मुस्ताङमा मुक्तिनाथ मन्दिरभन्दा एक किलोमिटर वरै रानीपौवा बजारमा तीर्थयात्रीहरूलाई लक्षित गरी खोलिएका करीब ५० जति होटलहरू छन् । आजभन्दा २१२ वर्षअघि राजा रणबहादुर शाहकी माहिली महारानी सुवर्णप्रभाले यही स्थानमा निर्माण गराएको पौवाबाट बजारको नाम रानीपौवा रहन पुगेको हो । बजारलाई पहिचान दिएको उक्त पौवा अहिले बजारबाट छेकिएको मात्र होइन, हेपिएको र मिचिएको पनि छ ।
करीब डेढ दशकअघि मुक्तिनाथ पुग्दा बास बस्ने होटल नपाएपछि यो पंक्तिकार सहयात्रीहरूसँगै रानीपौवाको शरणमा जानु परेको थियो । पौवामा बास मात्र नभएर दाल, चामल, नून, तेल, घिउ र तरकारी तथा दाउरा समेत निःशुल्क उपलब्ध गराउने बन्दोबस्त थियो, त्यसबेला । जीर्ण पौवामा शौचालय र पानीको भने अभाव थियो । रानी सुवर्णप्रभाले रानीपौवाको निर्माणका साथै सदावर्तका लागि राखु भेकमा २,५३० मुरी धान फल्ने दुई खेतको गुठी पनि व्यवस्था गरिदिएकी रहिछन् । त्यहाँ आउने तीर्थयात्रीका लागि खाना र आवासको सुविधा पुर्याउनुपर्ने बन्दोबस्तबारे उल्लेख रहेको शिलालेख अझै पनि रानीपौवामा छ । तर, अधिकांश तीर्थयात्रीलाई उक्त पौवाबारे जानकारी नै हुँदैन ।
उतिबेला बजार बिजुली बत्तीले झ्लमल भए पनि पौवा अँध्यारै थियो । यात्रीहरू पौवामा नजाऊन् भनेर बजारका व्यापारीहरूले त्यहाँ बिजुली पुग्न दिएका थिएनन् । पौवाकै केही कोठालाई कार्यालय बनाएको स्थानीय प्रहरीले भने एक लाइन बिजुली प्रयोग गर्न पाइरहेको थियो । पौवामा बास बसेको कुरा अरू कसैलाई नभन्ने सहयात्रीबीच सहमति भएबाट पनि रानीपौवाको भौतिक अवस्था कस्तो थियो भन्ने स्पष्ट हुन्छ । यसपटकको दशैंतिहारबीच मुस्ताङ पुग्दा थाहा भयो, गुठी र स्थानीयको किचलोले रानीपौवा बन्द भइसकेको रहेछ ।
मुक्तिनाथ र झरकोट बीच पुराङ गाउँमा रहेको यो पौवा मुक्तिनाथ मन्दिरतर्फ जाँदै गर्दा मूल बाटोको बायाँतर्फ छ । ५५ वटा झयाल र २६ वटा ढोका रहेको पौवाको बीचमा चोक र चारै दिशामा दुईतले भवन छ । ढुंगा र काठबाट निर्मित भवनमा १२ वटा ठूला कोठाका अतिरिक्त साना कोठाहरू पनि छन् । सामूहिक रूपमा बास बस्दा करीब एक हजार जना अटाउने ठाउँ छ । चोकमा भोटेपीपलसहितको चौतारी र रूखको फेदमा रानी सुवर्णप्रभाद्वारा राखिएको शिलापत्र छ । विक्रम संवत्का साथै शाके संवत् र नेपाल संवत् पनि उल्लेख भएको शिलालेख संस्कृत र नेपाली भाषामा छ ।
तीर्थयात्रीको सेवामा पाटीपौवा र भोजन इत्यादिको बन्दोबस्त गरिदिने नेपालको पुरानै परम्परा हो । पुराना परम्परालाई झ्नै परिमार्जित गर्नुभन्दा त्यसलाई भत्काउन समाज उद्यत रहेको उदाहरण बन्न पुगेको छ, रानीपौवा । गुठीको जग्गा धेरैजसो रैकरमा परिणत भइसकेको र अन्य कतिपय प्रशासनिक झ्मेला र विवाद सुल्झउन नसक्दा पनि रानीपौवा प्रभावित हुन पुगेको स्थानीयहरू बताउँछन् ।
मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनस्थल भनी जति प्रचार भए पनि त्यहाँ सूचना केन्द्रको नितान्त अभाव छ । मुस्ताङ क्षेत्रको प्राकृतिक तथा सामाजिक जनजीवनको जानकारी दिन जोमसोममा सञ्चालित संग्रहालय मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने यात्रुलक्षित छैन । धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समावेश गरी एउटा संग्रहालय यही रानीपौवामा सञ्चालन गर्न सकिन्छ ।
बासका साथै दाल–चामल र दाउराको सुविधा दिने व्यवस्था अबका दिनमा व्यावहारिक नहोला । बरु तीर्थयात्रीबाट न्यूनतम शुल्क उठाएर राम्रो सुविधा दिन सकिन्छ । तर, उदेकलाग्दो कुरा, यात्रुको चाप बढेर समस्या उत्पन्न भइरहँदा रानीपौवा भने जीर्ण र बन्द छ ।