९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

‘सेफ्टी पिन’को सुरक्षा

Share:
  
- गोपाल गड्तौला
गएको १५ महीनामा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसभित्र महिलामाथि दुव्र्यवहार गर्ने ३६३ जना कारबाहीमा परेका छन्।

काठमाडौं रानीपोखरीमा ‘सेफ्टी पिन’ ड्यूटीमा जाँदै गरेका प्रहरी सहायक निरीक्षक शारदा रानाभाट, प्रहरी जवानद्वय गोमा थापा र मेनुका भुर्तेल (बायाँबाट क्रमशः) ।
२७ चैत २०७४ मध्याह्न, काठमाडौंको रानीपोखरीबाट सार्वजनिक बसमा चढेकी एक महिलालाई यौन प्रस्ताव राख्ने बाजुराका पाण्डव बुढा (२५) पक्राउ परे । ती महिला सादा पोशाकमा खटिएकी प्रहरी थिइन् ।

असार २०७५ अपराह्न बुङमतीबाट रत्नपार्क जाँदै गरेको बसमा यात्रा गरिरहेका एक युवकले सहयात्री महिलाको संवेदनशील अंगमा पटक–पटक हात पुर्‍याइरहेका थिए । बसमै सादा पोशाकमा खटिएका प्रहरीले भारत बैङ्गलोरका ती युवक मनोज महिती (२८) लाई तत्काल पक्राउ गरे ।

महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने १२ कक्षा उत्तीर्ण, विवाहित पाण्डवलाई प्रहरीले केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलायो । पाँच दिन प्रहरी हिरासतमा रहेपछि उनी रु.५ हजार धरौटीमा छुटे । महिलाको संवेदनशील अंगमा हात पुर्‍याउने मनोजलाई प्रहरीले एक दिन हिरासतमा राखेर माफी मगाई आफन्तको जिम्मा लगायो ।

यी दुवै कारबाही नेपाल प्रहरीले सञ्चालन गरेको ‘सेफ्टी पिन’ अभियान अन्तर्गतका थिए । २०७४ साउनदेखि काठमाडौं उपत्यकामा अभियान शुरू गरेको महानगरीय प्रहरीले त्यसयता सार्वजनिक यातायातमा दुव्र्यवहार गर्ने ३६३ जना पीडकलाई पक्राउ गरी कारबाही गरिसकेकोे छ । ‘सेफ्टी पिन’ अभियान अन्तर्गत उपत्यकाका २० वटा रुटमा चल्ने सार्वजनिक सवारी साधनमा सादा पोशाकका प्रहरीले निगरानी गरिरहेका हुन्छन् ।

प्रहरीको तथ्याङ्क अनुसार गएको १५ महीनामा पक्राउ परेकामध्ये ९३ जनालाई केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत मुद्दा चलाइएको छ भने २७० जनालाई आइन्दा गल्ती नगर्ने शर्तमा कागज गराई आफन्तको जिम्मा लगाइएको छ ।

पक्राउ परेकामध्ये २१३ जना (५८.७%) विवाहित, १३३ जना (३६.६%) अविवाहित छन् भने ४.६% को वैवाहिक अवस्था खुलेको छैन । पक्राउ परेकामध्ये अन्य ठाउँबाट उपत्यकामा आई बसेका ३०१ जना (८३%) रहेको तथ्यले परिवारबाट अलग रहेका व्यक्तिले सार्वजनिक यातायातमा यस्तो हर्कत गरेको देखाउँछ ।

प्रहरीको तथ्याङ्क अनुसार सवारी साधनमा महिलामाथि दुव्र्यवहार गर्ने सबैभन्दा बढी १५–२५ वर्ष उमेर समूहका १८६ जना छन् । यसैगरी २६—३० उमेर समूहका ७०, ३१—३५ उमेर समूहका ४७ र ३६ वर्ष माथिका ५७ जना छन् । यो अभियान अन्तर्गत पक्राउ परेका तीन जना त १४ वर्ष मुनिका छन् ।

