९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

सुविधा गाउँमा गाउँले शहरमा

Share:
  
- युवराज श्रेष्ठ, पोखरा
सडक, बिजुली, पानी, विद्यालयदेखि स्वास्थ्य संस्थासम्मका सबै सुविधा पुगेको कास्कीको ताङतिङ गाउँका घरहरू भने रित्ता छन्।

तस्वीरहरुः युवराज श्रेष्ठ
कास्कीको मादी गाउँपालिका–२ स्थित ताङतिङ गाउँ ।
पोखराबाट २३ किलोमिटर उत्तर १,६८५ मिटर उँचाइमा छ ताङतिङ गाउँ । पोखराबाट बसमा करीब सवा घण्टामा पुगिने ताङतिङको पण्डितटोलस्थित बौद्धगुम्बासँगै जोडिएको घरमा बत्ती बलिरहे पनि आँगनमा मान्छे देखिंदैनन् । घरमूली भारतीय सेनाका अवकाशप्राप्त सुवेदार शेरबहादुर गुरुङ बेलाबखत पोखराबाट आएर ढोका उघार्छन् । “गाउँको माया लाग्छ र कहिलेकाहीं गएर बस्छु” उनी भन्छन्, “एउटा बत्तीको स्वीच भने सधैं अन गरेर छोड्छु ।”

ताङतिङका सबै घरमा खानेपानीको धारा छन् । यो पर्यटकीय गाउँमा रोजगारीको अवसरदेखि शिक्षा, स्वास्थ्य लगायतका सुविधासँगै जीविकोपार्जनका लागि उपयुक्त वातावरण छ तर, बसाइँसराइ रोकिएको छैन ।

शेरबहादुरकै जस्तै रित्तै भए पनि बत्ती बलिरहने अरू घर पनि छन् ताङतिङमा । लघु जलविद्युत् आयोजनाबाट वितरित बिजुली खपत गरे बापतको शुल्क भने उनीहरूले शहरबाटै पठाउने गरेको त्यहीं बसिरहेका दिलबहादुर गुरुङ बताउँछन् ।

परिवारका सबै बसाइँ सरेर पोखरा र अन्य स्थानतिर लागेपछि केहीले भने गाउँको घरमा आफन्तलाई बस्न दिएका छन् । दाजुभाइ सबै अन्यत्रै लागेपछि विष्णुमाया गुरुङ (५०) ले माइती घर रेखदेखको जिम्मा लिएकी छन् । उनका दुई दाजु–भाइमध्ये भारतीय सेनाबाट अवकाशप्राप्त दाजु केशबहादुर गुरुङ सपरिवार सिलिगुडीमा बस्छन् । १७ वर्ष जापानमा रोजगारी गरेका कान्छा रणध्वज गुरुङले काठमाडौंमै घरजम गरेका छन् ।

“बुवाआमा वितिसक्नुभयो, दाजुभाइले पनि पुख्र्यौली घरमा बस्न नचाहेपछि म आफैं बसेकी छु ।” घर पनि नजिकै भएकाले माइती घरमा बस्न सजिलो भएको उनी बताउँछिन् ।

भारतीय सेनाबाट सेवानिवृत्त ताङतिङका डमरबहादुर गुरुङ (६६) १४ वर्षदेखि अफगानिस्तानमा छन् । बेलायती दूतावासमा सुरक्षा गार्डको काम गर्ने डमरको परिवार पोखरामा छ भने उनको घरमा स्थानीय शेरबहादुर गुरुङको परिवार बस्छ । “गाउँका कुनै परिवारमा दाजुभाइ छुट्टिए भने नयाँ घर बनाउनुपर्दैन”, स्थानीय डिलबहादुर गुरुङ भन्छन् । उनका अनुसार, बसोबास सारेका घरमालिकले हिफाजत गर्ने शर्तमा आफ्नो घर गाउँलेलाई दिनसक्छन् ।

