विगत चार महीनादेखि कुनै दुस्वप्नले झैं पछ्याइरहेको एउटा दुर्घटनाको हेक्का हुन्थ्यो भने ‘जता हेर्यो उतै सरकार देखिने’ यस्तो हिम्मत प्रधानमन्त्री ओलीले शायदै गर्ने थिए । राजधानीको कमलादीमा प्रधानमन्त्रीले समृद्धिको भाषण गरिरहँदा त्यहाँबाट केही किलोमिटर पर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा यही देशका एक नागरिक न्यायको याचनामा छट्पटाइरहेका थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महीना बितिसक्दा पनि अपराधीलाई न्यायको कठघरामा ल्याउन सरकारले सिन्कोसम्म भाँचेको छैन । प्रधानमन्त्री स्वयंले सरकारको काम ‘सिन्को भाँच्ने र जुम्रा मार्ने नभएको’ दाबी गरिरहेका बेला बलात्कार र हत्या जस्ता अपराधका ‘झ्निामसिना’ कसुरदार कठघरामा उभ्याइने अपेक्षा समृद्धिको खिलाफ ठहरिन सक्छ । ‘नयाँ युग शुरूआत’ को यो अवसरमा सरकारका निम्ति निर्मला विस्मृतिको पात्र बन्दै गएकी छन् भने उनलाई न्याय दिलाउनु सरकारलाई समृद्धिको तुफानी यात्रामा तगारो लगाउनु बराबर भएको छ ।
कोपिलामै चुँडिएकी छोरीलाई न्याय दिलाउन बाबु यज्ञराज र आमा दुर्गादेवीले प्रहरी प्रशासनदेखि देशकै प्रमुख कार्यकारीको ढोका ढक्ढक्याए । अबोध बालिकामाथि भएको पाशविक क्रूरताको यो घटनाप्रति सबै नेपालीले ऐक्यबद्धता जनाइसके । जनस्तरमा दबाब बढ्दै जाँदा एकपछि अर्को अनुसन्धान टोली गठन गरियो, ती टोलीले ठेलीका ठेली प्रतिवेदन बुझए, तर ती प्रतिवेदनहरूमा दोषी को हुन्, यकिन भन्न सकिएको छैन । सरकारबाट न्यायको आशा दिनप्रतिदिन क्षीण बन्दै गएपछि निर्मलाका अभिभावक, शुभेच्छुक र न्यायप्रेमी समुदाय २५ कात्तिकदेखि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि २४ घन्टे रिले अनशनमा छन् । छोरीको हत्याको पीडा र पीडकलाई कठघरासम्म ल्याउनेतर्फ राज्यको अकर्मण्यताका कारण निर्मलाका बुबा यज्ञराज मनोविक्षिप्त बनेका छन् । र, उनको उपचार त्रिवि शिक्षण अस्पतालमा चलिरहेको छ ।
न्यायको एन्टिबायोटिक
यज्ञराजको परिवार निम्न आयको औसत नेपाली परिवार हो । परिवार पाल्न (भारत) विदेशिएका यज्ञराज र ठेलामा चटपटेको व्यापार गर्ने दुर्गादेवीका छोराछोरी सरकारी विद्यालयमा पढ्थे । आर्थिक कठिनाइका बाबजूद यो परिवार आफ्नो पौरखमा सम्मानपूर्वक हाँसिखुशी बाँच्दै आएको थियो । तर, अबोध निर्मलाको बलात्कारपश्चात हत्या भएपछि यो सुखी परिवारमाथि बज्रपात भयो । बितेका चार महीनामा यो परिवारले भोगेको पीडा वर्णनातीत छ । अतिशय मानसिक पीडा र न्यायको संभावना क्षीण बन्नु यज्ञराज मनोविक्षिप्त अवस्थामा पुग्नुको कारण हो, जसको उपचार औषधि मात्रले हुन सक्दैन । यज्ञराज न्यायको याचनामा प्रताडित बन्दै आईसीयूमा भर्ना हुनु भनेको न्याय नै मरणासन्न बन्नु हो ।
प्रधानमन्त्री ओलीले श्रमिक वर्गका लागि सामाजिक सुरक्षा योजना घोषणा गरिरहँदा श्रमिककै एउटा परिवार सामाजिक असुरक्षाका कारण मानसिक विक्षिप्तताको अवस्थामा पुग्नु सरकारको समृद्धि चेहरामा बिफरका दागहरू देखापर्नु हो । प्रम ओलीको सत्तारोहणपछिका तथ्याङ्कहरू केलाउँदा पनि मुलुकमा सामाजिक असुरक्षाको अवस्था विकराल देखिन्छ । दिनप्रतिदिन नाबालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेका छन् । फुल्न नपाउँदै कोपिलाहरू चुँडिइरहँदा पीडकहरू न्यायको कठघरासम्म ल्याइएका उदाहरण विरलै पाइन्छन् । निर्मला प्रकरणमा त शान्तिसुरक्षाको पहरेदार बन्नुपर्ने प्रहरी नै प्रमाण नष्ट गर्ने प्रयत्नमा दिलोज्यानले लागेको तथ्य स्वयं सरकारद्वारा गठित अनुसन्धान टोलीले उजागर गरिसकेको छ । सामन्ती राज्यसत्ताको बिदाइपछि जनताको गणतान्त्रिक शासन अवलम्बन गरिएको देशमा आखिर त्यस्तो को ‘माइका लाल’ छ, जसको छायाँसम्म पुग्न सरकार डराइरहेको छ ? नभए विगतमा ठूल्ठूला अपराधको अनुसन्धानमा अब्बल कहलिएको प्रहरी चार महीनासम्म पनि अपराधीको अनुमानसम्म गर्न किन सकिरहेको छैन ?
असुरक्षित समाजमा बसेर सामाजिक सुरक्षाको आकांक्षा राख्नु ग्रहणका बेला प्रकाशको आशा गर्नुसरह हो । किनभने, समुन्नति वा अहिलेको सरकारी भाष्यको समृद्धिको पहिलो खुट्किलो सुरक्षित समाज नै हो । पीडकहरू खुलेआम हिंड्ने र पीडितहरू मनोविक्षिप्त बन्दै आईसीयूमा पुग्ने राज्यमा समृद्धिका जस्तासुकै नारा उराले पनि त्यो चेहरामा बिफरका दागहरू देखिने छन्, जसलाई भाषणले नभई न्यायको एन्टिबायोटिकले मात्र मेट्न सक्छ । दुईतिहाइ बहुमतको शक्तिशाली ओली सरकारका लागि निर्मला प्रकरण एउटा ‘केस स्टडी’ बनेको छ ।