१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

‘किसान र उपभोत्ताका मागको चेपुवामा छौं’

Share:
  

धानको राम्रो मूल्य पाउनुपर्ने किसानको र सस्तोमा चामल पाउनुपर्ने उपभोत्ताको मागको चेपुवामा परेको बताउने नेपाल खाद्य संस्थानका योजना विभाग प्रमुख शंकर सापकोटा भन्छन्, “सरकारले अनुदान उपलब्ध गराउनुपर्छ।”

सरकारले तोकेको मूल्यमा किसानबाट धान खरीद गर्न संस्थान सक्षम छ ?

हाम्रो वार्षिक कार्यक्रममा तीन लाख ५० हजार क्वीन्टल धान खरीद गर्ने योजना छ । त्यो भन्दा धेरै किन्न सकिंदैन । तर, सरकारले मोटा धानको समर्थन मूल्य प्रति क्वीन्टल रु.२३३१ तोकेकाले उक्त मूल्यमा खरीद गर्न भने हामीलाई समस्या हुन्छ ।

सरकारले तोकेको मूल्यमा खरीद गर्न किन समस्या ?

हामीले गत वर्ष मोटा धान प्रति क्वीन्टल रु.१,८०० देखि रु.१,९०० सम्ममा खरीद गरेका थियौं । अहिले पनि मोटा धानको बजार मूल्य गत वर्षकै हाराहारीमा छ । सरकारले तोकेको मूल्य अनुसार हामीलाई प्रति क्वीन्टल रु.३०० देखि रु.४०० सम्म महँगो पर्छ । हामीले बजार मूल्य र सरकारले तोकेको समर्थन मूल्य बीचको अन्तरलाई मिलाउनका लागि अनुदान माग गरेका छौं ।

यसअघि मूल्य निर्धारण कसरी हुन्थ्यो ?

सरकारले समर्थन मूल्य नतोक्दा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने बजार मूल्य निर्धारण समिति मार्फत मूल्य निर्धारण गरिन्थ्यो । हामी त्यही मूल्यमा धान खरीद गथ्र्यौं ।

खरीद गरेको धान के गर्नुहुन्छ ?

धान कुटेर खाद्यान्न अभाव भएका पहाडी र हिमाली जिल्लामा चामल पठाउँछौं । त्यो हाम्रो वार्षिक कार्यक्रम अन्तर्गत नै हुन्छ ।

समर्थन मूल्य तोक्नु र नतोक्नुमा के फरक छ ?

सरकारले समर्थन मूल्य तोक्नु किसानको लागि धेरै राम्रो हो । सरकारले हस्तक्षेप नगरेसम्म किसानले कहिल्यै पनि लागत उठाउन सक्दैनन् । एकातिर उत्पादित धान राम्रो मूल्यमा बिक्री गर्न पाउनुपर्ने किसानको र अर्कोतिर खाद्य संस्थानले सस्तो मूल्यमा चामल उपलब्ध गराउनुपर्छ भन्ने उपभोक्ताको मागको चेपुवामा हामी परेका छौं ।

comments powered by Disqus

रमझम