सार्वजनिक यातायातमा महिलामाथि दुव्र्यवहार गर्नेमध्ये अधिकांशको शैक्षिक स्तर न्यून छ । कारबाहीमा परेकामध्ये ३०० जना (८२.६%) साधारण लेखपढ मात्रै गर्न सक्ने हुनुले दुव्र्यवहारको एउटा प्रमुख कारण चेतनाको कमी रहेको देखाउँछ ।

९० प्रतिशत हिंसामा

सन् २०१६ मा काठमाडौं, वीरगञ्ज, चितवन, नेपालगञ्ज, धुलिखेल र पोखराका १४०० महिलाबीच गरिएको सर्वेक्षणमा ९० प्रतिशत महिला यात्रीले कुनै न कुनै रूपमा हिंसामा परेको बताएका थिए । एक्सन एडको सहयोगमा नेशनल इभ्यालुएसन एण्ड एसेस्मेन्ट टिम ‘निट’ ले गरेको उक्त सर्वेक्षणको नतिजाले पनि सार्वजनिक यातायात सुरक्षित र हिंसारहित बनाउन थप प्रयास जरूरी रहेको देखाउँछ ।

“राजधानीको सार्वजनिक यातायात सुरक्षित र हिंसारहित बनाउन यो अभियान सहयोगी भएको महसूस गरेका छौं”, महानगरीय प्रहरी आयुक्त, प्रहरी नायव महानिरीक्षक शैलेश थापा भन्छन् । नेपाल प्रहरीले ‘सेफ्टी पिन’ अभियानलाई उपत्यका बाहिरका शहरहरूमा पनि विस्तार गर्ने तयारी गरेको थापाको भनाइ छ ।

सह–यात्रीको शरीरमा टाँसिने, अर्काले डण्डी समातेको हातमाथि आफ्नो हात खप्टिने, संवेदनशील अंगमा छुने, अनुहारमा क्वारक्वार्ती हेर्ने, अश्लील बोल्ने वा त्यस्तो हाउभाउ देखाउने जस्ता हर्कतलाई मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना मन्द दर्जाको मानसिक रोग भन्छन् । व्यक्तिको असहज हुर्काइ, यौनबारे कुण्ठापूर्ण बुझइ आदि कारणले मानिसमा यस्तो समस्या विकसित हुने उनको भनाइ छ ।


साझा यातायातको घुम्ती गायन

चेतनामूलक गीत गाउँदै प्रकाश गन्धर्व ।
साझा यातायातले महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर ८ मंसीरदेखि उपत्यकाका विभिन्न रुटमा चल्ने आफ्ना बसमा महिला हिंसा विरुद्ध चेतना जगाउने गीत सुनाउन एक जना लोकगायक खटाएको छ । ती गायकले सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा, महिलाले गर्ने प्रतिकार र पीडकमाथि हुने कारबाहीलाई समेटेर तयार पारिएको लोकभाका (घुम्ती गायन) १६ दिनसम्म यात्रुलाई सुनाउने छन् ।

प्रकाश गन्धर्व (३०) ले सुनाएको गीतमा बसमा दुव्र्यवहार खेपेकी एक महिलाको पीडानुभूति, उनले गरेको प्रतिकार र पीडकलाई भएको कारबाहीको घटना वर्णन गरिएको छ ।

योसँगै साझा यातायातले महिलामाथि हुने दुव्र्यवहारलाई सामाजिक समस्या मानेर यसको नियन्त्रणमा सहभागी हुन आह्वान गरिएका सन्देशमूलक स्टिकर र फ्लेक्स समेत बसमा राख्नेछ । यो कार्यमा साझासँगै जनता क्लब काठमाडौं, ट्राफिक प्रहरी र साना उद्यमीहरूको दक्षिण एशियाका घरेलु उद्यमीहरुको संगठन सवाह नेपाल को सहभागिता रहनेछ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सञ्चालित साझा यातायातका बसमा सीसी क्यामेरा जडान गरिएका कारण ती बसका यात्रुहरू तुलनात्मक रुपमा सुरक्षित हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय, काठमाडौंकी प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठ बताउँछिन् ।

comments powered by Disqus

रमझम