ताङतिङमा घर भएर पनि अन्यत्र बसाइँ सरेकाहरूको संख्या गाउँमै बस्नेहरूभन्दा धेरै छ । पोखरा बसाइँ सरेकाहरूले गठन गरेको दूधपोखरी समाजमा मात्र ताङतिङबाट आएका २०० परिवार आवद्ध छन् । यस्तै, बेलायती सेनामा भर्ती भएर उतै बसोबास गर्ने परिवारको संख्या ५० रहेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ बताउँछन् । ताङतिङवासीहरू पोखरा, काठमाडौं र बेलायतमा मात्र होइन; अमेरिका, हङकङ र भारत लगायतका स्थानमा पनि उल्लेख्य संख्यामा पुगेका छन् । गाउँबाट निस्केकाहरू नफर्किएपछि गाउँ रित्तिंदै गएको अध्यक्ष गुरुङ बताउँछन् ।

अवसरले रोकेन

ताङतिङ, माइती घरमा बसेकी विष्णुमाया गुरुङ ।
गाउँमा आधारभूत सुविधा पुगे, विकासका पूर्वाधार निर्माण भए भने बसाइँसराइ रोकिन्छ भन्ने मान्यता ताङतिङले अस्वीकृत गरिदिएको छ । गाउँमा मोटरबाटो पुगेपछि त्यही बाटो मोटर चढेर गाउँले शहर झ्रे, देशविदेश पुगे । एक दशकअघिसम्म जिल्लाकै सर्वोत्कृष्ट ठहर भएको विद्यालय, स्वास्थ्य संस्था र प्रसूति केन्द्र जस्ता सुविधा भए पनि विद्यालयमा विद्यार्थीको संख्या निरन्तर ओरालो लागिरहेको छ, स्वास्थ्य केन्द्र र प्रसूति केन्द्रमा सेवाग्राही भेटिंदैनन् ।

स्थानीय हिमालय माविमा विद्यार्थीको कुल संख्या १२० मात्र छ । कक्षा ९ र १० मा पुगेकालाई विद्यालयको होस्टलमा राखेर पढाउने गरिएको यो विद्यालयबाट आगामी एसईईमा परीक्षामा जम्मा १३ जना विद्यार्थी सहभागी हुँदैछन् । प्रधानाध्यापक ओमप्रकाश गुरुङ बसाइँसराइका कारण विद्यार्थीको संख्या मात्र नभई शौक्षिक गुणस्तर पनि खस्किन थालेको बताउँछन् । उनी भन्छन, “धेरै विद्यार्थीबीच प्रतिस्पर्धा हुँदा नतिजा राम्रो आउँथ्यो ।” प्रधानाध्यापक गुरुङका अनुसार केही वर्षअघिसम्म पनि नजिकका सिक्लेस, याङजाकोटका विद्यार्थी पढ्न यहाँसम्म आइपुग्थे । आफ्ना छोराछोरी होस्टलमा राख्न चाहनेहरूको ताँती हुन्थ्यो ।

दुई वर्षअघि मात्र मोटरबाटो पुगेको ताङतिङमा अहिले सार्वजनिक यातायात र निजी सवारी साधन पुगिरहेका छन् । गाउँकै बेंसीबाट बग्ने मादी नदीमा जलविद्युत् आयोजनाहरू बनेका छन्, केही बन्दै छन् । पल्लो डाँडामा रहेको पर्यटकीय गाउँ सिक्लेससँग जोडिने गरी मोटरबाटो निर्माण भएको छ ।

ताङतिङमा मात्र अहिले ४४ मेगावाट क्षमताको सुपरमादी जलविद्युत् आयोजना र १३ मेगावाटको नामार्जुङ जलविद्युत् आयोजना निर्माणाधीन छन् भने २५ मेगावाटको अपर मादी निर्माण सम्पन्न भइसकेको छ । सुपरमादीमा स्थानीयवासीको तर्फबाट रु.६ करोड लगानी गर्ने गाउँपालिकाले सम्झैता गरेको छ । त्यसमध्ये गाउँमै र बाहिर रहेका समेतहरूबाट रु.३ करोड संकलन भइसकेको र बाँकी संकलनकै क्रममा रहेको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् ।

जलविद्युत् आयोजनाहरूले गाउँमा लगानीसँगै रोजगारीको अवसर निर्माण गरेका छन् । तर, विदेशिने रहरले गर्दा अधिकांश युवा गाउँमा अडिन सकेका छैनन् । उनीहरू सकेसम्म बेलायती सेना नभए भारतीय सेना र त्यो पनि नभए वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका छन् ।

