२-८ मंसिर २०७५ | 18-24 November 2018

निष्ठाका पर्याय

Share:
  
- राधेश्याम अधिकारी
झण्डै ६ दशकको व्यावसायिक यात्रामा स्वतन्त्र न्यायपालिका, कानूनी राज्य र व्यत्तिाmगत स्वतन्त्रताका पक्षमा कुसुम श्रेष्ठको निष्ठा अविचलित रह्यो।

कुसुम श्रेष्ठ । वि.सं. १९९३ — २०७५
सक्षम वकिल र सक्षम न्यायाधीशबीच एकअर्काप्रति सम्मानभाव हुन्छ । न्यायाधीशबाट सदैव सम्मान पाउने व्यक्तित्व हुनुहुन्थ्यो, कुसुम श्रेष्ठ । रत्नबहादुर विष्ट र कुसुम श्रेष्ठको संवाद पत्रकार होमनाथ दाहाल कहिल्यै बिर्सनुहुन्न । तत्कालीन पञ्चायती सरकारले दाहालजी सम्पादक रहेको राष्ट्रपुकार साप्ताहिक बन्द गर्ने आदेश दिएछ । त्यसविरुद्ध परेको निवेदनको सुनुवाइ रत्नबहादुर विष्टको बेञ्चमा तोकिएको थियो । मुद्दा शुरु गर्नुअघि अनौपचारिक रुपमा न्यायाधीश विष्टले कुसुमजीलाई लक्ष्य गरेर बेञ्चबाटै सोध्नुभएछ– ‘जेन्टलमेन आजको उल्लेखनीय खबर के छ ?’

कुसुमजीले झट्ट जवाफ दिनुभएछ– ‘अफ्रिकाको कुनै देशको प्रधानन्यायाधीशलाई बन्दी बनाइएको छ ।’

रत्नबहादुरको टिप्पणी थियो रे– ‘जेन्टलमेन यो त राम्रो खबर भएन ।’ तर, यस्तो संवादबाट बेञ्च र बारका प्रतिनिधिबीच क्लेश पैदा हुँदैनथ्यो । कुसुमजीको स्वभावले रत्नबहादुर विष्ट मात्र हैन, समकालीन सबै प्रधानन्यायाधीश र न्यायाधीशको दिल जितेको थियो ।

नेपालमा संस्थागत रुपमा कानून व्यवसाय गर्न सकिन्छ भन्ने मान्यता व्यवहारमै स्थापित गर्ने थोरै अग्रज कानून व्यवसायीमध्येका हुनुहुन्थ्यो कुसुम श्रेष्ठ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ लगायतका कानून व्यवसायी मिलेर नेपाल ल फर्म स्थापना भएको थियो, जुन आज पनि कायम छ । उक्त फर्ममा कुसुमजी अन्तर्गत रहेर धेरै कानून व्यवसायीले आफूलाई स्थापित गरे । त्यस्ता प्रशिक्षार्थीमध्ये महादेवप्रसाद यादव, सूर्य ढुंगेल, भरतराज उप्रेती, प्रकाश वस्ती आदि नाम अग्रपंक्तिमा आउँछन् ।

झण्डै ६ दशकको व्यावसायिक यात्रामा स्वतन्त्र न्यायपालिकाप्रति उहाँको निष्ठा अविचलित रह्यो । संविधानवाद, कानूनी राज्य र स्वतन्त्रताका पक्षपाती कुसुमजीले सर्वोच्च अदालतको आँगनमा बसेर न्यायपालिकाप्रति हलुका टिप्पणी गरेको कहिल्यै सुनिएन । उहाँमा कानून व्यवसायी भएपछि न्यायाधीशहरूलाई अध्ययन, ज्ञान र परिश्रमबाट सहयोग गर्नुपर्छ भन्ने सोच थियो । खुला अदालत र न्यायपालिकाको पारदर्शी चरित्रको जति ख्याल उहाँ र त्यसबेलाका अन्य व्यक्तिहरूमा थियो, अचेल त्यसमा विचलन आएको देखिन्छ ।

बारको संस्थागत विकास नभएसम्म वकिलको भूमिका पनि कमजोर हुन्छ भन्ने धारणा थियो, उहाँको । नेपाल बार एसोसिएसन (नेबाए) लाई आजको स्थितिमा पुर्‍याउन उहाँको महत्वपूर्ण योगदान छ । नेबाएलाई इन्टरनेशनल बार एसोसिएसनसँग आबद्ध गराउने कामदेखि नर्वेजियन बार एसोसिएसनसँग सम्बन्ध विकास गराउन उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभयो । सर्वोच्च अदालत बार एसोसिएसनको पहिलो अध्यक्ष कुसुमजी नेबाएको मुखपत्र न्यायदूत को पहिलो सम्पादक हुनुहुन्थ्यो । नेपाल कानून समाजको स्थापना पनि उहाँबाटै भएको थियो ।

कुसुमजीले आफ्नो जीवनकालमा असंख्य मुद्दाहरूमा बहस÷पैरवी गर्नुभयो तर, केही मुद्दाहरूमा उहाँको संलग्नता सदा स्मरणीय छ । बीपी कोइरालाको राजकाज सम्बन्धी मुद्दा, भीमनारायण श्रेष्ठ (जसलाई मृत्युदण्ड दिइयो) का राजकाज मुद्दाहरू तीमध्ये केही हुन् । त्यसैगरी प्रेस स्वतन्त्रता र निर्वाचन सम्बन्धित कैयन् मुद्दामा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ ।

