिक टायल । मुख्य आगम यथावत् देखिए पनि १५ वटा टेकोले यसलाई थामेको छ । अघिल्तिरको चोकमा रहेको ऐतिहासिक (शायद लिच्छविकालीन) स्तूपलाई इनामेल पेन्टले विरुप पारेको छ । यस्तै विरुप छ, नीलो रङ लगाइएको फलामे छतरीले ढाकिएको स्तूप । चोरीबाट जोगाउन सबैतिर डण्डी र ग्रिलको प्रयोग गरिएको छ ।

आगम भवनको ठीक अगाडिको वज्र पनि फलामे डण्डीमा कैद छ । यिनै डण्डी र ग्रिलले आगम भवनको अगाडि ढाकेका छन् भने दुई तहका पानी ट्यांकीले भवनको उत्तरी भाग देख्नै नसकिने गरी पूरै ढाकिदिएको छ । मोटरसाइकल, स्कूटरको पार्किङले वहाःमा समस्या थपेको देखिन्छ ।

यति राम्रो, ऐतिहासिक वहाः र महाविहारको दिन फेरि आउला ! अहिले भने टोल सुधार समिति फलामे ग्रिल पछाडि साइनबोर्डमै सीमित देखिन्छ । यस समितिले पाटनको यो क्षेत्रको ऐतिहासिकता, अध्यात्म र सम्पदालाई उजागर गरेर यहाँका बासिन्दालाई आत्मीय आनन्द तथा भौतिक सुविधा दिन सफल होला ? यसपालिलाई तस्वीर मात्रको प्रस्तुति ।

comments powered by Disqus

रमझम