आयोजनाले दैनिक ८ घण्टा काम गर्दा अदक्ष कामदारलाई समेत रु.२१ हजारदेखि रु.२५ हजारसम्म तलब दिन्छ । यसमा अतिरिक्त समय काम गर्दा थप रकमसँगै कामदारलाई सामाजिक सुरक्षा पनि प्रदान गरिने जलविद्युत् कम्पनीहरू बताउँछन् । युवाहरूको रुचि भने बाहिरिनमै छ । तिनैमध्येका एक युवा भगत गुरुङ भन्छन्, “आयोजना भन्दा बाहिर धेरै कमाइ हुन्छ, विदेश घुम्न पनि पाइयो ।” त्यसैले हुनुपर्छ, ताङतिङका कोही युवा पनि जलविद्युत् आयोजनामा काम गरिरहेका छैनन् ।

ताङतिङमा तरकारी खेती, पशुपालन, फूलखेती, पर्यटन व्यवसायमा पनि राम्रो अवसर छ । तैपनि यहाँ केही होमस्टे र दुई वटा साना होटल बाहेक अन्य व्यवसाय स्थापना भएका छैनन् । उसो त अहिल्यै पनि ताङतिङमा पर्यटकहरू गइरहेकै छन् । तर यहाँका होटल र होमस्टे पर्याप्त छैनन् । भएकामा पनि युवा भेटिंदैनन्, सेवा राम्रो छैन ।

२५ वर्षअघिसम्म विदेशी पर्यटक पोखराबाट ताङतिङहुँदै लमजुङको भुजुङ–घलेगाउँहुँदै बेसीशहर निस्कन्थे भने कोही थुर्जुलेक–दूधपोखरीहुँदै मनाङको तिमाङ जान्थे । तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मस्र्याङ्दीको तीरैतीर मनाङहुँदै थोराङपास भएर मुस्ताङबाट कालीगण्डकीको तीरैतीर पोखरा फर्कने पदमार्ग प्रवद्र्धन गरेपछि यो बाटो चल्तीमा आउन छाड्यो । अहिले ती पदमार्गमा मोटरबाटो बनेपछि वैकल्पिक पदमार्गका रूपमा यही पुरानो बाटोको प्रवद्र्धन गर्न थालेको एक्यापका पर्यटन अधिकृत रश्मि आचार्य बताउँछन् । यसले ताङतिङमा पर्यटन व्यवसायको सम्भावना झ्नै बढाएको छ ।

गाउँपालिकालाई चुनौती

ताङतिङकै जस्तै अवस्था छ मादीका अन्य गाउँको पनि । गाउँमा उत्पादन वृद्धि साथै रोजगारी तथा व्यवसायका अवसर दिएर युवालाई गाउँमै रोक्ने चुनौती छ गाउँपालिकालाई । “गाउँपालिकाले स्वरोजगारका लागि युवालाई नगद अनुदान दिने कार्यक्रम ल्याएको छ” मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ भन्छन्, “यसबाट उत्पादन बढाउन र युवालाई गाउँमै रोक्न मद्दत पुर्‍याउँछ कि !” उनका अनुसार, ४० वर्ष मुनिका विदेश नजाने युवा लक्षित यो कार्यक्रममार्फत गाउँपालिकाले रु.५० हजारदेखि रु.२ लाखसम्म अनुदान दिनेछ । त्यसका लागि गाउँपालिकामा उपयुक्त व्यावसायिक प्रस्ताव पेश गर्नुपर्छ । तर, गाउँपालिकाको यो प्रस्तावमा पनि युवाहरूको ध्यान गएको देखिंदैन ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र विभाग प्रमुख प्रा.डा.विश्वकल्याण पराजुली गाउँबाट शहरतर्फ पलायन हुने प्रवृत्तिलाई स्वाभाविक ठान्छन् । “गाउँमा भएकाहरू शहरमा, शहरका राजधानीमा र राजधानीका विदेश पलायन हुने विश्वव्यापी प्रचलन हो” उनी भन्छन्, “विदेश गएकाहरू फर्कन सक्ने सम्भावना रहन्छ, तर; सबैलाई गाउँमै रोक्न सकिंदैन ।”

comments powered by Disqus

रमझम