नेपालमा फिसिङ क्याट सर्वप्रथम सन् १८३६ मा अनुसन्धानकर्ता ब्रायन हड्सनले फेला पारेका थिए । त्यसले करीब तीन फिट लामो सर्प खाएको थियो । खप्परको लम्बाइ पाँच इन्च र चौडाइ तीन इन्च भएको फिसिङ क्याटको उक्त नमूना लण्डनको न्याचुरल हिस्ट्री म्युजियममा सुरक्षित छ ।
फिसिङ क्याट घरपालुवा बिरालो भन्दा दोब्बर ठूलो हुन्छ । झट्ट हेर्दा बाघ जस्तै देखिने यो अत्यन्त आक्रामक हुन्छ । खुट्टाका पञ्जा पानीमा तैरिन सघाउने किसिमका हुन्छन् ।
गएको दशैं–तिहारको बीचमा दाहालसँगै काठमाडौंबाट तुम्लिङटारहुँदै अरुण–वरुण उपत्यकामा करीब १० दिन घुमघाम गरियो । यात्राका क्रममा बिरालो समूहका जनावरबारे दैनिकजसो कुराकानी हुन्थ्यो । भाइटीकाको दिन तेह्रथुमबाट विराटनगर झरेपछि म काठमाडौं फर्किएँ । उनी भने फिसिङ क्याटको सम्भाव्य अध्ययनस्थल निक्र्योल गर्न झापाको जलथल जंगलतर्फ लागे । केही दिनको अवलोकन र स्थानीय व्यक्तिहरूसँगको छलफलपछि त्यहाँ फिसिङ क्याट नरहेको संकेत उनले पाएछन् ।
रातको शिकारी
फिसिङ क्याटको टाउकोबाट पुच्छरतर्फ खैरो पृष्ठभूमिमा काला धब्बाहरू ६ देखि ८ वटासम्म समानान्तर रुपमा हुन्छन् । भालेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ । संसर्गको ६३ देखि ७० दिनमा बच्चा जन्मिन्छ । एकदेखि चार वटासम्म बच्चा जन्माएको पाइए पनि अक्सर दुई वटा जन्माउँछ । बच्चाले जन्मेको १६ दिनमा आँखा देख्छ ।
चिडियाखानाहरूमा राखिएका भाले फिसिङ क्याटले बच्चा हुर्काउन पोथीलाई सहयोग गरेको देखिएको छ । तर, प्राकृतिक बासस्थानमा भालेले त्यस्तो सहयोग गर्छ या गर्दैन भन्ने जानकारी छैन । बच्चा १० महीनाको भएपछि माउबाट छुट्टिन्छ । बच्चा हुर्किएसँगै भाले र पोथी पनि छुट्टिएर बस्छन् । पोथीले ४ देखि ६ वर्ग किलोमिटर आफ्नो विचरण क्षेत्र बनाउँछे भने भालेले १६ देखि २२ वर्ग किलोमिटर ।
फिसिङ क्याट रातमा शिकार गर्न निस्कन्छ । गाउँघर नजिकका नदी, नाला, पोखरी र विशेषतः झाडी भएको ठाउँ यसको वासस्थान हो । पानीमा पौडिन सक्ने भएकाले यसले माछाको शिकार सजिलै गर्छ । मुख्य आहार माछा भए पनि यसले भ्यागुता, गँगटा, शंखेकीरा, सर्प, चरा, कुकुर तथा गाईवस्तुको मासु पनि खाने विभिन्न अनुसन्धानले देखाएका छन् ।
अध्ययनको इतिहास
फिसिङ क्याटबारे सबैभन्दा पहिले जे.एम. हेथले सन् १८३३ को जूलोजिकल सोसाइटी अफ लण्डनको एक बैठकमा मौखिक रुपमा कुरा उठाएका थिए । सोही वर्ष यसबारे लिखित दस्तावेज छापियो । नेपालमा भने फिसिङ क्याट फेला पार्ने पहिलो अन्वेषक ब्रायन हड्सन हुन्, जुन समयमा यसको वैज्ञानिक नाम ‘फेलिस हिमालयन्स्’ लेखिएको थियो ।
यसबारे धेरै अन्वेषकहरूले अध्ययन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९० ताका फिसिङ क्याटमा रेडियो टेलेमेट्री अध्ययन गरिएको थियो । उक्त अध्ययनले यसको विचरण क्षेत्रको दायरा पत्ता लागेको थियो । पछिल्लो समय फिसिङ क्याट चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षलगायतका क्षेत्रमा पाइएका छन् ।
