९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

जाडोमा गाढा रङको पर्दा

Share:
  

आफ्नो घरलाई मौसम अनुसार सजाउने धेरैको चाहना हुन्छ । मंसीर लागेपछि वातावरणको तापक्रम घट्दो छ । शरीरमा न्यानो लुगाले प्रवेश पाएको छ र घर न्यानो पार्ने उपाय गरिंदैछ । गर्मीका बेला हल्का रङका ‘कुल’ देखिने पर्दाले घर सजाएकाहरू नयाँ डिजाइनका पर्दा हाल्दैछन् । जाडोमा गाढा रङका बाक्लो पर्दाले न्यानो महसूस गराउँछ ।

काठमाडौंको बूढानीलकण्ठका दिवस खड्काले पनि तिहार लगत्तै कोठाका पर्दा परिवर्तन गरेका छन् । जाडोको समयमा बाक्लो कटनको पर्दा लगाउँदा कोठा न्यानो हुने र राम्रो पनि देखिने भएकाले पर्दा परिवर्तन गरेको उनी बताउँछन् ।

जाडोको समयमा धेरैले झ्यालमा दुई थरी पर्दा लगाउँछन् । भित्र पातलो खालको र बाहिर गाढा रङको मोेटो । दिउँसोको समयमा पातलो पर्दाबाट सूर्यको प्रकाश कोठामा छिर्दा न्यानो हुन्छ भने साँझपख बाक्लो पर्दा लगाउँदा बाहिरको चिसो भित्र छिर्न पाउँदैन । काठमाडौंको पुतलीसडकमा रहेको ड्रिम्स, द फर्निसिङ सेन्टरका प्रोप्राइटर प्रमोद अग्रवाल जाडोको समयमा कटनको गाढा रङको बाक्लो पर्दा ग्राहकको रोजाइमा पर्ने गरेको बताउँछन् ।

अहिले बजारमा खैरो, रातो, पहेंलो, सुन्तला, बैजनी, नीलो रङका पर्दा बढी चल्तीमा छन् । पर्दाको रङ छनोट गर्दा भित्ता र अन्य फर्निचरको रङसँग मिल्ने रङको लगाउनु राम्रो मानिन्छ । भित्ताको रङभन्दा ठीक विपरीत रङका पर्दा लगाउने पनि चलन छ । तर यसो गर्दा कुशन कभर, तन्ना वा कार्पेटको रङ पर्दासँग मिल्ने खालको हुनुपर्छ ।

पर्दाको डिजाइन व्यक्तिगत रोजाइको विषय हुने भए पनि जाडोमा ‘सिङ्गल कलर’ को पर्दा बढी प्रयोग गरिन्छ । गर्मी र बर्खामा भने विभिन्न बुट्टा भएका ‘फ्लोरल डिजाइन’ का पर्दा रुचाइन्छ । त्यस्तै पर्दालाई कलात्मक बनाउन त्यसमा विभिन्न बुट्टा बनाउने चलन पनि छ । आकर्षक डिजाइनका पर्दा प्रवेशद्वारसँगै कोठाका ढोका र झ्याल साथै बाथरुममा पनि प्रयोग गरिन्छ । बाथरुममा वाटरप्रुफ पर्दा राख्नु उचित हुन्छ । भान्सामा झ्यालको आधा मात्र ढाक्ने गरी ‘क्याफे कर्टेन’ राख्ने चलन छ ।

पर्दामा कति क्रिज राख्ने, खोल्न र बन्द गर्न सजिलोका लागि कस्तो डण्डी र रिङ राख्ने जस्ता कुरा भने पर्दा छनोट गरेसँगै सहजै तय गर्न सकिन्छ । अचेल झ्यालमा लामो पर्दा लगाउने चलन छ । उज्यालो तथा घाम बढी पर्ने कोठामा बाक्लो र प्रकाश कम आउने कोठामा पातलो पर्दा लगाउँदा प्रकाशको संयोजन मिल्ने इन्टेरियर डिजाइनर सृष्टि प्रधान बताउँछिन् । जाडो याममा दुई तहको पर्दा राख्दा दिन र रातमा बेग्लाबेग्लै पर्दा प्रयोग गर्न सकिने उनको भनाइ छ । तर, पर्दाको फिनिसिङमा भने निकै ध्यान दिनुपर्ने प्रधानको सुझाव छ ।

पर्दाको मूल्य त्यसको गुणस्तर र डिजाइनमा भर पर्ने व्यवसायी प्रमोद अग्रवाल बताउँछन् । उनका अनुसार जाडो यामका पर्दा तुलनात्मक रुपमा महँगा हुन्छन् । उनको पसलमा प्रतिमिटर रु.१०० देखि रु.३ हजारसम्मका पर्दा पाइन्छ ।

एक दशक अघिसम्म पनि ग्राहकले पसलमा आएर व्यवसायीको सुझाव अनुसार पर्दा किन्ने गरे पनि अचेल इन्टिरियर डिजाइनरको सल्लाह वा इन्टरनेटबाट आफैंले डिजाइन छनोट गरी अर्डर दिन आउने गरेको अग्रवालको अनुभव छ । बाक्लो र ठूलो साइजका पर्दा राम्रो देखिने र न्यानो हुने भए पनि यस्तो पर्दा धुन सहज हुँदैन । त्यसैले पर्दा सफा राख्न घर र व्यक्तिको सर–सफाइमा ध्यान दिनु जरुरी रहेको अग्रवाल बताउँछन् ।

comments powered by Disqus

रमझम