१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

बढेको महिला उत्साह

Share:
  
भारतबाट आयातित फूलको मालाबाट कपडामा सरेको रङ धुँदा पनि नगएपछि देवी वाग्ले फूल खेतीमा लागिन्।

तस्वीरहरुः दीपक ज्ञवाली
ढकमक्क सयपत्री ! तिहार नजिकिंदै गर्दा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको जुडा मधौलियास्थित दुई बिघा जग्गा फूलमय बनेको छ । यहाँ अहिले भारतीय फूललाई विस्थापन गर्ने अभियानका साथ महिलाहरूले सामूहिक फूल खेती शुरू गरेका छन् ।

फूलमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य साथ शुरू भएको अभियानकी अगुवा हुन्, राजनीतिकर्मी देवी वाग्ले (४५) । रूपन्देही तिलोत्तमा मणिग्रामकी वाग्लेले शुरूमा अरू केही उत्पादन नहुने बाँझो जग्गामा कर्कलोको सामूहिक खेतीको योजना बनाएकी थिइन् । एक सार्वजनिक कार्यक्रममा आयोजकले लगाइदिएको फूलको मालाबाट उनको कपडामा सरेको रङ धुँदा पनि गएन । बुझ्दै जाँदा, ती भारतबाट आयात गरिएका केमिकलयुक्त फूल भएको पाएपछि उनले कर्कलोको सट्टा फूल खेतीमा लाग्ने अठोट गरिन् । र, आठ जना महिला सदस्य रहेको ‘सह–कदम कृषि समूह’ गठन भयो । त्यही समूहले यहाँ सामूहिक फूल खेती शुरू गरेको हो ।

“पूजाआजा, बिहे, व्रतबन्ध, पार्टी, औपचारिक कार्यक्रम, उत्सव सबैतिर भारतीय फूलको मालाको अचाक्ली प्रयोग र त्यसमा पनि घातक केमिकल हालिएको छ” देवी भन्छिन्, “यो बुझेपछि फूल खेती गर्ने योजना बनाइयो ।”

अहिले यहाँको फूल खेती हेर्न र तिहारका लागि अर्डर गर्न जानेहरूको घुइँचो छ । स्थानीयले फूल खेती रहेको स्थानलाई ‘फूलबारी चोक’ नाम दिएका छन् ।

देवीका अनुसार, शुरूमा जग्गा भाडामा लिएर फूल खेती गर्ने योजना थियो । तर, एकै ठाउँमा प्रशस्त जग्गा उपलब्ध भएन । महिलाहरूलाई उत्साह भर्दै स्थानीय जनप्रतिनिधि दुर्गा पाण्डे लगायतले फूल रोप्नका लागि निःशुल्क जग्गा उपलब्ध गराए । यहाँका महिलाहरूको सक्रियता र उत्साह अहिले सयपत्री बनेर फुलेको छ ।

तिहारसम्म फुलाउने लक्ष्य राखी भदौको पहिलो हप्ता बिरुवा रोपिएको थियो । देवी भन्छिन्, “पहिलो चरणमा काठमाडौं र चितवनबाट ल्याएर १४ हजार ५०० बिरुवा रोप्यौं । यसपालिको तिहारमा स्वदेशी फूलका माला बनाएर बिक्री गर्ने योजना छ ।” बिरुवा खरीदमा मात्रै रु.५ लाख लगानी भएको उनको भनाइ छ ।

विभिन्न सार्वजनिक कार्यक्रमहरूमा भारतीय फूल र मालाहरूकै प्रयोग हुन्छ । नेपालमा हरेक वर्ष न्यूनतम रु.२० करोड बराबरको फूल आयात हुने नेपाल पुष्प व्यवसायी महासंघको आकलन छ । महासंघको प्रदेश–५ का अध्यक्ष रमेश पाण्डे भन्छन्, “फूलमा भन्सार रेकर्ड प्रायः नहुने भएकाले रु.२० करोडभन्दा बढीकै फूल आयात होला । त्यसैले, फूलमा आत्मनिर्भर बन्न निजी क्षेत्रबाट हामीले धेरै काम गरिरहेका छौं ।”

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम