९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

अति भयो हस्तक्षेप

Share:
  

‘कसरी उकास्ने प्रहरी मनोबल’ (२–८ मंसीर) आवरण रिपोर्टमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी संगठनको हतोत्साहित मनस्थितिबारे गरिएको चिन्ता जायज छ । प्रहरी संगठन मात्र होइन नेपालका अधिकांश संस्था र समाज समेत अति राजनीतिक हस्तक्षेपबाट भुत्ते र हतोत्साही भएका छन् । हुनत प्रहरी संगठनको मनस्थिति माओवादी विद्रोहका बेलादेखि नै खस्किएकै थियो । त्यसमाथि मनोमानी ढंगले चलाउने गृह नेतृत्वको मानसिकताले प्रहरी संगठन हतोत्साहित हुन पुगेको हो ।

प्रहरीको मनोबल उकास्ने भनेको यो संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने हो । राजनीतिक नेतृत्वको काम उपयुक्त र योग्य व्यक्तिलाई संगठनको नेतृत्वमा नियुक्त गर्ने हो । त्यसपछि निश्चित पद्धतिमा संगठनलाई चलाउन त्यही नेतृत्वकै जिम्मा लगाउनुपर्छ । यति भयो भने प्रहरी मनोबल अवश्य उकासिनेछ ।

शमशेरजङ्ग खत्री, अनलाइनबाट

सम्भव छ समाधान

‘अवैध आप्रवासनका लागि नेपाल मोह’ (२–८ मंसीर) खोज रिपोर्टले खुला सिमानाको फाइदा उठाएर नेपाल पसेकाहरूका कारण कुनै पनि बेला देशमा सुरक्षा चुनौती उत्पन्न हुनसक्नेबारे सजग बनाएको छ । सरकारले विदेशीहरूको बसाइ नियमन र कानून पालना गराउनतिर कदम चाल्नुपर्छ । तर, यसो गरिरहँदा मानवीय पक्षलाई पनि ध्यानमा राख्नुपर्छ । अवस्था र आवश्यकता अनुसार कतिपय आप्रवासनलाई वैध तुल्याउनेतर्फ पनि अघि बढ्नु जरूरी छ । यसले गर्दा शान्तिप्रिय नेपालीको साख विश्वमाझ् झ्नै बढ्नेछ ।

डिल्लीप्रसाद राई, अनलाइनबाट

मार्मिक पक्षको उजागर

‘घरघरै किशोरी आमा’ (२–८ मंसीर) रिपोर्ट मार्मिक छ । सदरमुकाम र राजधानीमा बसेर गरिने कार्यक्रमले यस्ता मार्मिक विषयमा मल्हमपट्टी लगाउँदैन । बरु सम्बन्धित क्षेत्रमा पुगेर स्वास्थ्य शिक्षा तथा कानूनबारे जानकारी दिई सानैमा आमा बन्नेहरूलाई जोगाउन सकिन्छ । सरकारले पनि रणनीति बनाउनमा मात्र होइन, कार्यान्वयन र त्यसको परिणाममा ध्यान दिनु जरूरी छ । सबैभन्दा प्रमुख कुरा यौन र प्रजनन् शिक्षाबारे परिवेश सुहाउँदो विद्यालयस्तरको पाठ्यक्रम निर्माण गरी दक्ष शिक्षकहरूबाट अध्यापन गराउन अबेर भइसकेको छ ।

टीकादत्ता पाण्डेय, अनलाइनबाट

मिचाहा चिन्ता

‘मिचाहा सँधियार बन्नुहुँदैन’ (२–८ मंसीर) सामयिकले देशको सर्वोच्च संस्थालाई राम्रो सुझव दिएको छ । यति सल्लाह–सुझव पाएपछि संस्थाको गरिमालाई ख्याल गरेर राष्ट्रपतिमा ऐतिहासिक विरासत मास्ने महत्वाकांक्षा पलाउँदैन कि ! दीर्घकालीन असरलाई बुझेर मिचाहा आकांक्षा त्याग्नु नै सबैको हितमा छ । अझ् राष्ट्रपति जस्तो गरिमामय व्यक्तित्वले यसमा पक्कै पुनर्विचार गर्नुहुनेछ भन्ने आशासाथ ।

हरिहर शर्मा अधिकारी, अनलाइनबाट

चलखेलको चियो

‘नेपाली कांग्रेसः तानातानमा गच्छदार’ (२–८ मंसीर) रिपोर्टले कांग्रेसभित्रको गुटबन्दी र चलखेलको राम्रै चियोचर्चो गरेको छ । रिपोर्टमा भनिएजस्तै विमलेन्द्र निधि र विजय गच्छदार मिलेर तराई मधेशमा गुमेको कांग्रेसको साख फिर्ता गराउलान् भन्ने सोच अहिलेसम्म अतिशयोक्तिपूर्ण नै हुनेछ । हेरौं, कांग्रेसलाई पुनर्जीवन दिन यो चियोचर्चो कत्तिको कामयाब हुन्छ ।

आरबी पन्त, अनलाइनबाट

दायरामा ल्याऊँ

‘मूअकको २१ वर्षः ठूलो कारोबार दायरा बाहिरै’ (२–८ मंसीर) टिप्पणी समसामयिक छ । ठूला कारोबारी दुईदशक भन्दा बढी समयसम्म पनि दायराभन्दा बाहिरै रहनु अचम्म लाग्ने कुरा हो । उच्च मनोबलसाथ सरकारले ठूला कारोबारीलाई मूअकको दायरामा ल्याउनै पर्छ । जति ढिला हुन्छ, त्यति नै हामी पछि पर्नेछौं । कारोबारीलाई दायराभित्र ल्याउन लागिपर्नेहरूको जय होस् !

विदुरचन्द्र डाँगी, अनलाइनबाट

ब्यांकको असलियत

‘सुधीर बस्नेत प्रकरणः हडपमा सम्पत्ति’ (२–८ मंसीर) रिपोर्टले नाफा कमाउने ब्यांकको असलियत उजागर गरिदिएको छ । ब्यांकको असलियत थाहा भएपछि अब ढिला नगरी अन्यायमा परेका जनताको पक्षमा सरकार उभिनुपर्दछ । ब्यांकहरूलाई जनताको डुबेको सम्पत्ति हडप्न दिनुहुँदैन । ब्यांकले मात्र धितो लिलाम गर्न पाउने नियम गलत हो । सुधीर बस्नेतको सम्पत्तिमा सर्वसाधारणको पनि लगानी रहेकाले ब्यांकले हडपेको उक्त सम्पत्ति सरकारले फिर्ता लिई उत्पादनमूलक कार्यमा लगाउनुपर्छ र त्यसको मुनाफा समानरूपले वितरण गरिनुपर्छ । यसका लागि सरकार ब्यांकहरूप्रति कठोर बन्न जरूरी छ ।

अनिता शर्मा, अनलाइनबाट

काम नलाग्ने तालिम !

‘घोडचढीको आकर्षण’ (२–८ मंसीर) रिपोर्ट गज्जब लाग्यो । तर, काठमाडौं उपत्यकामा बस्ने अधिकांश घोडचढी तालिम लिएपछि घोडा चढ्न चाहिं कहाँ जाने रहेछन् थाहा भएन । तालिम गर्दाको अवस्था बाहेक घोडा सवार गर्ने व्यवस्था र अवस्था दुवै छैन, यहाँ । सौखिनहरूले घोडचढी तालिम लिएको छु भन्ने बाहेक यसको अर्को उपलब्धि हाललाई देखिएन ।

अन्जान लामा, अनलाइनबाट

comments powered by Disqus

रमझम