१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

घर अनुसारको बत्ती

Share:
  

चाडपर्वमा घरलाई थप आकर्षक र उज्यालो बनाउने रहर सबैलाई हुन्छ । तर, घरका कोठा र विभिन्न स्थानमा जडान गरी बत्तीको सही संयोजन भयो भने मात्रै घरको स्वरुप आकर्षक देखिन्छ । घरको बाहिरी भागदेखि लिभिङ रुम, सिटिङ रुम, चिल्ड्रेन रुम, भान्सा कोठा सबैतिर भित्ताको रङ, कोठाको आकार र प्रयोजन अनुसारको बत्ती जडान गर्नुपर्ने इन्टेरियर डिजाइनर रविना महर्जन बताउँछिन् । “कहाँ कस्तो र कत्तिको उज्यालो दिने मात्रै होइन कस्तो डिजाइनको बत्ती राख्ने भन्ने पनि निश्चित मापदण्ड हुन्छ” उनी भन्छिन्, “बत्तीको सही संयोजनले घर आकर्षक र काम गर्दा सहज हुन्छ ।”

अरुको घरमा राम्रो देखेर आफ्नो घरमा पनि त्यसकै सिको गर्दा पछुताउनुपर्ने हुन सक्छ । बत्ती खरीद गर्नुअघि आफ्नो कोठाको आकार, भित्ताको रङ, बत्तीको प्रयोजन निक्र्योल गर्नु आवश्यक हुन्छ । कोठाका भित्तामा उज्यालो रङ लगाइएको छ भने कम उज्याले दिने बत्ती राख्दा पनि फरक पर्दैन । गाढा र अँध्यारो खालको रङ छ भने बढी चहकिलो बत्ती चाहिन्छ ।

घरको मूल ढोकामा बढी उज्यालो दिने सेतो बत्तीको प्रयोग उचित हुन्छ । मूल ढोकाको बाहिर र भित्र एकएक वटा डोम लाइट प्रयोग गर्दा चारैतिर उज्यालो हुन्छ । बैठक कोठामा पाहुना आउँदा मात्रै होइन अरु समयमा पनि घरका सदस्यले धेरै समय बिताउँछन् । तुलनात्मक रुपमा अरु कोठाभन्दा बैठक कोठा ठूलो पनि हुन्छ । त्यसैले बैठक कोठालाई आकर्षक बनाउन कोठाको रङ अनुसार सिलिङको मध्यभागमा मझौला आकारको झुमर प्रयोग गर्न सकिन्छ । कोठाका सबै कुना उज्यालो हुँदा कोठा भव्य र आकर्षक देखिन्छ भने सुविधाजनक पनि हुन्छ । बैठकमा आवश्यकता अनुसार डेकोरेटेड लाइट, वाल ल्याम्प, फ्लोर ल्याम्पको प्रयोग गर्न सकिन्छ ।

खाना पकाउन प्रयोग हुने भएकोले भान्सा कोठामा उज्यालो प्रकाश दिने बत्ती उपयुक्त हुन्छ । चूलो राख्ने स्थानमाथि फोकस लाइट राख्नु उपयुक्त हुन्छ ।

त्यस्तै, रिडिङ रुममा टेबुल ल्याम्पको सट्टा ह्यांगिङ लाइट, फुट लाइट आदिको प्रयोग गर्न सकिन्छ । अचेल लिभिङ र बेड रुममा फल्स राखी बत्ती राख्ने, टिभी राख्ने ठाउँमा ह्यांगिङ वाल लाइट राख्ने तथा पेन्टिङ र सजावटका सामानलाई आकर्षक देखाउन स्पट बत्ती तथा डाउन लाइट प्रयोग गर्ने चलन पनि छ । यसले कोठालाई सुन्दर देखाउँछ ।

बालबालिकाको कोठामा रङ्गीन बत्ती राख्दा उनीहरूले मन पराउँछन् । तर यस्तो बत्ती धेरै चहकिलो भने हुनुहुँदैन । बालबालिकाको स्वास्थ्यका लागि कम प्रकाश दिने बत्ती उपयुक्त हुन्छ । उनीहरूलाई लेख–पढ गर्नका लागि टेबल ल्याम्प प्रयोग गर्न सकिन्छ ।

बाथरुममा डोम लाइटको उपयोग राम्रो हुन्छ । बाथरुममा बेसिन अगाडि राखिने बत्ती पनि ऐनमा नभई मुहारमा उज्यालो पर्ने गरी राख्नुपर्छ । तर यस्तो बत्ती आँखामा नबिझाउने गरी राख्नुपर्छ ।

त्यस्तै प्यासेज र बरण्डामा डोम लाइट, बेडरुममा रङ्गीन फूट लाइटको प्रयोगले आकर्षक देखिन्छ । बगैंचालाई उज्यालो बनाउन विशेष खालका गार्डेन लाइट प्रयोग गर्न सकिन्छ । बगैंचातर्फ फोकस हुने गरी घरको भित्तामा बत्ती जडान गरेर पनि बगैंचालाई उज्यालो बनाउन सकिन्छ ।

comments powered by Disqus

रमझम