उनी आफैं बेलाबेला मन्त्रिमण्डल परिवर्तन गरिरहन रुचाउने । त्यसैले उनलाई लहड चलेछ, आफूलाई चाहिने मान्छेहरूको ‘रोष्टर’ तयार गरेर राख्नुपर्यो, जुन बेला जो आवश्यक पर्छ, उसैलाई मनोनयन गर्दा भइहाल्यो ।
असल र खराब व्यक्तिहरूको बेग्लाबेग्लै लिष्ट बनाउन उनले आफ्ना विश्वासपात्र सरदार विष्णुमणि आचार्यलाई अह्राए । यो प्रसंग बाहिर चर्चामा भने आएन ।
‘खै त त्यो लिष्ट ?’
धेरै पछिसम्म राजाले त्यो लिष्ट मागेनन्, विष्णुमणिले नमागी दिएनन् । रहँदा–बस्दा एक डेढ वर्षपछि राजा महेन्द्रले केही गम्भीरतासँगै रातोपिरो भएर सोधेछन् “खै त त्यो लिष्ट, अझ्सम्म तयार भएन ?”
अकस्मात् राजाबाट प्रश्न आएपछि सरदार विष्णुमणि एकछिन त किंकर्तव्यविमूढ भएछन् । तर, प्रत्युत्पन्न मति भएका बाजेमा व्युत्पन्न मति खुलिहाल्यो । उनले प्रसन्न मुद्रामा दुईहात जोडी बिन्ती गरेछन्, “सरकार, तयार भएको छ, निकै अघि नै ।” अलि गम्भीर भई पुनः बिन्ती गरेछन् “तर, अलि केरमेट केरमेट छ सरकार ।”
राजा छक्क परेछन् । उनको मनमा लागेछ, के भन्छ यो मान्छे ! अघि–पछि यसो भन्ने मान्छे होइन ! केही कारण परेर यसो भनेको होला भन्ने पनि परेछ । त्यस दिन त्यो प्रसंग छोडी अरू विषयमा छलफल भएछ । राजाले कुरा नकोट्याई सरदार बाजेले कुरा उठाउने विषय परेन त्यो ।
‘हात र आँखाले बाढी रोकिन्न’
राज्य सञ्चालन सजिलो कुरो पक्कै होइन, कहिले आन्तरिक कारणले, कहिले छिमेकको कारणले त कहिले विदेशको कारणले । यस्तोमा मन बहलाउन राजा लगायत सर्वोच्च र उच्च प्रशासकहरू हास्यव्यङ्ग्यको बाटो समात्छन् ।
तनाव र परिस्थिति असाधारण हुँदा परिहासको माहोल बनाउन उच्च प्रशासकहरूमध्ये विछट्टै सिपालु दुई पात्र थिए– जनरल क्षेत्रविक्रम राणा र सरदार विष्णुमणि आचार्य । यी दुई पात्र बेला–बेला राजाको मनस्थिति हेरी ठट्टा गर्थे, निकै अदबमा रहेर । राजा महेन्द्र मुखै खोलेर हाँसेको वा अट्टहास गरेको प्रायः देखिंदैनथ्यो । २०१४ सालको वैशाख र जेठमा सुदूरपश्चिममा गरेको २३ दिने लामो पैदल भ्रमणमा मैले कुनै दिन पनि उनी दाँत देखाएर हाँसेको देखिनँ । तर, प्रायः साँझ् स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रममा भने उनी बेलाबेला मुस्कुराउँथे ।
महेन्द्रले सरदार विष्णुमणिलाई धेरै पत्यार गर्ने । पशुपति क्षेत्रको पुनर्निर्माण होस् वा अन्य निर्माण र विकासका काममा उनी विष्णुमणिलाई औधी पत्याउँथे । भदौ २०१८ मा भएको जनसेवा काण्डमा भने विष्णुमणि निलम्बनमा परे । त्यतिबेला उनी काठमाडौं उपत्यका कमिसनर थिए ।
कुन वर्ष हो, अतिवृष्टि भई वागमतीमा ठूलो बाढी आएछ । त्यो बेला त्रिभुवन विमानस्थल जाने र भक्तपुरतिर जाने माइतीघर–सूर्यविनायक सडक बनेको थिएन । बानेश्वरबाट सिनामंगल जाने वागमती पुल बाढीले भत्कायो भने ठूलो संकट आउँथ्यो । राजारानी बाढी हेर्न थलोमै पुगे । त्यहाँ अञ्चलाधीश विष्णुमणि थिएनन् । राजाले अन्यथा मानेछन् । एकैछिन पछि सरदार बाजे एक लहरी रित्ता बोरा लिएर आएछन् र राजालाई बिन्ती गरेछन्, “हात र आँखाले बाढी रोकिन्न भनी बोरा खोज्न गएँ । अब बोरामा बालुवा भरी पुल जोगाउनतिर लाग्छौं सरकार ।”
केरमेटको व्यङ्ग्यवाण
नभन्दै खाली बोरामा बालुवा भर्न लगाई बाढी रोकेर पुल जोगिएछ, संकट टरेछ । आफू आउँदा सरदार बाजेलाई नदेखेर रिसाएका राजाले पछि उनको बुद्धिमत्ताको प्रशंसा गरे रे ! अब यस्तो पत्यार पाएका सरदार बाजेबाट ‘लिष्ट त तयार छ, तर केरमेट, केरमेट छ’ भन्ने सुनेपछि छक्क परेका महेन्द्रले पुनः पुरानो प्रसंग कोट्याएछन्, “एउटा लिष्ट बनाउँदा पनि किन त केरमेट, केरमेट ?”
सरदार विष्णुमणिले हँसिलो पारामा हात जोडी बिन्ती गरे रे, “जो खराब भनेर कालोसूचीमा नाम चढायो, उही अकस्मात् मन्त्री हुन्छ । फेरि उसलाई असल सूचीमा सार्यो, मन्त्रीबाट झ्कििएपछि कालोसूचीमा । त्यसैले सरकार, लिष्ट केरमेट केरमेट छ ।”
यस्तो जवाफ सुनेपछि महेन्द्रको अनुहार रातो भएछ । सरदार विष्णुमणिले त्यस्तो लिष्ट बनाएका थिए वा थिएनन् । तर, उनले जुन जवाफ दिए, त्यसमा ‘राजाले असल व्यक्ति चिन्न नसकेको र जो पायो त्यहीलाई मन्त्री बनाएको’ प्रष्ट व्यंग्य थियो ।
सरदार विष्णुमणिको कूटनीतिबाट राजा महेन्द्रले अचम्म मान्थे । यो केरमेट काण्डमार्फत सरदार बाजेले महेन्द्रलाई व्यङ्ग्यवाणै हाने जस्तो भयो ।