२०२० देखि २०५० सालबीचका संवैधानिक विवादका सबैजसो मुद्दामा कुनै न कुनै पक्ष भएर उहाँले अदालतलाई सघाउनुभएको तथ्य त्यसबेलाका नेपाल कानून पत्रिका पल्टाउने वित्तिकै थाहा हुन्छ । सर्वोच्च अदालतले असाधारण अधिकार क्षेत्र (बोलीचालीका भाषामा रिट क्षेत्र) अन्तर्गत गरेका यो अवधिका निर्णयहरूमा उहाँको योगदान यथेष्ट छ । ती निर्णयहरू पछिल्ला पिंढीका लागि मार्गनिर्देशक छन् ।

मित्रहरूका मित्र हुनुहुन्थ्यो, कुसुम श्रेष्ठ । ल फर्मकै साथीहरू कृष्णप्रसाद पन्त, लक्ष्मीबहादुर निराला, रामनगिना सिंहदेखि मोतीकाजी स्थापित, मधु शर्मा, मुकुन्द रेग्मी, वासुदेव ढुंगाना, दमननाथ ढुंगाना, शंकर घिमिरे, निरकुमार क्षेत्री आदि धेरै थिए उहाँको मित्र मण्डलीमा । त्यसमध्ये पनि छुटाउन नहुने नाम हो– गणेशराज शर्मा । कुसुमजी र गणेशराजजीको मित्रता जीवनभर एकनासको रह्यो । सार्वजनिक सरोकारका धेरै मुद्दाहरूमा उहाँहरूले मिलेर काम गर्नुभएको छ । दुवै एकअर्काका पूरक हुनुहन्थ्यो । आफ्ना समयका सबै राजनीतिज्ञहरूले कुसुमजीको रायलाई आदरका साथ स्वीकार गरेको मेरो अनुभूति छ । कानून व्यवसाय बाहिर पनि उहाँका धेरै साथी थिए, पत्रकारहरूबीच पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो ।

पेशागत काम बाहेक कुसुमजीको रुचि पुस्तकमा थियो । श्वासप्रश्वासको समस्याले गर्दा पछिल्लो दशक अदालत आउन छाडे पनि थापाथली, कुरिया गाउँस्थित आफ्नो नयाँ च्याम्बरमा बसेर पुस्तक पढिरहनुहुन्थ्यो । म जस्ता उहाँलाई भेट्न जाने थुप्रैलाई उहाँ पढ्न प्रेरित गर्नुहुन्थ्यो । यही हौसलाकै कारण कुसुमजी र उहाँका समकालीन मित्रहरूले कुवेरजी (चार्टर्ड अकाउन्टेन्ट कुवेर शर्मा) को डिल्लीबजारस्थित बाटुले घरमा खोलेको ‘बुक क्लब’ मा गुन्नार मिर्डलको भ्रष्टाचार र विकास बारेको पुस्तकमाथि मैले पनि पेशाका प्रारम्भिक दिनमा टिप्पणी गर्ने अवसर पाएको थिएँ ।

कुसुमजी अक्सर साँझमा गणेशराजजीको घर जानुहुन्थ्यो । अरु साथीहरू पनि हुन्थे त्यहाँ । त्यो जमघटलाई उहाँले ‘भेजिटेरियन क्लब’ नाम दिनुभएको थियो । उक्त क्लबमा मलाई सबैभन्दा मन परेको कुरा– त्यहाँ व्यक्तिगत कुराकानीको गुञ्जाइस थिएन । जहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक, सांस्कृतिक मुद्दामा छलफल हुन्थ्यो । त्यहाँ कुसुमजी लगायतका अग्रजहरूले गरेको संवादबाट म स्वयं धेरै लाभान्वित भएको छु । नेपाली र अंग्रजी दुवै भाषामा पोख्त कुसुमजीले पेशाका शुरुआती वर्षहरूमा निकै लेखहरू लेख्नुभएको छ । न्यायदूत को पहिलो अंकमै लेखेको सम्पादकीय अहिले पनि कानून व्यवसायीमाझ चर्चाको विषय बन्छ ।

आधुनिक भेष रुचाउने, चश्मा लगाएको हँसिलो अनुहार भएका कुसुम श्रेष्ठ २००७ सालपछिको नेपालको न्यायिक क्षेत्रका नक्षत्र हुनुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन । उहाँकी धर्मपत्नी लक्ष्मी भाउजू कानूनमा स्नातक (अधिवक्ता) भएर पनि कुसुमजीको घर सम्हालेर सहयोगी बनिरहनुभयो । छोरा निरज पिता कुसुमकै बाटो पछ्याउँदै कानून व्यवसायमा संलग्न छन् ।

स्वतन्त्र न्यायपालिका, कानूनी राज्य तथा व्यक्तिगत स्वतन्त्रताको पक्षमा निष्ठाका साथ वकालत गर्ने वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षको उमेरमा २१ कात्तिकमा निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

comments powered by Disqus

रमझम