आङ छिरिङ (५०) र टुल्कु जम्याङ (४१) दाजुभाइले प्रख्यात थाङ्का कलाकार बाबु उर्गेन दोर्जे शेर्पाबाट सानैमा थाङ्का कला सिके । उर्गेन दोर्जेले छोराहरूलाई कलाको शिल्प मात्र होइन, यसमा निहित आध्यात्म पनि बुझाए । तर, हुर्कंदै जाँदा यी दाजुभाइलाई थाङ्का कलाको घेरा साँघुरो लाग्यो । व्यक्तिगत अनुभूति र सिर्जनशीलता अभिव्यक्त गर्न थाङ्का विधामा प्रशस्त ठाउँ नदेखेपछि उनीहरूले त्यसलाई बेग्लै तरिकाले प्रस्तुत गर्न थाले । यद्यपि उनीहरूका कलामा अहिले पनि परम्परागत प्रभाव स्पष्ट रुपमा देखिन्छ ।
“मेरो सिर्जना थाङ्का होइन, यसमा आजको समाज र राजनीति बारे मेरो व्यक्तिगत सोच अभिव्यक्त भएको छ । आफ्नो स्थान छाड्नु पर्दाको पीडा सबैतिर छ, चाहे त्यो नेपालका जातीय अल्पसंख्यक या पश्चिमा रैथाने नै किन होऊन्”, आङ छिरिङ भन्छन् । उनको कलामा एक्लोपन र विस्थापन देखिन्छ । मोजा र भित्री बस्त्र लगाएका बौद्ध देवता देखिन्छन् ।
काठमाडौंस्थित स्टुडियोमा एकान्तवासमा रहेका जस्ता देखिने टुल्कु जम्याङ आफ्नो वरपर भइरहेका परिवर्तनलाई भने उत्सुकतापूर्वक नियालिरहेका हुन्छन् । उनको एउटा चित्रमा लालीगुराँसको बुट्टा भएको गाउन लगाएकी एक युवती स्टारबक मग समाइरहेकी छिन् । नेपालमा विकासको सुस्त गतिलाई झल्काउने अर्को चित्रमा सात प्रदेशलाई सात वटा भालुले प्रतिनिधित्व गरेका छन् । टुल्कु जम्याङका यी र अन्य चित्रहरू प्रदर्शन र बिक्रीका लागि सिद्धार्थ आर्ट ग्यालरीमा १३ मंसीरसम्म रहनेछन् ।
सिन्के धुप सल्काएर कागजमा स–साना प्वाल पार्दै विभिन्न आकृति बनाउने जम्याङको शैली ‘डट मेट्रिक्स’ जस्तो देखिन्छ । उनको यो शैली लियोनार्दो दा भिन्चीको लास्ट सपर, भ्यान गोको स्टररी नाइट र मार्सेल डच्याम्पको यूरिनल सँग मिल्दोजुल्दो छ । जम्याङ भन्छन्, “समाजमा भइरहेको परिवर्तन देखाउन यो पश्चिमी शैलीलाई सटिक ठानेर प्रयोग गरेको हुँ ।”
बौद्ध भिक्षुका रुपमा ११ वर्ष गुम्बामा बिताएका कारण जम्याङको कलामा गहनता र आध्यात्मिक दृष्टिकोण छ । उनका कलामा बुद्धबारे आफ्नै व्याख्या मात्र समावेश छैन, धुपले प्वाल पालेर आकृति बनाउने प्रक्रिया आफैंमा आध्यात्मिक लाग्छ । यो प्रक्रियामा हुने एउटा मात्रै गल्तीले पूरै पेन्टिङ नै काम नलाग्ने हुन सक्छ । त्यही कारण जम्याङ चित्र बनाउँदा ध्यानस्थ जस्तै हुन्छन् । भन्छन्, “म पेन्टिङमा पञ्चतत्व (पृथ्वी, आगो, हावा, पानी र आकाश) को प्रयोग गर्छु । मेरो क्यानभास पृथ्वी हो भने धुप आगो हो । जब म धुप फुक्छु, त्यहाँ हावाको उपयोग हुन्छ र तरल रङले पानीको प्रतिनिधित्व गर्छन् । जब चित्र झुण्ड्याइन्छ, त्यो आकाश तत्व हो ।”
आङ छिरिङ स्व–अध्येता हुन् । उनको अमूर्त शैली सहकर्मी कलाकारहरूसँगको अन्तरक्रिया र आधुनिक कलामा उनको आफ्नै खोजबाट विकसित भएको हो । उनका सृजना समकालीन नै देखिए पनि त्यसमा बाबुबाट सिकेको थाङ्का कलाको कतिपय प्रविधि लिएको उनी स्वीकार्छन् ।
दुवै दाजुभाइ अहिले थाङ्काबाट टाढै छन् । तर, उनीहरू कला अनुरागी साथै तिब्बती र नेपाली भक्तिकलामा चासो राख्नेहरूबाट प्रशंसित छन् । “सानो छँदा मैले थाङ्का कला सिकिरहेको छु भन्न लाज लाग्थ्यो” छिरिङ सम्झन्छन्, “त्यसबेला यो काम गर्नेहरूले सम्मान पाउँदैनथे, डाक्टर र इञ्जिनियर बन्नु प्रतिष्ठाको विषय हुन्थ्यो ।”
२० वर्षपछि छिरिङ नेपाल फर्किएका छन् । उनी भन्छन्, “विदेशमा सम्मान पाएको देखेपछि मात्र मैले आफ्नो सम्पदाको मूल्य महसूस गरें । म यो सम्मानको भावना नेपाली कलाकारको अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छु । यदि मेरा बुवा जस्ता निपुण कलाकारका कलाकृतिहरू संग्रहालयमा राख्न सकियो भने त्यसले अर्को पुस्तालाई प्रेरणा दिनेछ ।”
छिरिङको कुरामा भाइ जम्याङ पनि सहमत छन् । भन्छन्, “कला बचाउन कलाकार बाँच्नैपर्छ । बाँच्नका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ र थाङ्काका सन्दर्भमा सम्मान पनि उत्तिकै जरुरी छ ।”
उनीहरूका बुवा उर्गेन दोर्जे (७५) अहिले सिन्धुपाल्चोकको तातोपानीस्थित एक गुम्बाको पुनर्निर्माणमा सक्रिय छन् ।