चराविद् डा. हेमसागर बरालका भनाइमा सारसले जीवनभर एकपटक मात्र जोडा बनाउँछ र सारस युगल जीवनभर सँगै रहन्छन् । दुईमध्ये एकको मृत्यु भएमा यो चराले फेरि अर्को जोडा बनाउँदैन । त्यसैले सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र नै हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उँचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पक्षीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उँचाइ ५ फिटसम्म हुन्छ ।
सारस संरक्षणमा क्रियाशील इन्टरन्याशनल क्रेन फाउण्डेशन का संस्थापक संरक्षणविद् जर्ज आर्चीबाल्ड लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएको बताउँछन् । उनी भन्छन्, “लुम्बिनीलाई बुद्धको जन्मस्थान मात्र होइन, दुर्लभ चराहरूको बासस्थानका रूपमा पनि चिनाउन सकियो भने थप पर्यटक भित्रिन सक्छन् ।” लुम्बिनी विकास कोष र क्रेन फाउण्डेशनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान सञ्चालनमा छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र सारसलाई लुम्बिनीको आधिकारिक पक्षीको रूपमा सूचीकृत गरिएपछि संरक्षणमा अझ् बल पुग्ने विश्वास व्यक्त गर्छन् । “अब लुम्बिनी आएका पर्यटकलाई सारस देखाएर उनीहरूको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्नेछ”, उनी भन्छन् ।
बुद्ध र सारस
बौद्ध धर्मग्रन्थमा गौतम बुद्ध र सारसको प्रसंग पाइन्छ । राजकुमार सिद्धार्थ गौतम (बुद्ध) र उनका मामाका छोरा देवदत्तबीच सारसको विषयलाई लिएर उत्पन्न विवाद राजा शुद्धोदनले समाधान गर्नु परेको विषय बौद्ध ग्रन्थमा उल्लेख भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् ।
धर्मग्रन्थका अनुसार शिकार खेल्न निस्केका देवदत्तले हानेको वाणबाट घाइते सारस सिद्धार्थ गौतम छेउ बजारिएको थियो । सिद्धार्थले छटपटाइरहेको सारसको शरीरबाट वाण झ्किेर उपचार गरे । त्यही बेला आफूले घाइते बनाएको सारस खोज्दै देवदत्त आइपुगे र, उक्त सारस आफूलाई दिन भने । सिद्धार्थले घाइते सारसलाई आफूले बचाएकाले त्यसमाथि आफ्नो अधिकार रहेको भन्दै दिन मानेनन् भने देवदत्तले आफूले वाण हानेर खसालेको सारसमाथि दाबी प्रस्तुत गरिरहे । विवाद बढ्दै जाँदा उनीहरूलाई राजा शुद्धोधनसमक्ष पुर्याइयो । शुद्धोधनले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गरी विवाद टुङ्ग्याए ।
वाल्मीकिकृत रामायणको आरम्भ पनि प्रणयरत सारस जोडीको वर्णनबाट शुरू भएको छ । नदी तटमा प्रणयरत सारस जोडीमध्ये भालेलाई शिकारीले मारेपछि वियोगमा छटपटाएको पोथी सारसले पनि आफ्नो प्राण त्याग गरेको र यो घटना देखेका ऋषिले शिकारीलाई श्राप दिएको घटनाको रामायणमा वर्णन छ ।
दीपक ज्ञवाली, लुम्बिनी