१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

नेपालका जेलमा विदेशी कैदी

Share:
  
देशभरका कारागारमा विभिन्न २५ वटा अपराधमा ८९८ विदेशी कैदी छन्।

देशभरका ३३ वटा कारागारमा ४० मुलुकका ८९८ विदेशी कैदीबन्दी रहेका छन्, जसमध्ये ५६ जना महिला छन् । कारागार व्यवस्था विभागका अनुसार, विभिन्न २५ वटा अपराधमा पक्राउ परेका विदेशी कैदीबन्दीमध्ये ४१ महिलासहित ६८२ भारतीय नागरिक छन् (हे. तालिका) । सबैभन्दा बढी २०२ जना भारतीय कैदीबन्दी पर्सा जिल्ला कारागारमा छन् ।

त्यस्तै, काठमाडौंको जगन्नाथदेवल कारागारमा १०८ विदेशी कैदीबन्दी छन् । जगन्नाथदेवल कारागारमा रहेका लुजिफर (६३) नामका कैदीबन्दीको भने देश खुलेको छैन ।

लागूऔषध ओसारपसारका बढी

विदेशी कैदीबन्दीमा सबैभन्दा बढी ३८५ जना लागूऔषध ओसारपसारमा संलग्न र तीमध्ये ३४९ जना भारतीय छन् । त्यस्तै, जबर्जस्ती करणी र करणी उद्योगको अपराधमा जेल परेका ७९ विदेशी कैदीबन्दीमध्ये ६१ जना भारतीय छन् । कर्तव्य ज्यान÷ज्यान मार्ने उद्योगको कसुरका ६६ मध्ये ५८ जना भारतीय छन् । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारका ४८ कैदीबन्दीमध्ये ३५ जना भारतीय छन् ।

विना भिसा अनधिकृत रूपमा नेपाल पस्दा समातिएका र भिसाको म्याद सकिएपछि पनि कानूनी प्रक्रिया पूरा नगरी बस्दा पक्राउ परी कारबाहीमा रहेका ५१ कैदीबन्दी छन् । ४७ जना बाङ्लादेशी कैदीबन्दीमध्ये ३३ जना विना भिसा नेपाल पसेका थिए ।

अप्राकृतिक मैथुन र बालयौन दुराचारको अभियोग लागेका ७ विदेशी कैदीबन्दी छन् भने खोटा चलन (जाली नोट) मा पक्राउ परी सजाय काटिरहेका विदेशीको संख्या ३२ छ, जसमध्ये १४ जना पाकिस्तानी छन् । त्यस्तै, किर्ते नागरिकताको कसुरमा १८ जना विदेशीले कैद भोगिरहेका छन् । बहुविवाह र गर्भपतनको कसुरमा दुई भारतीय कैदीबन्दी छन् ।

विदेशी कैदीबन्दीमध्ये १९ जनाले २१ वर्षभन्दा बढी सजाय पाएका छन् । त्यस्तै, १६–२० वर्षसम्मको कैद सजाय पाएका १०० जना, ११–१५ वर्षको सजाय पाएका १२७ जना, ६–१० वर्ष सजाय पाएका १९० र ५ वर्षभन्दा कम सजाय पाएका २०५ जना छन् ।

गोपाल गड्तौला

comments powered by Disqus

रमझम