सन् २०१० मा प्रकाशित दामोदर थापा क्षेत्री र जे. पाल लिखित ‘डाइभर्सिटी अफ म्यामल्स इन एन्ड एराउन्ड अफ कोशी टप्पु वाइल्डलाइफ रिजन’ शीर्षक लेखमा कोशी टप्पुको सिमसारमा फिसिङ क्याट आक्कलझुक्कल भेटिने उल्लेख छ । अर्को अनुसन्धानात्मक लेखमा जनाए अनुसार फिसिङ क्याट अनुसन्धान परियोजना सन् २०११ मा पहिलो पटक कोशी टप्पु वन्यजन्तु आरक्षमा केन्द्रित भएर गरिएको थियो । उक्त परियोजनामा ‘क्यामेरा ट्र्याप’ प्रयोग गरिएको थियो । सन् २०१२ मा रमा मिश्र र अरुहरूले चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती र नारायणी नदी आसपासका करीब १६० वर्ग किलोमिटरमा अनुसन्धान गरेका थिए ।
एस.आर. ज्ञवाली र अरुहरू लिखित पुस्तक ‘द स्टेट्स अफ नेपाल्स् म्यामल्स्ः द नेशनल रेडलिस्ट सेरिज’ (सन् २०११) अनुसार, नेपालमा १५० देखि २०० वटा फिसिङ क्याट हुनसक्छन् । सन् २०१० ताका अनुसन्धानकर्ता सागर दाहालले चितवनमा फिसिङ क्याट पासोमा पारेपछि उनले आफ्नो अनुसन्धान यसमै केन्द्रित गर्न थाले । तराईमा प्रशस्त सिमसार क्षेत्र भए पनि केहीमा मात्र फिसिङ क्याट पाइने उनको भनाइ छ । दाहाल सन् २०१६ देखि सञ्चालन भएको ‘कन्जरभेसन इनिसिएटिभ अफ फिसिङ क्याट इन द ह्युमन डोमिनेटेड ल्यान्डस्केप अफ सेन्ट्रल तराई’ नामक अनुसन्धानात्मक परियोजनाका मुख्य अनुसन्धानकर्ता हुन् । उनका अनुसार, नेपालमा फिसिङ क्याटको संख्या ज्ञवाली र अरुहरूले उल्लेख गरेकै हाराहारीमा हुनुपर्छ ।
संरक्षणमा बेवास्ता
अध्येताहरूले बताएको संख्याका आधारमा नेपालमा पाइने स्तनधारी जन्तुहरूमध्ये फिसिङ क्याट अत्यन्तै दुर्लभ हो भन्ने स्पष्ट छ । बढ्दो सिमसार विनाश, मानव बस्ती तथा सडक विस्तार आदिका कारण यसको अस्तित्व संरक्षित क्षेत्र र त्यस आसपासका क्षेत्रमा खुम्चिएको छ । तर, यथार्थ कस्तो छ भने, हामीकहाँ फिसिङ क्याटलाई संरक्षित सूचीमा राख्ने आवश्यकता समेत महसूस गरिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले फिसिङ क्याटभन्दा पनि लेपर्ड क्याट (चरी बाघ) लाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । जसको संख्या फिसिङ क्याटको जस्तो न्यून छैन, पहाडी तथा हिमाली भेगमा प्रशस्त भेटिन्छ ।
अनुसन्धानले देखाए अनुसार, नेपालमा बाघभन्दा फिसिङ क्याटको संख्या कम छ । तर, बाघ अनुसन्धान र संरक्षणमा प्राथमिकता दिइरहँदा फिसिङ क्याटलाई बेवास्ता गरिएको छ । छिमेकी देश भारतमा भने बाघ संरक्षणको हैसियतमै फिसिङ क्याटलाई राखिएको छ । नेपालको वन्यजन्तु संरक्षण ऐन लगभग भारतको ऐन जारी भएकै बेला आएको हो । त्यहाँ बाघ र फिसिङ क्याटको संख्या वृद्धि गर्न उत्तिकै ध्यान दिइएको छ । तर, नेपालमा संरक्षणको प्रयास त परको कुरा, ठूला वन्यजन्तुमा केन्द्रित हुने सरकारी कार्यक्रमका कारण यस जनावरप्रति आम नेपाली बेखबर छन् ।
स्थानीय बासिन्दाको नजरमा फिसिङ क्याट र वन बिरालो उही दर्जामा पर्छन् । अझ माछा मारेर गुजारा चलाउने तराईका मलाहा समुदायले फिसिङ क्याटलाई दुश्मन ठान्छन् । यसैले उनीहरूमा फिसिङ क्याटबारे चेतना जगाउने अभियान आवश्यक छ ।