भान्सा परिवार ले नेपालबाट प्रशिक्षक बोलाएरै प्रशिक्षण दिने काम पनि गरिरहेको छ । अधिकांशको रुचिमा सारङ्गी परेकाले काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक एवम् सारङ्गीवादक भरत नेपाली भान्सा परिवार को निम्तोमा तीन पटक जापान पुगेर प्रशिक्षण दिइसकेका छन् । भन्छन्, “नेपाली संगीतलाई उनीहरूले धेरै माया गरेका छन्, नेपालमा अलिक हेपिएको सारङ्गीले त्यहाँ राम्रै महत्व पाएको छ ।”
सारङ्गीमा बढेको मोह
हिरोमी कातासुई नेपाल आएको तीन वर्ष भयो । हाल एक गैरसरकारी संस्थामा कार्यरत उनी अझै दुई वर्ष नेपालमै रहनेछिन् । कातासुईको ठूलो रहर छ– यो अवधिमा राम्रो सारङ्गीवादक बन्ने । हरेक शनिबार दुई घण्टा सह–प्राध्यापक नेपालीसँग प्रशिक्षण लिइरहेकी उनी दैनिक बिहान–बेलुका पनि सारङ्गी रेटिरहेकी हुन्छिन् । उनी भन्छिन्, “सारङ्गीको धुन मनमै बसेको छ, त्यसैले फुर्सदको समय यसमै बिताउँछु ।”
सह–प्राध्यापक नेपालीका अनुसार अहिलेसम्म करीब ५०० जापानी नागरिकले उनीबाट सारङ्गीवादनको प्रशिक्षण लिइसकेका छन् । उनी भन्छन्, “विभिन्न कामको सिलसिलामा नेपाल आएका जापानीहरूको रुचि सारङ्गीमा बढी देखिन्छ ।”
नेपाल आएपछि मात्र देखेको सारङ्गीप्रति जापानीले यस्तो मोह देखाउनुको कारण के होला त ?
जवाफमा नेपाली भन्छन्, “जापानमा भायोलिन लोकप्रिय छ, स्कूलदेखि नै भायोलिन सिकेका अधिकांश जापानीहरू उस्तै देखिने सारङ्गीप्रति आकर्षित हुन्छन् ।” देख्दा उस्तैउस्तै र रेटेरै बजाउने भए पनि भायोलिन र सारङ्गीले निकाल्ने आवाज भने फरक हुन्छ । नेपाली अगाडि भन्छन्, “नेपालको मौलिक बाजा भएको र अन्यत्र नदेखेकाले पनि उनीहरूमा सारङ्गीप्रति मोह भएको हुनुपर्छ ।” सारङ्गी प्रशिक्षार्थी कातासुई विद्यालय पढ्दा ताकाको भायोलिनसँगको सम्बन्ध १० वर्षपछि सारङ्गीले जोडिदिएको बताउँछिन् ।
त्यसो त सारङ्गी मात्र होइन मादल र बाँसुरी सिक्ने जापानीहरू पनि छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मा कार्यरत कोहोई ताकाहासीले दुईवर्षे नेपाल बसाइका क्रममा मादल बजाउन सिकेका छन् । मादल बजाउन सिकेकोमा खुशी देखिने उनी भन्छन्, “मादल पहिलो पटक नेपालमै देखें, शुरूमा गाह्रो लागे पनि अहिले लोकगीतमा ताल दिनसक्ने भइसकेको छु ।” उनी पनि जापान फर्केपछि भान्सा परिवार मा आबद्ध हुने बताउँछन् । भन्छन्, “नेपाली बाजा मौलिक छन्, त्यसैले राम्रो लाग्छ ।”