२३-२९ मंसिर २०७५ | 9-15 December 2018

आकर्षक र सुविधाजनक पार्केटिङ

Share:
  

homeriview.blogspot.com
घरलाई आकर्षक बनाउन फ्लोरिङको महत्वपूर्ण भूमिका हुन्छ । बजारमा फ्लोरिङका धेरै विकल्प छन् । तीमध्ये पार्केटिङ अचेल निकै रुचाइन थालेको छ ।

कुनै समय भुईंमा रेड अक्साइड लगाउने चलन थियो । त्यसपछि मोजाइक फ्लोरिङको जमाना आयो । अचेल मार्बल र ग्रेनाइट समेत उति चलनमा छैन । सेरामिक टायल पनि आउटडेटेड भइसकेको छ । पैतालालाई सहज लाग्ने, आकर्षक देखिने फ्लोरिङका लागि बजारमा रुचि र बजेट अनुसारका काठको पार्केटिङ, ल्यामिनेट फ्लोरिङ, पीभीसी पार्केटिङ उपलब्ध छन् ।

आकर्षक देखिने, तापक्रम स्थिर रहने र सजिलै मर्मतसम्भार गर्न सकिने भएकोले पार्केटिङ धेरैको रोजाइमा पर्ने गरेको छ । बालाजुमा रहेको यती पार्केट एण्ड फर्निचरका प्रबन्ध निर्देशक विनोद धिताल राम्रो कार्पेट बराबरकै मूल्यमा पार्केटिङ उपलब्ध हुन थालेपछि यसको माग बढेको बताउँछन् ।

पार्केटिङ गरिएको भुईंमा, सिमेन्टको सादा भुईंमा ओछ्याइने कार्पेट नचाहिने हुँदा पार्केट धेरैको रोजाइमा पर्न थालेको बानेश्वरस्थित द घरानिया फर्निचर का दिलीपकुमार चौधरी बताउँछन् ।

सिमेन्ट, मार्बल वा सेरामिक टायल लगाइएको भुईं चिसो हुने र यसले बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा असर पुर्‍याउनुका साथै पैतालामा असहज महसूस हुने भएकाले पनि पार्केटिङप्रतिको रुचि बढेको हो । कार्पेटको झुस र धूलोका कारण एलर्जी हुनेहरूका लागि पनि पार्केटिङ नै उत्तम विकल्प हो ।

कोठा न्यानो राख्न र भित्तामा अडेस लाग्दा पनि सहज हुने भएकाले कोठाको भुईं मात्र होइन; चोटा, भर्‍याङ र भित्तामा समेत दुई फिट उँचाइसम्म पार्केटिङ गर्ने चलन छ ।

बजारमा ज्याला समेत जोडेर प्रति स्क्वायर फिट रु.१८०० सम्म मूल्य पर्ने पार्केट, लेमिनेट फ्लोरिङ, हार्डवुड फ्लोरिङ र पीभीसी पार्केट उपलब्ध छन् । सिसौ, साज, टिक, सल्लोलगायत काठको पार्केट बलियो र आकर्षक हुन्छ । सालको काठ समेत फ्लोरिङमा प्रयोग गर्न मिल्ने भए पनि यो निकै महँगो भएकाले प्रचलनमा छैन । पार्केटिङमा सामान्यतया ८ देखि १८ एमएमसम्म मोटाइ भएका काठ प्रयोग हुन्छ । मोटाइ अनुसार मूल्य फरक पर्ने व्यवसायीहरू बताउँछन् । काठको गुणस्तर अनुसार ८ एमएम मोटाइ भएको पार्केटिङ प्रति स्क्वायर फिट रु.३०० देखि रु.४०० सम्म र १८ एमएम मोटाइको प्रति स्क्वायर फिट रु.१६०० देखि रु.१८०० सम्म पर्छ । तर, पातलो पार्केटभन्दा मोटो पार्केट टिकाउ र सुविधाजनक हुन्छ ।

कम मूल्यमै घर, कोठा सजाउन चाहनेहरूका लागि सस्तो दरमा लेमिनेट पार्केट पनि बजारमा उपलब्ध छ । हेर्दा काठजस्तै लाग्ने लेमिनेट पार्केट कम्प्रेस्ड फाइबरबाट बनेको हुन्छ । सहजै नकोरिने, ओस नआउने र दाग पनि चाँडै नबस्ने हुँदा लेमिनेट पार्केट बढी बिक्री हुन्छ । यो हार्डवुडभन्दा निकै सस्तो पनि छ । विभिन्न देशबाट आयात गरिने लेमिनेट पार्केटिङ प्रति स्क्वायर फिट रु.१०० देखि रु.३०० पर्ने भए पनि यो टिकाउ नहुने व्यवसायी धिताल बताउँछन् । यद्यपि यो लगाउन निकै सजिलो छ । तर काठमा जस्तो लेमिनेट पार्केटिङमा ‘रिच लूक’ आउँदैन ।

विभिन्न रङमा उपलब्ध पीभीसी टायल पनि अचेल प्रचलनमा छन् । काठ र लेमिनेट पार्केटलाई पानीबाट जोगाउनुपर्ने हुँदा भान्सा, चोटाजस्ता ठाउँहरूमा पीभीसी टायल लगाउनु उपयुक्त हुन्छ । पीभीसी टायल पानीले बिग्रिंदैन । विभिन्न साइजमा पाइने यी टायलहरू प्रति स्क्वायर फिट रु.१५० देखि रु.३०० सम्ममा बजारमा पाइन्छन् ।

प्रस्तुतिः शरद ओझा

comments powered by Disqus

रमझम